जुनसुकै बेला ढल्न सक्छ हनुमानढोका प्रहरी कार्यालय

जनस्तरबाटै भत्काउन सुझाव

2.4k
Shares

काठमाडौं ।

विश्वसम्पदा क्षेत्रभित्र रहेको हनुमानढोका प्रहरी कार्यालयको भवन भत्काउन पुरातत्व विभागले सिफारिस गरेको छ।

हनुमानढोका दरबार हेरचाह अड्डा कार्यालयले जुनसुकै बेला ढल्न सक्ने सो भवन भत्काउन सुझाव दिएको हो । हेरचाह अड्डा प्रमुख सन्दीप खनालले भवन भत्काउन सुझाव दिएको जानकारी दिनुभयो।

उहाँले भन्नुभयो– ‘हामीले पुरातत्व विभागलाई सुझाव दिएका छौं, सोहीअनुसार काम भइरहेको होला।’

हेरचाह अड्डाले पुस २४ गते विभागलाई निरीक्षणसहितको पत्र पठाएर हनुमानढोका दरबार संरक्षित स्मारक क्षेत्रभित्र रहेको नेपाल प्रहरी परिसर भवन व्यवस्थापन गर्न आग्रह गरेको थियो।

प्रतिवेदनमा जुनसुकै बेला भत्कन सक्ने सो भवन भत्काउन आग्रह गरेको थियो । त्यसलगत्तै पुरातत्व विभागले माघ २८ गते जिल्ला प्रहरी परिसरलाई पत्र पठाएको थियो । पत्रमा सम्पदा संरक्षण महाअभियानलगायत संघसंस्थाले भवन भत्काउनुपर्ने मागसहित विभागमा निवेदन दिएका थिए ।

सो निवेदनको आधारमा विभागले जोखिमपूर्ण अवस्थामा रहेको भवन भत्काउन सहयोग गर्न आग्रह गरेको थियो । संरक्षित स्मारक क्षेत्रका लागि लागू गरिएको संरक्षण एवं निर्माणसम्बन्धी मापदण्डबमोजिम नरहेको सो जीर्ण एवं जोखिमयुक्त भवन, के कसरी कुन निकायसँग समन्वय गरी कुन मोडालिटीमा भत्काउने विषयमा यथाशीघ्र राय दिन परिसरलाई आग्रह गरेको थियो ।

मापदण्ड विपरीत निर्माण भएको सो भवन भत्काएर सम्पदामैत्री बनाउने र उक्त भवनमा पर्यटन प्रहरीको कार्यालय राख्न प्रस्ताव गर्दै सम्पदाप्रेमीले जनस्तरबाटै सो भवन भत्काएर पुनर्निर्माण गर्न माग गरेका छन्।

जीर्ण भवन तत्काल भत्काउन आग्रह गर्दै सम्पदा संरक्षण महाअभियानका अभियन्ताले जनस्तरबाटै भत्काएर पुनर्निर्माण गर्न माग गरेको छ।

२०७२ सालको भूकम्पले क्षतिग्रस्त सो भवन पूर्णरुपमा जीर्ण भइसकेको छ। जीर्ण सो भवनभित्र प्रहरी बसिरहेको छ । साढे २ रोपनी क्षेत्रफल ओगटेको सो भवन चारतले हो।

२०७२ सालअघि हनुमानढोका दरबार परिसरभित्र काठमाडौं जिल्ला प्रहरी कार्यालय थियो । सो कार्यालयलाई हनुमानढोका प्रहरी कार्यालय भन्ने गरिन्थ्यो । महाअभियानले सो भवन भत्काउन संस्कृतिमन्त्री सुदन किरातीलाई समेत आग्रह गरेको छ।

कामपाका मेयर बालेन्द्र साहका सम्पदा सल्लाहकार यादवलाल कायस्थले जनस्तरबाटै भवन भत्काएर मापदण्डअनुसार भवन निर्माण गर्ने तयारी थालिएको बताउनुभयो।

उहाँले भन्नुभयो– ‘पुरानो भवन भत्काएपछि सो स्थानमा नेपाल प्रहरीको पर्यटक प्रहरीको भवन ह्ुनुपर्छ, सोहीअनुसार सरकारले प्रक्रिया अघि बढाउनेछ ।’

महाअभियानका अभियन्ताले प्रहरी प्रमुख वसन्त कुँवरलाई जीर्ण भवनको अवलोकन गराइसकेको छ। त्यस बेला भत्काउन तयार रहेको बताउने प्रहरी महानिरीक्षकले हाल कुनै चासो नदेखाउनुभएको कायस्थले नेपाल समाचारपत्रलाई बताउनुभयो।

नेपाल प्रहरीको नाममा लालपुर्जा रहेको सो भवन बराबरको जग्गा सट्टापट्टा गर्नुपर्ने प्रहरीको माग छ। महाअभियानका अभियन्ताले सो भवन नगर प्रहरीबल र नेपाल प्रहरीलगायत सरकारी निकायले नभई जनताले नै भत्काउनुपर्नेमा जोड दिएका छन्।

‘जनतामाझ सम्पदाप्रतिको ज्ञान बढाउन र चेतना जगाउन, जागरण र अपनत्व बढाउन पनि नेपाली जनताले भत्काउन भनिरहेका छौं’ –सम्पदा सल्लाहकार कायस्थले भन्नुभयो।

२०१५ सालमा निर्माण भएको सो भवन विश्व सम्पदाको मापदण्डविपरीत छ । विश्व सम्पदा क्षेत्रभित्र सांस्कृतिक, धार्मिक र पुरातात्विक एवं ऐतिहासिक संरचानाहरुले भरिपूर्ण क्षेत्रमा कुरुप भवनले विश्वभरका पर्यटक गिज्याइरहेको महाअभियानको आरोप छ ।

२०७२ सालको महाभूकम्पमा परेको यो भवन जीर्ण र मानव बस्नलायकको नभएको भनी रेड स्टिकर लगाएको थियो। रेड स्टिकर लगाएको सो भवनमा बस्नै हुँदैन, तैपनि प्रहरीहरु बसिरहेका छन्।

सम्पदा सल्लाहकार कायस्थले जुनसुकै हालतमा सो भवन भत्काउनुपर्ने बताउनुभयो। भवन भत्काउन आग्रह गर्दै कायस्थसहितको टोलीले उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठसँग भेट गरिसकेको छ।

‘सबै निकायले तत्काल भत्किन्छ भन्ने आश्वासन दिन्छन्, तर भत्काउन वास्तै गर्दैनन्’ –कायस्थको आरोप थियो। ‘जनस्तरबाटै भत्काउन र पुनर्निर्माण गरी प्रहरीलाई नै हस्तान्तरण गर्ने भन्दासमेत बेवास्ता गरेकोमा हामीले आपत्ति जनाएका छौं’ –उहाँले भन्नुभयो ।

जिल्ला प्रहरी परिसर काठमाडौं स्थानान्तरण भइसकेको ८ वर्ष पुगिसक्दा पनि भवन भत्काउन कुनै निकायले चासो दिएका छैनन्। करिब २ साताअघि सम्पदा सल्लाहकार कायस्थ र प्रहरी परिसर काठमाडौंका अधिकारीबीच छलफल भएको थियो।

त्यस बेला भत्काउने कुरा चलेको थियो अहिले फेरि रोकिएको छ। सम्पदा महाअभियानका अभियन्ताले भवन भत्काउने विषयमा गृह मन्त्रालय, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय, कामपा र पुरातत्व विभागलगायतका निकायले कुनै चासो नदेखाएको आरोप लगाएका छन्।