टुँडीखेलमा विविध कार्यक्रम गरी २६१ औँ सेना दिवस मनाइयो (तस्बिरसहित )

2k
Shares

काठमाडौं ।

नेपाली सेनाले टुँडिखेलस्थित सैनिक मञ्चमा आज विविध कार्यक्रम गरी २६१ औं सेना दिवस मनाएको छ। कार्यक्रममा राष्ट्रपति रामचन्द्र पौडेल सरिक भएका थिए । सो अवसरमा उनले त्यहाँस्थित सैनिक स्मारकमा पुष्पहार अर्पण गरी श्रद्धाञ्जली व्यक्त गर्नुका साथै नेपाली सेनाद्वारा अर्पण गरिएको सलामी ग्रहण गरे ।

 

समारोहमा राष्ट्रपति पौडेलले नेपाली सेना, सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयद्वारा प्रकाशित ‘सिपाही–२०८०’ वार्षिक पत्रिका विमोचन गरे । उनले ‘फ्री फल जम्प’ मा प्रथम भएका अमलदार टङ्कबहादुर डाँगी र दोस्रो भएका सेनानी जगनाथ दनैलाई पुरस्कार प्रदान गरे । राष्ट्रपति पौडेलले सेना दिवस समारोहमा ब्याण्ड प्रस्तुत गर्ने भारतीय, बेलायती र अमेरिकी सेनाका टोली प्रमुखलाई सम्झनास्वरुप उपहार प्रदान गरे।

यसअघि सेनाको हेलिकप्टरमार्फत पुष्पवृष्टि गर्नाका साथै राष्ट्रिय झण्डा र ‘सेना दिवस–२०८०’ लेखिएको ब्यानर प्रदर्शन गरियो । त्यस अवसरमा सेनाले राइफल र तोपबाट महाशिवरात्रि बढाइँ तथा कवाज प्रस्तुत गरेको थियो । समारोहमा सेनाद्वारा विभिन्न रणकौशल तथा परम्परागत वेशभूषा झल्कने विविध कला, नृत्य र सङ्गीतको धुन प्रदर्शन गरियो । कार्यक्रममा मार्चपास समेत प्रस्तुत गरिएको थियो ।

 

सो अवसरमा नेपाली सेनाले शान्ति मिसनमा प्रयोग गर्दै आएका विभिन्न खालका सवारीसाधन, उपकरण र हातहतियारको प्रदर्शन गरिएको थियो । सेनाको टोलीबाट नेपालको झण्डा, देशको नक्सा, डमरु आकृतिलगायतको प्रस्तुति भएको थियो ।

सो अवसरमा नेपालको प्रसिद्ध थाल नृत्य समेत प्रदर्शन गरिएको थियो।समारोहमा उपराष्ट्रपति रामसहायप्रसाद यादव, प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठ उपस्थित थिए ।

 

उपप्रधानमन्त्री, मन्त्रीगण, सांसद, संवैधानिक निकायका प्रमख एवं पदाधिकारी, नेपाल सरकारका उच्चपदस्थ अधिकारी, सुरक्षा निकायका प्रमुख, नेपालस्थित कूटनीतिक नियोगका प्रमुख एवं प्रतिनिधि तथा समाजका लब्ध प्रतिष्ठित महानुभाव पनि शिवरात्रिको बढाइँ हेर्न टुँडिखेल पुगेका थिए ।

 

शिवरात्रिको बढाइँ हेर्न टुँडिखेल वरपर सर्वसाधारणको घुइँचो लागेको थियो । नेपाली सेनाले महाशिवरात्रिको दिनलाई सेना दिवसका रूपमा मनाउँदै आएको छ । शास्त्रीय मान्यताअनुसार शिवलाई शान्ति र सुरक्षाको प्रतीकका रूपमा लिने गरिन्छ ।