नेतृ सिलवाललाई ‘अग्रज महिला’ सम्मान

196
Shares

हेटौंडा ।

लामो समयदेखि मकवानपुरको राजनीतिक क्षेत्रमा लागेकी तीर्थदेवी सिलवाल सम्मानित भएकी छन् ।
१ सय १४ औं अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसको अवसरमा नेकपा (एकीकृत समाजवादी) निकट अखिल नेपाल महिला संघ जिल्ला तथा नगर कमिटीले आयोजना गरेको अगुवा महिला भेला तथा सम्मान कार्यक्रममा नेतृ सिलवाललाई सम्मानित गरिएको हो ।

सामाजिक तथा राजनीतिक क्षेत्रमा क्रियाशील नेतृ सिलवाललाई नेकपा (एकीकृत समाजवादी) केन्द्रीय सदस्य एवम् हेटौंडा उपमहानगर प्रमुख मीनाकुमारी लामाले दोसल्ला ओढाएर सम्मान गरेकी हुन् ।

सम्मानित सिलवालले महिला आन्दोलनको दिवस पारेर राजनीतिक तथा सामाजिक क्षेत्रमा गरेको योगदान सम्झँदै सम्मान गरेकोमा खुशी व्यक्त गरिन । उनले महिला दिवसको सन्दर्भ पारेर गरिएको सम्मानप्रति धन्यबाद दिँदै परिवर्तनको आन्दोलनमा होमिएर आएको उपलब्धि जोगाउनु जरुरी रहेको बताइन् ।
उनले परिवर्तनलाई जोगाउँदै महिलाअधिकार संरक्षण गर्न सबै एक भएर लाग्नु जरुरी रहेको बताइन् । नेकपा (माले) केन्द्रीय सचिव सिलवाल पछिल्लो समय शारीरिक अस्वस्थ्यताका कारण उपचारका क्रममा छन् ।

कार्यक्रममा पार्टी केन्द्रीय सदस्य लामाले महिलाहरु आफैं आयआर्जनमा जोडिनु जरुरी रहेको बताए । अरुको भरमा पर्दा हाल पनि अघि बढ्न नसकिने बताउँदै आफंै अघि बढ्न आर्थिकरुपमा बलियो हुनुपर्ने उनको भनाइ थियो । अबको पाटो आर्थिक समृद्धि भएकाले महिलामा लगानी र आर्थिकरुपमा बलियो हुनु जरुरी रहेको उनले बताए । विभिन्न चरणका अन्दोलन र अभियानले ल्याएको महिलाअधिकार आर्थिकरुपमा बलियो नभएका कारण खुम्चिएको भन्दै उनले सामाजिक भूमिकाबाट अघि बढ्न आफैं अब्बल हुन सुझाइन् ।

अनेम संघ मकवानपुर अध्यक्ष गायत्री सुबेदीको सभाध्यक्षतामा भएको कार्यक्रममा अनेम संघ केन्द्रीय सदस्य सीता अधिकारी, पार्टी राष्ट्रिय परिषद् सदस्य अस्मिता श्रेष्ठ, नेकपा (एकीकृत समाजवादी) जिल्ला अध्यक्ष विष्णु दाहाल, अनेम संघ प्रदेश कमिटी सदस्य कल्पना बिक, अनेम संघ जिल्ला कमिटी उपाध्यक्ष गीता कडारिया मैनालीलगायतले मन्तव्य व्यक्त गरेका थिए ।