कृष्णा थामीको मेहनतले फेरिएको आलम्पु गाउँ

98
Shares

दोलखा। 

सुरक्षित सुत्केरी सेवा मार्फत बाल मृत्युदरमा कमी ल्याउन र गाउँमा सामाजिक परिर्वतन गर्न मातृशिशु कार्यकर्ताको भूमिका कति महत्त्वपूर्ण हुन्छ भन्ने कुराको उदाहरण बनेकी छन् दोलखाको दुर्गम उत्तरी गाउँ आलम्पुकी कृष्ण थामी ।

स्थायी घर दोलखाको विगु गाउँपालिका वडा नम्बर– ६ आलम्पु नै भएपनि उनी सानैदेखी सदरमुकाम चरिकोट बसेर पढे– बढेकी हुन् । सानो उमेरमा जिल्लाको दुर्गममा पर्ने आफ्नो गाउँ आलम्पुको कुप्रथा र व्यथिति देखेकी कृष्णाले पढाई संगसंगै गाउँको परिर्वतनको सङ्कल्प समेत गरेकी थिइन । त्यही सङ्कल्प पुरा गर्न २२ वर्षको उमेरमा २०५९ सालमा मातृशिशु कार्यकर्ताको रुपमा गाउँको स्वास्थ्य चौकीमा प्रवेश गरिन उनी ।

बिरामी हँदा  र सुत्केरी हुन स्वास्थ्य चौकी नटेक्ने आलम्पुका थामी समुदायका मानिसका घरमा शौचालय समेत थिएन । उपचारमा धामी– झाँक्रीको भर पर्ने आलम्पुमा कृष्णको सक्रियताको २० वर्षको अवधिमा अहिले हरेक घरका आमा बालबच्चालाई खोप लगाउन स्वास्थ्य चौकीमा लाईन लाग्न थालेका छन् । सुत्केरी हुन अस्पताल पुग्ने गर्छन । स्वास्थ्यमा सानो समस्या हुनासाथ स्वास्थ्यकर्मीहरुको सल्लाह र उपचार लिन स्वास्थ्य चौकी दौडन्छन् । आलम्पुको हरेक घरमा अहिले शौचालय बनेका छन् । त्यतिमात्र हैन अहिले आलम्पु पूर्ण खोप र बाल तथा मातृ मृत्युदर अन्त्य भएको गाउँ घोषित भएको छ ।

९५ प्रतिशत अल्पसंख्यक थामी समुदायको बसोबास रहेको १६ सय १५ जनसंख्या भएको आलम्पु गाउँमा देखिएको यो परिर्वतनको लागि मातृशिशु कार्यकर्ता कृष्ण थामीलाई त्यति सहज भने भएन । जागीरे बनेर पुगेकी कृष्णालाई सुत्केरी महिलालाई स्वास्थ्य चौकी ल्याउन घर– घर पुग्दा आफ्नै गाँउकाले समेत पराई मान्छे भन्थे । सौचालयमा परिणत भएको स्वास्थ्य चौकी सफा गर्न बनबारेको घोल बनाएर हाल्नु परेको थियो । घर– घरमा चेतनामूलक अभियान लिएर पुग्दा आफन्तहरुले समेत गाली गरेका थिए ।

१०-१२ वर्षको उमेरमै मागी विवाह गर्ने र एकै जनाको १० वटासम्म सन्तान हुने समस्या न्युनिकरणको लागि आफूले निक्कै मेहेनत गरेर चेतनामूलक अभियान सञ्चालन गर्नु परेको मातृशिशु कार्यकर्ता कृष्ण थामीले बताइन । चेतनामूलक अभियानको लागि २०६३ साल यता आलम्पु गाउँमा धेरै समय महिनै पिच्छे चेतनामूलक नाटक समेत देखाउने गरेको उनले बताइन ।

आफै गर्भवती हुँदा समेत जोखिम मोलेर वर्षा याममा समेत फड्के पुलबाट खोला तरेरै गाउँको घर– घरमा पुगेको, दुई दिन लगाएर सदरमुकाम चरिकोटबाट आवश्यक औषधि ओसारेको, धामी– झाँक्रीकै प्रयोग गरेर बिरामीलाई स्वास्थ्य संस्थासम्म आउने वातावरण बनाएको जस्ता जोखिमका कामले अहिले परिणाम दिएको कृष्णले बताइन ।

अहिले गाउँमा सडक, बिजुली लगायतका अत्यावश्यक सुविधासँगै चेतनाको समेत विकास भएको छ– मातृशिशु कार्यकर्ता कृष्णाले भनिन् । आफूले काम गरेको २० वर्षको अवधिमा अहिले हरेक सुत्केरी महिला नियमित जाँचसंगै सुत्केरी गराउन स्वास्थ्य चौकी पुग्ने भएका छन्, बालबालिकाहरुले कुनै पनि खोप छुटाएका छैनन्, हरेक घरमा शौचालय बनेका छन्, सबै घरमा सुद्ध खानेपानी पुगेको छ– कृष्णाले खुशी हुँदै भनिन् ।

तत्कालीन आलम्पु गाउँपालिकाका अध्यक्ष पद्म बहादुर थामीले स्वास्थयको दृष्टिकोर्णले भयावह विगतको आलम्पुमा चमत्कारी सुधार ल्याउन मातृशिशु कार्यकर्ता कृष्ण थामीको भूमिका महत्त्वपूर्ण रहेको बताए ।

अल्पसंख्यक थामी समुदायको बसोबास रहेको आलम्पु गाउँ र मातृशिशु कार्यकर्ता कृष्णा थामी