सन्दर्भ : नेपाली सेना दिवस

नेपालको विकासमा नेपाली सेनाको योगदान



काठमाडौं ।

नेपाली सेनाले आफ्नो स्थापनाकालदेखि नै नेपालको विकासमा योगदान पु¥याउँदै आएको देखिन्छ। छरिएर रहेको नेपाललाई एकीकरण गर्ने समयमा फौज तथा बन्दोबस्तीका सामान ओसारपोसार गर्नका लागि गोरेटो, घोडेटो बाटो निर्माण गर्ने काममा नेपाली सेना सक्रिय हुँदै आएको इतिहासमा उल्लेख भएको पाइन्छ।

नेपाली सेनाले नेपालभित्र पूर्वाधार विकासमा महत्वपूर्ण भूमिका खेलेको छ। यातायात, विपद् प्रतिकार्य, सीमा सुरक्षा र सामुदायिक विकासजस्ता विभिन्न क्षेत्रमा सेनाले योगदान पुर्‍याउँदै आइरहेको छ।

नेपाली सेनाको विशिष्ट योगदानको तथ्यांक समय, सीमा र स्रोतका आधारमा फरक पर्न सक्ने भए तापनि पूर्वाधार परियोजनाहरूमा यसको संलग्नता देशैभरि रहेको पाइन्छ। पूर्वाधार विकासमा नेपाली सेनाको योगदान, राष्ट्र निर्माणमा यसको भूमिका, सामना गर्नुपर्ने चुनौतीहरू र भविष्यका सम्भावनाहरू पनि प्रशस्त छन् । नेपाली सेनाले हालसम्म ३० वटा सडक आयोजनाको जिम्मा लिएर १,२७२ किलोमिटर सडक निर्माण गरिसकेको छ।

नेपाली सेनाले हाल महत्वपूर्ण ४ वटा सडक आयोजनाको कामलाई अन्तिम रुप दिने काम गरिरहेको छ । दुर्गम जिल्लाका सदरमुकामलाई राष्ट्रिय सडक सञ्जालसँग जोड्ने काममा नेपाली सेनाको योगदान महत्वपूर्ण रहेको छ । प्रतिकूल परिस्थितिमा समेत नेपाली सेनाले रसुवा, ओखलढुंगा, रुकुम, कालिकोट, जुम्ला, जाजरकोट, मुस्ताङ, मनाङ, मुगु र डोल्पा जिल्लाका सदरमुकामलाई राष्ट्रिय सडक सञ्जालमा जोडेको छ । राष्ट्रिय गौरवको आयोजनाका रुपमा रहेको काठमाडौं–तराई/मधेस द्रुतमार्गको कामलाई तीव्र गतिमा अघि बढाएको छ । यो आयोजनालाई सरकारले नेपालको आर्थिक समृद्धिको लाइफलाइनका रुपमा लिएको छ ।

अराजनीतिक चरित्र बोकेको नेपाली सेनाले राष्ट्र निर्माणमा पु¥याएको योगदानलाई मनन गर्दै नेपाल सरकारले राष्ट्रिय गौरवको आयोजनाको रुपमा रहेको काठमाडौं, तराई/मधेस द्रुत मार्गको निर्माणको जिम्मा लिएको सेनाले जसको निर्माणपछि नेपाल र नेपालीको भाग्यमा समेत परिवर्तन आउने अपेक्षा गरिएको छ । अहिले सेनाले उक्त मार्गको निर्माणलाई तीव्रता दिएसँगै नेपाली जनतामा आशा र भरोसा पलाएको छ।

राष्ट्रिय सुरक्षा मात्र नभएर नेपालको विकासमा समेत सेनाले पु¥याएको योगदानलाई ध्यानमा राखेर सरकारले विभिन्न करिडोर सडकको जिम्मासमेत सेनालाई दिएको छ। आजको सहज परिस्थितिमा मात्र होइन, हिजोको विषम परिस्थितिमा समेत सेनाले राष्ट्र निर्माणको आफ्नो सहभागिता तथा संलग्नतालाई निरन्तरता दिएको थियो।

मुलुक निर्माणमा सेनाको जस्तै संलग्नता अन्य क्षेत्रको पनि हुने हो भने अहिलेको अवस्था सधैँ रहने थिएन । तर अहिलेसम्म त्यस्तो हुन नसक्नु मुलुकका लागि दुर्भाग्य साबित भएको छ। नेपाली सेनाले पूर्वाधार मात्र होइन, आपत्कालीन र प्राकृतिक प्रकोपको समयमा विपत्को सामना गर्दै सर्वसाधारण नागरिकको आवागमनलाई सहज बनाउन गर्नुपर्ने कामलाई अघि बढाएको देखिन्छ ।

नेपाली सेनालाई विकास निर्माण मात्र होइन, मुलुकभरका १२ वटा राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु आरक्ष तथा सिकार आरक्षको सुरक्षाको जिम्मेवारी लिएर आफ्नो विशिष्ट योगदानलाई कायम राख्दै आएको छ । नेपाली सेनाले योगदान गर्ने प्रमुख क्षेत्रहरूमध्ये भौतिक पूर्वाधारमा महत्वपूर्ण योगदान गरेको छ।

नेपाली सेनाले नेपालमा दुर्गम क्षेत्रमा सडक निर्माणका लागि गरेको योदान अमूल्य र अविस्मरणीय नै रहेको छ । नेपाली सेनाले सडक, पुललगायत यातायात पूर्वाधारको निर्माणमा पुर्‍याएको योगदानलाई मुक्तकण्ठले प्रशंसा गर्दा फरक नपर्ला। नेपालको चुनौतीपूर्ण भूभाग, दुर्गम पहाड र अप्ठ्यारो भूभाग भएकाले दुर्गम क्षेत्रहरूलाई शहरी केन्द्रहरूसँग जोड्न बलियो पूर्वाधार आवश्यक रहेको छ। त्यसलाई नेपाली सेनाले आफ्नो दक्ष जनशक्तिको प्रयोग गरेर प्रायः दुर्गम र यातायातको पहुँच नपुगेका क्षेत्रमा सडक निर्माण परियोजनामा नेपाली सेनाको संलग्नता रहेको छ । जहाँ भौगोलिक विकटताका कारण अन्य क्षेत्रका व्यक्ति वा संस्थाले गर्न नसकेको काम नेपाली सेनाले गर्दै आएको छ ।

२६१ वर्षअघि स्थापना भएको नेपाली सेनाले विभिन्न कालखण्डको आरोह–अवरोह पार गर्दै आधुनिक युगमा प्रवेश गरेको नेपाली सेनाले आफूलाई समय अनुकूल परिवर्तन गर्दै नेपाली परिवेशमा मात्र होइन विश्व परिवेशमा समेत नेपाली सेनाको गर्विलो इतिहांसलाई कायम राख्न सफल हुँदै आएको छ। विपद्को अत्यधिक जोखिममा रहेको नेपालमा विपद् व्यवस्थापनमा समेत नेपाली सेनाको भूमिका अग्रणी रहेको छ।

विपद्का समयमा पीडितलाई सुरक्षित स्थानमा स्थानान्तरण गर्ने, उद्धार गर्ने, राहत सामग्री वितरण गर्ने, विपद्बाट भएको क्षतिलाई फैलिन नदिन विभिन्न जनचेतनामूलक कार्यक्रम सञ्चालन गर्ने लगायतका काममा नेपाली सेनाले काम गर्दै आएको छ। इतिहासलाई फर्केर हेर्ने हो भने नेपालमा गएका विनाशकारी भूकम्प वि.सं. १९९०, २०४५ र २०७२ को समयमा होस् वा पटक–पटक तराईमा आएको बाढीको समयमा होस्, मुलुकको अन्य भागमा गएको बाढीपहिरोमा होस्, हरेक विपद्मा नेपाली सेनाले उद्धार एवम् राहत वितरणमा गरेको कामको प्रशंसा र सराहना स्वदेश तथा विदेश सबैतिरबाट हुने गरेको पाइन्छ ।

विगत ६ दशकको इतिहासलाई हेर्ने हो भने नेपाली सेनाले विश्वका द्वन्द्वग्रस्त राष्ट्रहरुमा शान्ति स्थापनाका लागि गरेको योगदान उल्लेखनीय छ । सन् १९५८ मा लेबनानमा शान्ति स्थापनाका लागि नेपाल सानो मिसनमा सहभागी भएपछि संयुक्त राष्ट्रसंघीय शान्ति स्थापनाको कार्यमा नेपाली सेनाले निरन्तर सहभागिता र योगदान पुर्‍याउँदै आएको छ।

हालसम्म विश्वका विभिन्न द्वन्द्वग्रत तथा युद्ध भएका चार दर्जनभन्दा बढी मिसनमा नेपाली सेनाको सहभागिता भइसकेको छ। हाल नेपाली सेना शान्ति सैनिकको रुपमा विश्वमा जनशक्ति उपलब्ध गराउने मुलुकको रुपमा पहिलो देश भएको छ। तर नेपालले विश्व शान्तिका लागि संयुक्त राष्ट्रसंघले अघि बढाएको शान्ति मिसनमा गुणात्मक योगदान दिएको भए पनि नेपालले राष्ट्रसंघीय शान्ति मिसनमा नेतृत्वदायी भूमिकामा भने पछि पर्दै आएकाले सरकारले उच्च सैनिक अधिकारीलाई राष्ट्र संघको मिसनहरुमा नेतृत्वदायी भूमिकामा पुर्‍याउन पहल गर्नुपर्ने देखिन्छ । नेपालको सरकारी नेतृत्वले अहिलेसम्म त्यस्तो पहल गरेको पाइँदैन । त्यसका लागि कूटनीतिक पहल गर्नुपर्ने देखिन्छ । यसमा ढिला नगरी राज्यले पहल गर्नुपर्ने समय आइसकेको छ ।

नेपालको एकीकरणदेखि आधुनिक नेपालको निर्माणसम्मको यात्रामा देश र जनतालाई मन–मस्तिष्कमा राखेर देशको रक्षाका लागि खटेको नेपाली सेनाले सुरक्षा, विकास निर्माण, विपद् व्यवस्थापनलगायत राष्ट्र निर्माणका सबै आयाममा खेलेको भूमिका सबैले प्रशंसा गर्नुपर्ने खालको रहेको छ । राष्ट्र–निर्माणको गहन जिम्मेवारी लिएको नेपाली सेनालाई अझ सबल, सुदृढ, पेसागतरुपमा सक्षम, उत्तरदायी बनाउन राजनीतिक दबाब र प्रभावबाट तथा स्रोत–साधनको अभावबाट मुक्त गराउनु अहिलेको आवश्यकता हो ।

नेपाली सेनाले सैनिक कूटनीतिका माध्यमबाट मुलुकमाथि आइपर्ने सुरक्षा चुनौतीको सामना गर्न आफ्नो कूटनीतिक अभ्यासलाई अघि बढाएको देखिन्छ। विभिन्न देशका सेना प्रमुखलाई नेपाल भ्रमणमा बोलाउने र नेपाली सेनाका प्रमुख विभिन्न देशको भ्रमणमा जाने अनि सैन्य कूटनीतिको माध्यमबाट मुलुकलाई समेत थप मजबुत बनाउन सेनाले प्रभावकारी भूमिका निर्वाह गर्दै आएको छ।

जसका कारण नेपाली सेनालाई विश्वका विभिन्न मुलुकका सेनाले विभिन्न फोरमहरुमा सहभागी गराउँदै आएका छन्। त्यसको फाइदा मुलुक र नेपाली सेनाले लिनुपर्ने हुन्छ । आज शुक्रबार महाशिवरात्रि पर्वसँगै नेपाली सेनाको २६१ स्थापना दिवस मनाउन लागिएको छ । यस अवसरमा नेपाली सेनाका सकल दर्जालाई हार्दिक शुभकामना !

प्रतिक्रिया दिनुहोस्