केन्द्रमा गठबन्धन फेरिदा मधेशको सरकारलाई धक्का

1.1k
Shares

वीरगन्ज ।

सोमबार बिहानै काठमाडौंमा गठबन्धन फेरिएसँगै मधेस प्रदेशमा भने त्यसको सिधा असर परेको छ । मधेशमा यो गठबन्धनले यहाँको सरकार संकटमा परेको छ। सोमबार नेकपा एमाले, माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी र जनता समाजवादी पार्टीबीच नयाँ गठबन्धन बनेसँगै मधेस प्रदेशमा नयाँ गठबन्धनलाई सरकार बचाउन समस्या हुने दखिएको छ।

मधेस प्रदेशसभामा कुल सदस्य संख्या १०७ जना कायम रहेकाले सरकार बनाउन कम्तिमा ५४ जना प्रदेशसभा सदस्यको समर्थन आवश्यक छ। तर, वर्तमान नयाँ गठबन्धनसँग ५२ जना प्रदेशसभा सदस्य मात्रै रहेकाले जसपा नेतृत्वमा रहेको सरकार बचाउन समस्या हुने देखिएको हो । नयाँ गठबन्धनमा चार दल भए पनि रास्वपाको प्रदेश सांसद नरहेकाले मधेसमा एमालेका २४, जसपाका १९ र माओवादी केन्द्रका ९ जना गरी ५२ जना सांसद मात्र छन्। एमालेकै रामचन्द्र मण्डल सभामुख रहेकाले गठबन्धनमा थप एक सदस्यको समर्थन कम हुनेछ।

गठबन्धन दलबाहेकका अन्य दल र एकजना स्वतन्त्र सांसद मिलेमा ५५ जना प्रदेशसभा सदस्यको समर्थनमा सहजै सरकार बन्ने भएकाले वर्तमान गठबन्धनलाई मधेसमा सत्तामा रहिरहन समस्या हुने भएको हो।

नेपाली कांग्रेसलगायतका दलले गठबन्धनबाहेकका दललाई एक जुट गर्नसके मधेसमा सहजै सरकार बनाउने अवस्था पनि छ । चारदलीय गठबन्धनबाहेकका नेपाली कांग्रेससँग २२, जनमत पार्टीका १३, लोकतान्त्रिक समाजवादी पार्टीका ९, नेकपा एकीकृत समाजवादी पार्टीका ७, राष्ट्रिय प्रजातन्त्र पार्टी, नागरिक उन्मुक्ति पार्टी र नेपाल संघीय समाजवादी पार्टीका १/१ जना सांसद छन्।
यस्तै, एकजना स्वतन्त्र सांसद छन्। लोसपाका एकजना सांसद फरार रहे पनि गठबन्धनबाहेकका दलहरु मिले सरकार बनाउन कुनै समस्या नहुने देखिएको हो

हाल सरकारमा रहेका नेपाली कांग्रेसका मधेस प्रदेशका संसदीय दलका नेता एवं भौतिक पूर्वाधार विकासमन्त्री कृष्णा यादवले पार्टीको केन्द्रीय नेतृत्वले भनेअनुसार सरकारबाट बाहिरिने वा रहने भन्ने निर्णय लिने बताए । यद्यपी मधेशमा हाल जसपाकै नेतृत्वमा सररकार रहेको छ । नयाँ समीकरण बनेपछि भने जनमत पार्टीले मधेशको मुख्यमन्त्रीको पद दाबी गरेपछि थप समस्या हुने आँकलन गरिएको छ ।