माल्दिभ्स पठाइदिन्छु भन्दै रकम ठगी गर्ने व्यक्ति पक्राउ



काठमाडौं।

माल्दिभ्स पठाइदिन्छु भन्दै ३ लाख ५० हजार रूपैयाँ ठगी गरेको अभियोगमा म्याग्दी बेनी नगरपालिका-४ घर भई काठमाडौं टोखा नगरपालिका-६ बस्ने ३८ वर्षीय सुनिल शाहीलाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

शाहीले १ जनालाई वैदेशिक रोजगारीका लागि माल्दिभ्स पठाई प्रतिष्ठित कम्पनीमा ड्राइभिङमा मासिक ७० हजार रूपैयाँ तलबमा काम लगाइदिन्छु भन्दै प्रलोभनमा पारी पीडितबाट पटक पटक गरी उक्त रकम ठगी गरेको खुल्न आएको छ । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय मिनभवनबाट खटिएको प्रहरीले उनलाई काठमाडौं सिनामंगलबाट पक्राउ गरेको हो ।

उनलाई थप अनुसन्धान तथा कारवाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल काठमाडौं पठाइएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्