केन्द्रीय गठबन्धन फेरिएसँगै बागमतीमा सीधा असर 

नयाँ सरकारका लागि अंकगणित सुरु

3.9k
Shares

हेटौंडा ।

काठमाडौंमा सोमबार विहान राजनीतिको केन्द्रीय कोर्स (गठबन्धन) फेरिएसँगै देशको ठूलो वागमती प्रदेशमा त्यसको सीधा असर पर्ने देखिएको छ । केन्द्रीय नयाँ गठबन्धनले यहाँको सरकार संकटमा परेको छ । प्रदेशमा पनि नयाँ सरकार गठनका लागि अंकगणित सुरु भएको छ ।

सोमबार नेकपा एमाले, माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी र जनता समाजवादी पार्टीबीच नयाँ गठबन्धन बनेसँगै प्रदेशमा नयाँ गठबन्धनलाई सरकार बचाउन समस्या हुने दखिएको हो । वागमती प्रदेशमा पनि सरकार फेरबदल हुने देखिएको छ । यसअघि कांग्रेस–माओवादी गठबन्धनका आधारमा बनेका सरकार नयाँ समीकरणपछि फेरिने पक्का भएको हो । हाल माओवादी नेतृत्वको सरकार छ । वागमती प्रदेशमा मुख्यमन्त्री नफेरिने भए पनि मन्त्रीहरु भने फेरिने देखिएको छ ।

पुस १० मा बनेको गठबन्धनअनुसार बनेको वागमती प्रदेश सरकारपछि कांग्रेसहित गठबन्धन बन्दा फेरबदल भएका थिए । यहाँ कांग्रेस र एकीकृत समाजवादीलाई बाहिर राखेर सरकार गठन सम्भव नभएको मुख्यमन्त्री शालिकराम जम्कट्टेलको भनाइ छ । मुख्यमन्त्री जम्कट्टेलकै भनाइअनुसार पछिल्लो समीकरणअनुसार वर्तमान परिस्थितिमा कांग्रेसबाहेक दलले प्रदेशमा सजिलै सरकार बन्ने अवस्था छैन ।

हाल वागमतीमा कांग्रेस, एकीकृत समाजवादी र हाम्रो नेपाली पार्टीको समर्थनमा माओवादी केन्द्र नेतृत्वको सरकार छ । जम्कट्टेल नेतृत्वको सरकारमा माओवादीका ३, कांग्रेसका ६ र एकीकृत समाजवादीका २ मन्त्री छन् ।

प्रदेशमा कुनै दलको एकल बहुमत छैन । हालको अवस्थामा वागमती प्रदेशमा एमाले र माओवादीसहित नयाँ सत्तासाझेदार दल मिल्दा पनि सरकार बनाउन भने अन्य दलको समर्थन आवश्यक नै हुन्छ । सत्ताबाहिर रहने सम्भावना रहेको सबभन्दा ठूलो दल कांग्रेस एक्लैसँग ३७ जना सांसद् छन् भने सरकारमा नजाने भनिएको राप्रपासँग १३ सांसद् छन् ।

हाल बनेको केन्द्रीय समीकरणअनुसार सत्ताबाहिर पुगेको एकीकृत समाजवादीको पनि यहाँ ७ सांसद् छन् । १ सय १० सदस्यीय वागमती प्रदेशसभामा सरकार बनाउन ५५ सिट चाहिन्छ । यहाँ दोस्रो दल एमालेसँग २७ सिट छ । माओवादीसँग २१, नेपाल मजदुर किसान पार्टी (नेमकिपा) सँग ३ र हाम्रो नेपाल पार्टी (हानेपा) र नेपाल समाजवादी पार्टी (नेसपा) सँग १/१ सिट छन् । वागमतीमा एमाले–माओवादी मिले ४८ सांसद्मात्र पुग्छ । जसकारण वागमती प्रदेशमा नयाँ सरकार बनाउन नेकपा (एकीकृत समाजवादी) वा अन्य दल चाहिन्छ नै ।

कांग्रेसले १९ सिट जुटाउन सके कांग्रेसकै नेतृत्वमा सरकार बन्ने सम्भावनासमेत बलियो छ । हाल राप्रपाका भुवनकुमार पाठक प्रदेशसभा सभामुख छन् । सभामुख पाएको राप्रपाले वागमती सरकार गठनका लागि कांग्रेससँग सहकार्य गरे कांग्रेस नेतृत्वमा सरकार बन्नसक्ने सम्भावना बलियो छ । वागमतीमा सभामुखबाहेक राप्रपाका १२ सांसद् छन् । कांग्रेसको ३७ र राप्रपाको १२ ले ४९ हुन आउँछ ।

एमालेको २७ र माओवादीको २१ सिटमात्र रहेको यहाँ यी दुई दल मिल्दा पनि ४८ मात्र हुन्छ । राप्रपालाई बाइपास गरे पनि नेकपा (एस) र हाम्रो नेपाली पार्टीको साथ नपाए नयाँ गठबन्धनको सरकार अल्पमतमा पर्नेहुन्छ । नेकपा (एस) को ७ र हानेपाको २ मत पाएमात्र अंकगणित ५७ हुन आउँछ । केन्द्रीय सत्तासमीकरणमा नेकपा (एस) नमिसिए नयाँ गठबन्धनलाई संकट छ ।

नेकपा एमाले संसदीय दलका नेता जगन्नाथ थपलियाले केन्द्रको निर्देशनअनुसार अघि बढ्ने जानकारी दिए । एमालेले वागमतीमा मुख्यमन्त्री लिने वा मन्त्रीहरुको नाम टुंगो लगाउने विषय केन्द्रको निर्देशनअनुसार छलफल गरेर निर्णय गर्ने नेता थपलियाको भनाइ छ । एमाले प्रदेश संसदीय दलका प्रमुख सचेतक मधुसूदन पौडेलले गणितीय सम्भावनालाई पनि हेर्नुपर्ने बताए । ‘ढिलोचाँडो केन्द्रीय समीकरणलाई प्रदेशमा पनि लागु गर्नु अनौठो होइन,’ उनले भने ।

सत्तारुढ दल नेकपा माओवादी केन्द्र वागमती प्रदेश संसदीय दलका प्रमुख सचेतक रत्न ढकालले प्रदेशमा एमाले र माओवादीको समर्थनले सरकार नबन्ने हुँदा नेकपा (एकीकृत समाजवादी) सहित सरकार बन्ने सम्भावना भएको भन्दै नेकपा (एस) ले सरकार छाड्ने विषयमा निर्णय लिइनसकेको हुँदा वागमतीमा नेकपा (एस) सहित सरकार बन्ने सम्भावना रहेको औंल्याए ।

राष्ट्रिय प्रजातन्त्र पार्टी प्रदेश संसदीय दलका नेता उद्धब थापाले राप्रपाले तत्काल निर्णय नलिने बताए । ‘हेरौं, पछि के हुन्छ,’ उनले माओवादी नेतृत्वको सरकारलाई वागमतीमा समर्थन हुने अवस्था नभएको दाबी गरे । थापाले सत्ताप्राप्ति आफूहरुको चासोको विषय नभएकाले यस्तो खेलमा नलाग्ने बताए । ‘६-७ महिना पनि नटिक्ने गठबन्धनमा राप्रपा सहभागी हुँदैन,’ उनले दाबी गरे ।

प्रदेशका उद्योग, वाणिज्य, भूमि तथा प्रशासन मन्त्री रामकृष्ण चित्रकारले केन्द्रको प्रभाव प्रदेशमा नपर्ने भन्दै प्रदेशका कांग्रेस संयमित भएर अघि बढ्ने बताए । ‘केन्द्रको प्रभाव प्रदेशमा पर्दैन,’ उनले यस विषयमा नेपाली कांग्रेस संयमित भएर अगाडि बढ्ने बताए ।