रायसिना संवाद २०२४ र परराष्ट्रनीति : एक विमर्श



काठमाडौं ।

रायसिना संवाद २०२४ नवौँ शृङ्खलाको रूपमा नयॉ दिल्लीमा सम्पन्न भएको छ। फेब्रुअरी २१ देखि २३ सम्म चलेको रायसिना संवाद वैदिक परम्परासँग जोडिएको छ।

संसारका कहलिएका नीति निर्माता, चिन्तक, राजनेता, पत्रकार, पर्यावरणविद्, उद्योगपति, लगानीकर्तालगायत समाजका हरेक तप्पाका मूर्धन्य व्यक्तित्वहरूको सहभागिताले रायसिना संवादलाई महिमामण्डित गर्दै आएको छ। १२५ भन्दा अधिक देशहरू २५०० प्रतिनिधिहरूको अन्तरक्रियाद्वारा संसारमा गहन र मौलिक समस्याहरूप्रति रायसिना संवाद विमर्श गर्ने गरेको छ। संसारका २५ वटा राष्ट्रहरूका परराष्ट्रमन्त्री र भूतपूर्व प्रधानमन्त्रीसमेत रायसिना संवादको हिस्सा बनेको देखिन्छ ।

दिल्लीमा रायसिना संवादको उद्घाटन ग्रिसका प्रधानमन्त्रीबाट भएको थियो । रायसिना संवादको विषयवस्तु चतुरूङ्ग रहेको छ । पार्यावरण, रसिया–युक्रेन युद्ध, विद्युतीकरण, वैकल्पिक ऊर्जा, हिन्दमहासागरीय नीति, भूमण्डलीकरण, खुला अर्थतन्त्र, इजरायल–हमास द्वन्द्वलगायत संसारमा विभिन्न पेचिला मुद्दाहरूमा रायसिनामा बहस भएको देखिन्छ।

रायसिना संवादमा भारतीय परराष्ट्रनीतिको प्रारुपको बारेमा परराष्ट्रमन्त्री डा. जयशंकरले अन्तरक्रिया गरेका छन्। वर्तमान अवस्थामा परराष्ट्रनीति बौद्धिक अभ्यास मात्र नभई प्रत्येक जनजनसँग गाँसिएको विषय भएको समेत उनले रायसिना संवादमा तर्क प्रस्तुत गरेका छन्।

भूमण्डलीकरणको प्रभाव र प्रकोपले गर्दा कोरोनाको कहरको महसुस हरेक घर र दैलोमा पुगेको उदाहरण दिँदै डा. जयशंकरले परराष्ट्रनीतिबाट प्रत्येक व्यक्ति प्रभावित भएको कुरासमेत उल्लेख गरेका छन् । परराष्ट्र नीतिको प्रयोगले नै गर्दा कोरोनाको समयमा ७० लाख भारतीय नागरिकलाई विश्वको कुना–कुनाबाट भारत फर्काउन सफल भएको कुरा उनले उल्लेख गरेका छन् ।

रायसिना संवादमा परराष्ट्रनीति र सर्वसाधारणको जीवनबीचको सम्बन्ध रसिया–युक्रेन युद्धको आलोकमा वर्णन गर्न सकिन्छ । रसिया–युक्रेन युद्ध शुरु हुनेबित्तिकै मध्यएसियाली देशहरूले पेट्रोल, डिजेल र ग्यासको दरमा व्यापक बढोत्तरी गरेका थिए। हरेक पश्चिमा दबाबका बाबजुद पनि आफ्नो कूटनीतिलाई परिचालित गर्दै भारत सस्तो दरमा रसियासँग ऊर्जा खरिद गरेर आफ्नो आर्थिक वृद्धि दरका साथै महँगी नियन्त्रण गर्न सफल भएको परिघटनालाई सफल परराष्ट्र नीतिको प्रयोगको रूपमा लिन सकिन्छ।

अर्थात् हरेक देशले परराष्ट्रनीतिलाई आफ्नो राष्ट्रिय हित अनुरूप परिचालित गर्नुपर्दछ । रायसिना संवादमा डा. जयशंकरले भारतको परराष्ट्रनीतिको नजर विश्वभरि काम गरिरहेका ३३ मिलियन भारतीयहरुको हक, हित र सुरक्षालाई ध्यानमा समेत राख्नु हो भनेका छन् । साथै १ दशमलव ३ मिलियन भारतीय विद्यार्थी विश्वको कुनाकुनामा अध्ययन गर्दा उनीहरूको समस्याप्रति सचेत हुनुसमेत भारतीय परराष्ट्रनीतिको दायित्व हो भन्ने कुरा उनले रायसिना संवादमा उल्लेख गरेका छन् ।

रायसिना संवादमा भारत–चीनका सम्बन्धमा समेत व्यापक विमर्श भएको देखिन्छ । सन् २०१७ देखि हाल भारत–चीन बोर्डर तनावपूर्ण रहेको छ । सन् १९८८ मा भारतका प्रधानमन्त्री राजीव गान्धी र चिनिया राष्ट्रपति देङको बीच भएको सहमतिको आधारमा भारत र चीनबीच सन् १९९३ र १९९६ मा सन्धी भएको थियो । तदनुरूप भारत–चीनबीच वोर्डर समस्यालाई थाती राख्दै व्यापारलगायत अरू क्षेत्रका सम्बन्धलाई सुदृढीकरण गर्न सहमति भएको थियो। यी सम्झौता र सन्धीको आधारमा भारत र चीनबीच १२५ बिलियन डलरभन्दा अधिक व्यापार रहेको थियो । राष्ट्रपति सीको आगमनको साथै चिनियाँ नीतिमा व्यापक परिवर्तन भएको छ ।

सन् २००० देखि हालसम्म गलवान घाँटीको १५ हजार फिटको उचाइमा दुवैतर्फबाट ६० हजार सैनिक तैनाथ रहेका छन् । डा. जयशंकरले भारत–चीनबीचको कटुतालाई सूत्रात्मक व्याख्या रायसिना संवादमा गरेका छन् । भारत–चीन सम्बन्धको कटुताका कारण नेहरुको परराष्ट्रनीति रहेको समेत उनको तर्क रहेको छ । सन् १९५० ताका नै नेहरु मन्त्रिमण्डलका गृहमन्त्री सरदार पटेलले नेहरुको चिनियाँ नीतिलाई आलोचना गरेका थिए।

चिनियाँ सभ्यता र संस्कृतिको सम्मोहनबाट नेहरु भारत–चीनबीच सामीप्यता बढाउन चीनलाई सुरक्षा परिषद्को सदस्य बनाउन दृढ संकल्पित थिए। तत्कालीन अवस्थामा भारतको विकास र समृद्धिको लागि अमेरिकासँग सहज सम्बन्ध बनाउनुपर्ने आग्रह डा. जम्बेडकरको थियो। अर्थात् नेहरुको परराष्ट्रनीतिको आलोचकको रूपमा मूर्धन्य नेताहरूमा डा. आम्बेडकर, डा. श्यामाप्रसाद मुर्खजी, मिनु मसानी र सरदार पटेलसमेत थिए। रायसिना संवादको माध्यमबाट बोर्डरको समाधानलाई पूर्ण सामाधान नगरीकन चीनसँग सहज र सघन सम्बन्ध नहुन सक्ने तर्क डा. जयशंकरको रहेको छ।

कार्यक्राममा डा. जयशंकरद्वारा प्रकाशित पुस्तक ‘हवाई भारत भ्याटस’ले व्यापक चर्चा पाएको थियो । वर्तमान भूराजनीतिलाई सूक्ष्म विश्लेषण र संश्लेषण गर्न रामायण अति उपयोगी भएको कुरा पुस्तकमा उल्लेख रहेको छ। कानुनी राज्य भन्नाले नै रामराज्य रहेको छ । ठूला शक्तिलाई लगाम लगाउन परराष्ट्रनीतिमा गठबन्धनको अहम् भूमिका हुन्छ । रामायणमा रामले गठबन्धनको प्रचूर मात्रामा प्रयोग गरेका थिए।

वर्तमान भूराजनीतिमा कर्वाड (अमेरिका, भारत, जापान र अस्ट्रेलिया), अक्स (अमेरिका, ब्रिटेन र अस्टे«लिया) पनि गठबन्धनको नै प्रयोग हो । डा. जयशंकरले भारत ३६ वटा गठबन्धनमा सहभागी रहेको समेत उक्त पुस्तकमा उल्लेख गरेका छन् । परराष्ट्रनीतिमा सूचना र सामथ्र्यको अन्तरधुलन हुनुपर्दछ । विभिषण र हनुमान सूचना सामथ्र्यको अन्तरधुलन रहेको कुरा झल्किन्छ । कूटनीतिज्ञ योग्यता र सौर्यको आधारमा युक्त हुनुपर्दछ।

अंगदले रावणको दरबारमा आफ्नो ठाउ‘ आफैँ निर्माण गरेको तथ्य वर्तमान परिवेशमा समेत लागू हुन सक्छ। अब्बल व्यक्तिहरू कूटनीतिज्ञ हुँदा आफ्नो व्यक्तित्व र कृतित्वको आधारमा मुलुकको गरिमा एवं प्रतिष्ठा बढ्छ । रायसिना संवादमा भारतको परराष्ट्र नीतिलाई व्याख्या गर्दै डा. जयशंकरले मानवीय हितको मर्म अनुसार टर्कीको भुइँचालो, मोजाम्बिक, फिजी, श्रीलंका, यमन, सुडानजस्ता अनेकौँ मुलुकमा भारतले सर्वप्रथम राहत पुर्‍याएको समेत उल्लेख गरेका छन् ।

रायसिना संवादमा परराष्ट्रनीति र वैदिक दर्शनबीच तादात्म्यता र सामीप्यता हेर्न सकिन्छ । वास्तवमा पूर्वीय दर्शनको आधारस्तम्भ नै शास्त्रार्थ हो। शास्त्रार्थको समुद्र मन्थनको अमृतबाट मानवोपयोगी सिद्धान्तको उद्भव हुन्छ। यस अर्थमा रायसिना संवादको प्रारुप नेपालजस्ता वैदिक संस्कृतिमा आधारित मुलुकहरूको लागि समेत उपयोगी हुन सक्छ।

विगतका दिनमा यहाँ राजनीतिक भागवण्डाका नाममा कलंकित र दागी व्यक्तित्वहरूले राजकाजको नाममा भोग–विलास गर्न प्रशस्त ठाउ‘ पाएका छन्। शास्त्रार्थको तपबाट ऊर्जावान् व्यक्तित्वहरूले राष्ट्र निर्माणका लागि यथेष्ट ठाउ‘ पाउन सक्छन् तर यहाँ यसो हुन सकेन ।

प्रतिक्रिया दिनुहोस्