अब प्रधानमन्त्रीले ३० दिनभित्र विश्वासको मत लिनुपर्ने

1.2k
Shares

काठमाडौं ।

नेपाली कांग्रेसले सरकारबाट समर्थन फिर्ता लिएपछि प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अबको एक महिनाभित्र संसद्बाट विश्वासको मत लिनुपर्ने भएको छ।

मंगलबार कांग्रेसले सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेसँगै प्रधानमन्त्रीले विश्वासको मत लिनुपर्ने संवैधानिक व्यवस्था छ। सोअनुसार प्रधानमन्त्री प्रचण्डले अब चैत २१ गतेभित्र विश्वासको मत लिइसक्नु पर्नेछ।

प्रतिनिधि सभामा हाल कांग्रेसका ८८ सांसद छन्। प्रतिनिधि सभामा सभामुख र उपभामुखसहित २ सय ७४ सांसद छन्।

प्रधानमन्त्रीलाई विश्वासको मतका लागि १ सय ३८ मत आवश्यक पर्छ। संविधानअनुसार २ वर्षसम्म अविश्वासको प्रस्ताव राख्न नपाइने भए पनि प्रधानमन्त्रीलाई समर्थन गरेको दलले समर्थन फिर्ता लिएमा विश्वासको मत लिनुपर्ने संवैधानिक व्यवस्था छ।

२०७९ पुस १० गते नेकपा (एमाले), राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा), राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा), जनता समाजवादी पार्टी (जसपा), जनमत पार्टी, नागरिक उन्मुक्ति पार्टीलगायतको समर्थनमा प्रचण्ड प्रधानमन्त्री हुनुभएको थियो।

उहाँले पुस २६ गते संसद्मा विश्वासको मत लिनुभएको थियो। त्यसबेला प्रतिपक्षीमा रहेको नेपाली कांग्रेस, एकीकृत समाजवादीसहितका सबै दलले समर्थन जनाएका थिए।

कुन दलको कति सिट

नेपाली कांग्रेस – ८८
नेकपा एमाले – ७७
नेकपा माओवादी केन्द्र –३२
रास्वपा – २०
राप्रपा –१४
जसपा – १२
नेकपा एकीकृत समाजवादी –१०
जनमत – ६
लोकतान्त्रिक समाजवादी पार्टी –४
नागरिक उन्मुक्ति – ४
नेमकिपा – १
राष्ट्रिय जनमोर्चा – १
आम जनता पार्टी – १
स्वतन्त्र – २
खाली – १
निलम्बन – २