भरतपुर महानगर प्रमुख दाहाललाई ‘इन्टरनेसनल मेयर अवार्ड’

280
Shares

चितवन ।

भरतपुर महानगरपालिकाका प्रमुख रेनु दाहाल ‘इन्टरनेसनल मेयर अवार्ड ’ ’द्वारा सम्मानित भएकी छन्। बेलायतको संसद् भवन ‘हाउस अफ कमन्स’मा गएराति उनलाई लण्डनका मेयर सादिक खानले उक्त अवार्ड अर्पण गरेका हुन्।

पोलिटिकल एण्ड पब्लिक लाइफ अवार्डअन्तर्गत सन् २०२४ को मेयर अवार्ड प्रमुख दाहाललाई प्रदान गरिएको हो। मरिससका पहिलो महिला राष्ट्रपति अमिना गुरिब फकिमलगायतका उच्च व्यक्तित्व सहभागी भएको विशेष समारोहका बीच अवार्ड वितरण गरिएको जनाइएको छ।

सो अवसरमा मेयर खानलाई लोकल गर्भमेन्ट अवार्ड, राष्ट्रपति फकिमलाई इन्टरनेसनल वेमन अफ द इयर अवार्ड प्रदान गरिएको थियो। पोलिटिकल एण्ड पब्लिक लाइफ अवार्डअन्तर्गत सन् २०२४ मा उक्त अवार्ड बेलायतलगायत विभिन्न देशका फरकफरक क्षेत्रमा ख्यातिप्राप्त २४ जनालाई प्रदान गरिएको हो।

उक्त अवार्ड बेलायतका उपप्रधानमन्त्री ‌ओलिभर डाउडेन, प्रमुख विपक्षी दल लेबर पार्टीकी उपनेता एन्जेला रेनर, सीप तथा शिक्षासम्बन्धी राज्यमन्त्री रोर्बट हालफन, लेवर पार्टीका अन्तर्राष्ट्रिय व्यापार छायामन्त्री ग्यारेथ थोमस, भारतका पूर्वमन्त्री सुरेश प्रभु, मौरिससकी पूर्वराष्टपति अमिना गुरिब फकिम, बेलायत वेल्स राज्यकी सांसद नतासा अस्गरलाई दिइएको मेयर रेनुले जानकारी दिएकी छन्।

अवार्ड प्राप्त गरेपछि प्रमुख दाहालले उच्च राजनीतिक नेतृत्वबीच सम्मानित हुन पाउँदा आफू गौरवान्वित भएको बताइन्। नेपालमा स्थानीय तहमा भौतिक निर्माणसहित अन्य सूचकमा भरतपुर महानगरपालिका अग्रणी रहेको छ।

प्रमुख दाहालले यसअघि बेलायती उपसभामुख एवं सांसदसँग भेटवार्ता गरेकी थिइन्। प्रमुख दाहालले बेलायती संसद् हाउस अफ कमन्सका उपसभामुख नाइजेल इभान्स् तथा सत्तारुढ कन्जरभेटिभ सांसद एवं पूर्वमन्त्री डिन रसेल र प्रमुख प्रतिपक्षी दल लेबरका सांसद वीरेन्द्र शर्मासँग संसद्मा भेटघाट गरेकी थिइन्।

प्रमुख दाहालले बेलायतका उच्च अधिकारीहरुलाई भरतपुर भ्रमण वर्ष २०२४ को निम्तो दिनुभएको जनाइएको छ ।