दुई जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर

4.4k
Shares

काठमाडौं ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नापी कार्यालय, कलंकी काठमाडौंमा कार्यरत सर्भेक्षक लक्ष्मीप्रसाद चौलागाईं र राजधानी लेखापढी सेवाका लेखापढी काम गर्ने नेत्रबहादुर पोखरेलविरुद्ध आइतबार विशेष अदालत काठमाडौंमा भ्रष्टाचार मुद्दा दायर गरेको छ।

जग्गा हालसाविक एवं कित्ताकाट गरी पुर्जा उपलब्ध गराइदिने प्रयोजनार्थ सेवाग्राहीबाट १ लाख रुपियाँ घूस लिएको आरोपमा आयोगले विशेष अदालतमा मुद्दा दायर गरेको हो।

उनीहरुले सेवाग्राहीबाट घूस मागिरहेको भन्ने सूचना एवं उजुरी निवेदनका आधारमा आयोग, टंगालबाट खटिएको टोलीले सर्भेक्षक चौलागाईं र लेखापढी काम गर्ने पोखरेललाई १ लाख रुपियाँसहित नियन्त्रणमा लिएको थियो।

अनुसन्धानको सिलसिलामा लेखापढी काम गर्ने पोखरेलले जग्गा हालसाविक एवं कित्ताकाटसमेत गरी जग्गाधनी पुर्जा उपलब्ध गराउनका लागि सेवाग्राहीबाट १ लाख रुपियाँ घूस लिएको आयोगले जनाएको छ।

सो रकममध्ये सर्भेक्षक चौलागाईंले जग्गा हाल साविकको काम गरिदिएबापत ५० हजार रुपियाँ लिएको देखिएको आयोगका प्रवक्ता नरहरि घिमिरेले जानकारी दिनुभयो ।