त्रिशूली बस दुर्घटना अपडेट: मृत्यु हुनेको संख्या ६ पुग्यो

4.5k
Shares

काठमाडौं ।

त्रिशूली नदीमा बुधबार बिहान भएको बस दुर्घटनामा मृत्यु हुनेको संख्या ६ पुगेको छ। मृत्यु हुनेमा १ महिला र ५ जना पुरुष छन्। कपिलवस्तुबाट काठमाडौंतर्फ आउँदै गरेको लु२ख २१२१ नम्बरका यात्रुवाहक बस धादिङको गजुरी गाउँपालिका–५ घाटबेँसीमा दुर्घटनामा भएको हो।

बस पृथ्वीराजमार्गबाट करिब एक सय मिटर तल त्रिशूली नदीमा खसेको जिल्ला प्रहरी कार्यालय धादिङका प्रहरी उपरीक्षक गौतम केसीले जानकारी दिए। दुर्घटनामा परेका ३५ जनाको जीवितै उद्धार गरिएको उनले बताए। घाइतेहरुको गजुरी अस्पतालमा उपचार भइरहेको छ।

मृतकको सनाखत हुन बाँकी रहेको जनाइएको छ। घटनास्थलमा नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, नेपाली सेना तथा स्थानीयले उद्धार गरिरहेका छन्।