मुलुकलाई औषधिमा आत्मनिर्भर बनाउन जोड


काठमाडौं ।

मुलुकलाई औषधिमा आत्मनिर्भर बनाउन सरोकारवालाले जोड दिएका छन्। स्वास्थ्य पत्रकार मञ्च, नेपालले आज काठमाडौंमा आयोजना गरेको ‘औषधिको गुणस्तर, मापदण्ड र कानूनी प्रावधान’ विषयक अन्तरक्रिया कार्यक्रममा सरोकारवालाहरुले मुलुकलाई औषधिमा आत्मनिर्भर बनाउन जोड दिएका हुन्।

कार्यक्रममा बोल्दै स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अतिरिक्त स्वास्थ्य सचिव डा. विकास देवकोटाले सरकारले औषधिमा मुलुकलाई आत्मनिर्भर बनाउने पहल गरिरहेको बताए।

उनले आफ्नै देशमा उत्पादित औषधिबाटै नै आत्मनिर्भर हुनु पर्छ भन्ने सरकारको धारणा भएको बताउँदै यसका लागि नियमनकारी निकायको क्षमता वृद्धी गर्ने र सार्वजनिक खरिद ऐनको बाधा कसरी फुकाउने भन्नेमा काम भइरहेको बताए।

उनले भने, सार्वजनिक खरिद ऐनका केही प्रवधानले हाल चाहेर पनि सरकारले निःशुल्क वितरण गर्ने ९८ वटा औषधि स्वदेशी उद्योगको मात्र खरिद गर्न सकिइरहेको छैन। डा.देवकोटाले गुणस्तर तथा खरिद लगायतका विषयमा औषधि व्यवस्था विभागको नेतृत्वमा सरोकारवाला सबै मिलेर काम गर्नु पर्नेमा जोड दिए।

औषधि व्यवस्था विभागका महानिर्देशक नारायणप्रसाद ढकालले औषधिको गुणस्तर भनेको एक पटक केही मापदण्डमा नापेर मात्र नहुने बिरामीले खाएपछि शरिरमा कसरी काम गर्यो भन्ने बेला सम्मको औषधिको गुणस्तर मापन निर्धारण गर्ने बताए।

उनले गुणस्तर सुधार्न विभागले नयाँ नयाँ प्रविधि ल्याइरहेको भन्दै उद्योगले पनि सुधार गरिरहेको, ‘रिसर्च, विज्ञलाई राखेर औषधिको फर्मुलेसन भइरहेको सुनाए। उनले भने, सर्टेन टेष्ट गरेर मात्र गुणस्तर भन्ने मिल्दैन त्यसको होल लाइफसाइकललाई हेर्नुपर्दछ। जिवन पथमा त्यो औषधिले काम गरेर मात्र त्यो गुणस्तर हुन्छ।’

नेपाल औषधि उत्पादक संघका अध्यक्ष महेश प्रधानले नेपालमा उत्पादन गने औषधि गुणस्तर नै रहेको बताए। औषधि उद्योग संचालन गर्न त्यति सजिलो नभएको भन्दै बाहिर बसेर औषधि उद्योगभित्र पिडा नबुझ्ने गरेको गुनासो गरे।

उनले नेपालका औषधि उद्योगमा ६० अर्ब रुपिया लगानी रहेको तर स्वदेशी उद्योगले उत्पादन गरेका औषधिको वार्षिक ३० अर्बको मात्र बिक्री हुने गरेको जानकारी दिए। उनले भने, “६० अर्ब लगानी गरेर ३० अर्बको व्यापार हुन्छ। कुनै पनि बिजनेशले प्रगती गर्न लगानीको ३ देखी ६ गुणाको ट्रान्जेक्सन गर्नुपर्दछ, नेपालमा लगानिको आधा मात्र व्यापार छ। यसले गर्दा नेपाली औषधी उद्योगलाई समस्या छ।”

उनले सरकारले खरिद गर्ने औषधि स्वदेशी उद्योगले उत्पादन गरेको खण्डमा औषधि उद्योग फस्टाउने बताए। उनले सरकारले खरिद गर्ने औषधि किनेमा आफुहरु छ बर्षभित्रमा मुलुकलाई चाहिने औषधि उत्पादन गर्न सक्ने र बाहिरबाट कुनै पनि औषधि खरिद गर्न नपर्ने अवस्थाको सिर्जना गर्ने प्रतिवद्धता व्यक्त गरे।

कार्यक्रमममा आयुर्वेदिक औषधि उत्पादन संघका अध्यक्ष सुमन पाण्डेले औषधिको गुणस्तरमा संवेदशनलि रहेको छ। उनले सरकारले बनाएको मापदण्ड पुरा गरेर नै विरामी सम्म पुर्याएको बताए। नेपाल फर्मास्युटिकल्स एसोसिएसनका महासचिव संजिव कट्टेलले औषधिको लागि गुणस्तरिय प्रयोगशालामा ध्यान दिनुपर्ने बताए।

औषधि आयातकर्ता संघका महासचिव पवन आचार्यले नेपाली औषधि उद्योगको संरक्षण आवश्यक रहेको बताए। कार्यक्रममा स्वास्थ्य पत्रकार मंचका अध्यक्ष सरोज ढुंगेलले औषधि मानिसको स्वास्थ्यसंग प्रत्यक्ष सरोकार राख्ने भएकोले गुणस्तरिय औषधि उत्पादनमा ध्यान दिनुपर्ने कुरामा जोड दिए।