अगस्त्यको व्यापार उत्साहजनक भएको दाबी



काठमाडौं ।

गत शुक्रबारबाट रिलिजमा आएको फिल्म अगस्त्य च्याप्टर १ ले बक्स अफिसमा राम्रो सफलता पाएको निर्माण समूहले दाबी गरेको छ।

बक्सअफिसमा निरन्तर देखिएको व्यापारिक निराशालाई अगस्त्य च्याप्टर १ ले राहत दिलाउन थालेको उनीहरूको दाबी छ। देशभरका एक सय ११ हलबाट रिलिजमा आएको फिल्मको शुक्रबार देशभरका हलमा ४५ प्रतिशत अकुपेन्सी रहेको निर्माण पक्षको भनाइ छ।

यस्तै, रिलिजको दोस्रो दिन देशभरका हलमा करिब ८५ प्रतिशत अकुपेन्सी लिन सफल भएको उनीहरूको दाबी छ। सोहीअनुसार यो फिल्मले शुक्रबार, शनिबार र आइतबार डेढ करोड ग्रस हाराहारीमा कमाइ गरेको निर्माण संस्थाले जानकारी गराएको छ।

सौरभ चौधरीको लेखन तथा निर्देशनमा बनेको फिल्मले दर्शकबाट मिलेको सकारात्मक प्रतिक्रिया र बलियो वर्ड अफ माउथका साथ काठमाडौं उपत्यकास“गै जिल्लामा पनि राम्रो व्यापार गरेको निमाण पक्षले जनाएको छ।

सोमबारबाट देशकै ठूलो मल्टीप्लेक्स चेन क्यूएफएक्सका काठमाडौं र मोफसलका स्टेसनसहित बिग मुभिज्, वान् सिनेमाज्, सिडिसी सिनेमाज्, पोखराको मिडटाउन सिनेमाज्, धरानको फ्रेन्ड्स सिनेमाजमा पनि दर्शकको उपस्थिति सुखद रहेको बताइएको छ।

दर्शकलाई सौगात मल्ल, नाजिर हुसेन र खलपात्र प्रमोद अग्रहरिको कामले प्रभावित बनाएको छ। सौगात र नाजिरको एक्सन अवतारको गजब भन्दै तारिफ भएको छ।

डार्क हर्स इन्टरटेनमेन्ट र सेभेन सिज इन्टरटेनमेन्टको प्रस्तुति रहेको फिल्ममा सौगात मल्ल, नाजिर हुसेन, मलिका महत, प्रमोद अग्रहरी, बेन बस्नेत, विजय बराल, रवीन्द्र झा, शिशिर बाङ्देल, निश्चल बस्नेत, सिम्रन खड्का, प्रकाश दाहाल, प्रदीप ढकाल, गजेन्द्र त्रिपाठी, सचिन चन्द्रलगायत कलाकारले अभिनय गरेका छन्।

दर्शकबाट पाएको प्रतिक्रिया र राम्रो व्यापार भएको जनाउँदै निर्माण पक्षले अगस्त्य च्याप्टर २ का लागि उत्साहित भएको जनाएको छ। निर्माणपक्षले अगस्त्य च्याप्टर २ लाई सन् २०२६ मा रिलिज गर्ने घोषणा गरेको छ।

प्रतिक्रिया दिनुहोस्