विभेद र समानताको स्रोत



काठमाडौं ।

विश्वमा प्रचलनमा रहेका अधिकांश धर्म र सम्प्रदायमा जात र लिङ्गका आधारमा विभेद छ। जात र लिङ्ग हेरेर एउटै अपराधमा भिन्न सजाय हुने गरेको इतिहास छ।

महिला भएकै कारणले यस संसारको आधा जनसंख्या अनेक अवसरबाट वञ्चित छ । धर्म–परम्पराले वञ्चित गराएको छ । तर यस विषयमा वरिष्ठ सामाजिक अभियन्ताहरु पनि बोल्न मान्दैनन्। किनभने धर्मका नाममा प्रत्याक्रमण होला भनेर सबै डराउँछन्।

धर्मलाई पनि समयसापेक्ष बनाउन आवश्यक हुन्छ, हिजो खास लिङ्गका आधारमा कसैलाई कुनै अवसरबाट वञ्चित गरियो, तर आज पनि त्यसैलाई निरन्तरता दिने हो भने आधुनिक संविधान र कानुन किन चाहियो ? मनु–स्मृति, बाइबल, सारिया कानुन आदिलाई नै निरन्तरता दिए भइहाल्यो । कसैले यस्ता विषयमा नबोल्ने हो भने हिजोको सतीप्रथा आज पनि कायम रहन्थ्यो, विधवा आमाहरु आज पनि श्रीमान्को चितामा जलिरहेका हुन्थे, जारलाई साधुले काटिरहेको हुन्थ्यो, दास–दासी किनबेच भइरहेका हुन्थे, मानिसलाई अछुत भनेर कुकुर–बिरालोभन्दा पनि तुच्छ व्यवहार गरिरहिन्थ्यो ।

लिङ्गका आधारमा विभेद वर्षौंदेखि जरा गाडेर बसेको सामाजिक कलंक हो । यो कलंक अन्त्य नभएसम्म सही अर्थमा मानव विकास सम्भव छैन भन्ने विश्वासका साथ लैङ्गिक विभेदका जरा खोज्ने प्रयास गरिनुपर्दछ । यसका जराहरु धार्मिक ग्रन्थमै छन्। पहिला आफ्नै धर्मका प्रावधानहरुमा नबोलेसम्म अरुका धर्मका बारेमा बोल्ने अधिकार नहुने भएकाले यहाँ सर्वप्रिय हिन्दु ग्रन्थहरु चण्डी र गीताका बारेमा चिरफार गर्ने प्रयास गरिएको छ ।

दुर्गा सप्तशती चण्डी मातृप्रधान युगको कथा हुनुपर्छ । यसरी हेर्दा यो द्वापर युग अर्थात् ८ हजार वर्षभन्दा बढी पुरानो रचना हुनुपर्छ । दुर्गा देवीको आराधनामा सयौं वर्षदेखि हामी हिन्दुहरुले पाठ गर्दै आएको धार्मिक दृष्टिले अति सम्मानित र प्रिय ग्रन्थमा लैङ्गिक प्रतिनिधित्व खोज्नु किन आवश्यक छ भने यो महिलाको स्तुतिको कथा हो । दुर्गादेवीको आराधना हो । महिलाको सम्मानमा पाठ गरिने यस ग्रन्थमा आम महिलालाई भने सहायक नागरिकका रुपमा चित्रण गरिएको देखिन्छ । सर्वत्र पुरुषलाई प्राथमिकतामा राखेर भगवती देवीसँग प्रार्थना गरिएको छ । ‘पुत्रान् रक्षेन्महालक्ष्मीर्भार्यां रक्षतु भैरवी’ अर्थात् महालक्ष्मीले पुत्रहरुको रक्षा गरुन्, भैरवी देवीले श्रीमतीको रक्षा गरुन् भनिएको छ । छोरी देऊ, छोरीको रक्षा गर भनिएको छैन ।

‘शुक्रं ब्रह्माणि मे रक्षेच्छायां छत्रेश्वरी तथा’ अर्थात् बह्माणी देवीले वीर्य वा शुक्रको रक्षा गरुन् । पुरुषको छायाको समेत रक्षाका लागि छत्रेश्वरी देवीलाई पुकारिएको चण्डीमा महिलाको डिम्बको रक्षाका लागि चाहिँ कसैलाई पुकारिएको छैन । महिलाले अण्ड निष्कासन नगरे शुक्रकीटले मात्र काम गर्दैन भन्ने सत्य ख्याल गरिएको छैन । देवीसँग छोरा मागिएको छ, छोरी मागिएको छैन– पुत्रान् देही धनं देही सर्वकामाँश्च देही मे ।’ हे देवी, मलाई पुत्र देऊ, धन देऊ, सम्पूर्ण इच्छा पूरा गरी सुख दिलाऊ । ‘पत्नीं मनोरमां देही मनोवृत्तानुसारिणीम्’ तर, पुरुषका लागि राम्री श्रीमती भने मागिएको छ । कठिनाइहरुबाट पार लगाउने उच्च कुलकी असल श्रीमतीको भने कामना गरिएको छ । सीधै असल र राम्रा सन्तान माग्ने, छोरा र छोरीका लागि देवीको पुकारा गर्ने काम भएको छैन ।

चण्डीमा सुरथ राजा र समाधि नामको वैश्यको कथा छ । राजा विरोधीहरुबाट पराजित भएको थियो भने वैश्यलाई दुष्ट श्रीमती र छोराहरुले धनसम्पत्तिविहीन बनाएर घरबाट निकालिदिएका थिए– ‘पुत्रदारैर्निरस्तश्च धनलोभादसाधुभिः । पछि महामाया भगवतीको आराधना गरेर वैश्यले पारिवारिक माया–मोहबाट मुक्ति प्राप्त गरेको र राज्य खोसिएको राजा सुरथलाई पुनः राज्य प्राप्त भएको कथा छ ।

जसले देवीलाई प्रसन्न बनाउँछ, उसले हृष्टपुष्ट बलियी र राम्री श्रीमती पाउँछ, छोराहरु पनि उसैका हुन्छन्, नोकर–चाकरले सम्पन्न हुन्छ भनिएको छ– धन्यास्त एव निभृतात्मजभृत्यदारा येषां सदाभ्युदयता भवती प्रसन्ना । चण्डीमा एक ठाउँ ‘पुत्रपौत्रिकी’ भनिएको बाहेक अन्यत्र कतै छोरीको माग नै गरिएको छैन । देवीसँग माग्दै नमागे पनि जे–जति सक्षम छोरीहरु हामीले पाएका छौं, यसका लागि भगवती दुर्गाप्रति धन्यवाद भने व्यक्त गर्नै पर्छ । दुर्गाको प्रार्थना चण्डी लेख्ने पण्डितको दिमागमा छोरी कतै प्रकट हुन्न । ‘या च स्मृता तत्क्षणमेव हन्ति नः सर्वापदो भक्ति विनम्रमूत्र्तिभिः’ विनीत पुरुषले भक्तिभावका साथ देवीको स्मरण गरेमा सम्पूर्ण विपद् तत्क्षण हटेर जान्छ । यो ‘पुरुष’ शब्दका ठाउँमा व्यक्ति वा महिला–पुरुष लेखिदिएको भए के बिग्रिन्थ्यो र !

शुम्भ–निशुम्भ नामका राक्षसको दूतले देवीलाई गाली गर्दा स्त्री जातिकै अपमान गर्छ । यद्यपि त्यहाँ चण्डीको कथा बुन्ने पण्डितको भावना नै प्रकट हुन्छ– ‘इन्द्राद्याः सकला देवास्तस्थुर्येषां न संयुगे । शुम्भादिनां कथं तेषा स्त्री प्रयास्यसि सम्मुखम् ।’ अनेक देवता र उनीहरुका पनि राजा इन्द्रजस्ता पुरुषहरुले पनि पराजित गर्न नसकेका शुम्भ–निशुम्भलाई तिमी स्त्री भएर कसरी जिन्त सक्छ्यौ ! चण्डी महात्म्यभरि पुरुष हाबी हुन्छ । ‘नन्दते च कुलं पुंसां माहात्म्यं मम श्रृण्वताम्’ देवीलाई उद्धृत गर्दै पुरुष रचनाकार लेख्छन्– मेरो महात्म्य सुन्ने पुरुषहरुका सबै शत्रु नाशिनेछन्, उनीहरुको कल्याण मिल्नेछ र कुलकै उन्नति हुनेछ । देवीको स्तुति गर्नेले धन, पुत्र, नाति–नातिना र शुभमति प्राप्त गर्नेछ भनिएको छ ।

श्रीमद्भागवद् गीतामा पनि यस्तै प्रस्तुति छ । पूर्वीय दर्शनको अति सम्मानित धर्मग्रन्थ गीता विभिन्न योग र दर्शनको स्रोत, हिन्दु सनातन जीवन दर्शनको आधारमा पनि पितृसत्ता हाबी भएपछि त्यसको असर दीर्घकालीन हुने नै भयो । गीताले अंगीकार गरेको जीवन दर्शनमा पितृसत्ता र पुरुषत्व दूधमा पानीजस्तो मिसिएको छ । श्रीमद्भागवद् गीतालाई उच्च सम्मान गर्दै यस ग्रन्थले पुरुष र महिलालाई समानरुपले सम्बोधन गरेको छैन भन्नुपर्छ । शायद यही कारण हुन सक्छ, पूर्वीय दर्शनको पक्षमा बोल्नेहरु उनान्सय प्रतिशत पुरुष देखिन्छन्, महिला अत्यन्त नगण्य । शायद उनीहरुलाई गीता पुरुषको मात्र ग्रन्थ हो जस्तो लाग्छ । किनभने गीता पढ्दा महिला एक–दुई ठाउँभन्दा अन्त भेटिन्नन् । शायद महिलालाई यो आफ्नो ग्रन्थ हो, मेरो जीवन दर्शन होजस्तो लाग्दैन ।

‘अधर्माभि भवात् कृष्ण प्रदुष्यन्ति कुल स्त्रियः, स्त्रीषु दुष्टासु वार्ष्णेय, जायते वर्ण सङ्कर’ पहिलो अध्यायको ४१औं श्लोकमा अर्जुनले श्रीकृष्ण भगवान्सँग ‘म आफन्तजनमाथि वाण चलाउन्न । युद्धमा होमिएका लडाकाहरु मारिएपछि उनीहरुका श्रीमती विधवा हुन्छन् । उनीहरु यत्रतत्र यौन सम्बन्ध राख्न पुग्छन् र वर्णसङ्कर जन्मिन्छन् । वर्णसङ्करले श्राद्ध–तर्पण गर्दा पितृ तर्दैनन्’ भनेका छन् । जहाँ स्त्री जातिको उल्लेख गरिएको छ, त्यहाँ पनि उनीहरुमाथि सम्मान भाव प्रकट भएको छैन । विधवाहरु यौन सम्बन्धमा अनुशासित हुँदैनन् भन्ने अर्थ निकालिएको छ ।

गीतालाई उच्च सम्मानित ग्रन्थका साथै परं रहस्यमय ग्रन्थ पनि मानिन्छ । विद्वान्हरु यसमा सम्पूर्ण वेदहरुको सार संग्रह गरिएको मान्दछन् । तर यही ग्रन्थले जातिगत र लैङ्गिक विभेदको जरा गाडिदिएको छ । ‘चातुर् वण्र्यं मया सृष्टं, गुण कर्म विभागशः, तस्य कर्तार मपि मां, विद्य कर्तार मव्ययम् ।’ भगवान् श्रीकृष्ण अर्जुनलाई भन्छन्, गुण र कर्मको आधारमा चार विभागका रुपमा मैले ब्राह्मण, क्षत्रिय, वैश्य र शूद्र सिर्जना गरें । हरेक विभागप्रति भगवान्ले समान प्रेमभाव देखाएको ब्राह्मणहरुले दाबी गरे पनि शूद्रहरुले आफूमाथि विभेद भएकै महसुस गरेका छन् । महिलालाई मातृजाति भनेर केही ग्रन्थले केही स्थानमा सम्मान देखाउन खोजे पनि पुरुषको नियन्त्रणभन्दा बाहिर उनीहरुलाई जान दिइएको छैन ।

गीतामा तोकेर महिलाको मुक्तिको कुरा गरिएको पनि छैन । ९० प्रतिशतभन्दा बढी स्थानमा पुरुष वा पुलिङ्गी सर्वनामको प्रयोग छ, बाँकी स्थानमा मनुष्य वा व्यक्ति शब्द प्रयोग गरेर यसभित्र महिला पनि पर्छन् भन्न सकिने ठाउँ छोडिएको छ । ‘विहाय कामान् यः सर्वान्, पुमांश्चरति निःस्पृहः, निर्ममो निरहङ्कारः, स शान्ति मधि गच्छति ।’ दोस्रो अध्यायको एकहत्तरौं श्लोकमा मात्र होइन, गीतामा सर्वत्र यसरी नै पुरुष छाएका छन् । ‘ध्यायतो विषयान् पुंसः’, कतै भनिएको छ भने, कतै ‘मिथ्याचार स उच्यते’ उल्लेख गरिएको छ । कतै ‘परमाप्नोति पुरुष’ भनिन्छ त कतै ‘स बुद्धिमान मनुष्येषु’ त कतै ‘स तं परं पुरुष मुपैति दिव्यम्’ लेखिन्छ ।

‘मां हि पार्थ व्यपाश्रित्य, येपिस्युः पाप योनयः, स्त्रियो वैश्यास् तथा शूद्रास् तेपि यान्ति परां गतिम् ।’ गीताको नवांै अध्याय, बत्तीसौं श्लोकमा श्रीकृष्ण भगवान् अर्जुनलाई भन्छन्, पापयोनिमा जन्मिएका महिला, वैश्य, शूद्र आदि पनि मेरो शरणमा आए भने स्वर्ग जान्छन्, मुक्त हुन्छन् । महिलालगायतलाई पापयोनिको उत्पादन भन्नु ठीक हो ? अवश्य होइन । यसरी हेर्दा गीताले पुरुष बाहुन–क्षत्रीबाहेक अरुबाट सम्मान नपाउनु स्वाभाविकै लाग्छ । किनभने धर्मयोनिबाट जन्मिने बाहुन–क्षत्री मात्र हुन् भन्ने दाबी गीताको छ । यसले एक ठाउँमा मात्र नारी जातिको किंचित पक्ष लिएको देखिन्छ । ‘कीर्तिः श्रीर्वाक् च नारीणां, स्मतिर् मेधा धृतिः क्षमा ।’ दशौं अध्यायको ३४औं श्लोकमा कीर्ति आदि सात देवताका श्रीमती र नारी जातिमा हुने धैर्य, क्षमा आदि सद्गुणमा म बसेको छु, मृत्यु र जन्म नै म हुँ भनेर श्रीकृष्ण भगवान्ले अर्जुनलाई बताएका छन् ।

श्रीमती, पुत्र र भौतिक धनलाई पुरुषको सम्पत्तिका रुपमा मानेर गीता तयार पारिएको छ । १८औं अध्यायको दोस्रो श्लोकमा अर्जुन श्रीकृष्णलाई सोध्छन्ः काम्य कर्महरुको त्यागलाई संन्यास भन्ने हो कि होइन ? काम्य कर्म भन्नाले स्त्री, पुत्र र धन आदि प्रिय वस्तुको प्राप्ति र रोग, शोक र विनाश आदिको निवारणका लागि गरिने उपासनालाई बुझ्नुपर्दछ भनिएको छ । यो ग्रन्थ महिलाका लागि लेखिएको हुन्थ्यो भने श्रीमान्, पुत्र–पुत्री, धन आदि प्राप्तिको कुरा गरिन्थ्यो भन्ने पनि यस सन्दर्भबाट प्रस्ट हुन्छ ।

सनातन धर्म सनातन हुन अर्थात् सधैँका लागि समान महत्वको भइरहन यसको व्याख्या सामयिक हुनुपर्छ । नारी, वैश्य र शूद्रलाई गाली गरेर, पूर्वजन्मको पापले गर्दा व्यक्ति ब्राह्मण पुरुष र क्षत्रीय पुरुष हुन नसकेको आक्षेप लगाएर ग्रन्थ सर्वप्रिय हुन सक्तैन ।

नेपालको संविधान, २०७२ मा सबै नागरिकका लागि समतामूलक समाज निर्माण गर्ने घोषणा गरिएको छ, समानताभन्दा पनि माथिको परिस्कृत समाजको परिकल्पना छ, नागरिकले आमा वा बाबुको नामबाट लैंगिक पहिचानसहितको नेपालको नागरिकता प्रमाणपत्र पाउने, लिङ्गका आधारमा विभेद नहुने समानताको हकलगायत महिलाको अधिकारका लागि धारा ३८ नै समर्पित छ । तर पनि नेपाली समाजमा लैङ्गिक समानता छैन, किनभने समाजमा आज पनि धार्मिक कानुन चलेको छ । सचेत नागरिकले हिम्मत गरेर नबोलेसम्म यसमा सुधार आउँदैन ।

प्रतिक्रिया दिनुहोस्