पालो पुर्‍याउन मन्त्रिमण्डल पुनर्गठनको तयारी

3.1k
Shares

काठमाडौं ।

आठदलीय गठबन्धनको सहयोगमा १४ महिनाअघि प्रधानमन्त्री बनेका नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आजै मन्त्रिमण्डल पुनर्गठनको प्रस्ताव सदनमा लैजाने सम्भावना छ।

माओवादी केन्द्रका प्रमुख सचेतक हितराज पाण्डेले प्रधानमन्त्री प्रचण्डले आज सोमबार संसद्मा सम्बोधन गर्ने पुष्टि गर्दै नेपाल समाचारपत्रसँग भन्नुभयो– ‘प्रधानमन्त्रीज्यूले सोमबार सदनमा सम्बोधन गर्ने कार्यतालिका छ । त्यही सम्बोधनमा मन्त्रीपरिषद् पुनर्गठनका विषयमा पनि बोल्नुहोला तर पार्टीमा कुनै छलफल भएको छैन ।’

राजनीतिक विश्लेषकहरूले भने मन्त्री फेरबदल गर्दैमा सरकार प्रभावकारी नहुने बताएका छन् । माओवादी केन्द्रकै सचिव राम कार्कीले मन्त्री फेरबदलले मात्रै वर्तमान समस्या समाधान नहुने टिप्पणी गर्नुभएको छ।

उहाँले नेपाल समाचारपत्रसँग भन्नुभयो– ‘नेताहरुलाई पालो पुर्‍याउनकै लागि मन्त्रिपरिषद् पुनर्गठन गर्नु छुट्टै कुरा हो । तर अहिलेको अर्थराजनीतिक व्यवस्थालाई नै विस्तारै परिवर्तन गर्दै लैजानुपर्छ । व्यक्ति परिवर्तन भएर मुलुकको अवस्था रुपान्तरण हुँदैन ।’

नेपाली कांग्रेसका प्रमुख सचेतकसमेत रहेका नेता रमेश लेखकले सरकार पुनर्गठनको विषय अघि बढेको पुष्टि गर्दै भन्नुभयो– ‘सरकारका मन्त्री फेरबदल गर्ने विषय प्रधानमन्त्रीको हो। त्यसमा कांग्रेस सभापतिसँग पनि छलफल गर्नुभएकै होला। प्रधानमन्त्रीजी सायद आजै यो विषय लिएर सदनमा जाँदै हुनुहुन्छ भन्ने सुनेको छु। यद्यपि सरकारका पूरै मन्त्री परिवर्तन गर्ने या केही मन्त्री फेर्ने भन्ने जानकारी प्रधानमन्त्रीले बाहिर ल्याइसक्नुभएको छैन । कांग्रेसका समेत को–को फिर्ता हुने र को जाने भन्ने विषयमा छलफल भएको छैन।’

सरकारका मन्त्रीको कार्यसम्पादनप्रति असन्तुष्टि व्यक्त गर्दै आएका प्रधानमन्त्री प्रचण्डले मन्त्रिमण्डल पुनर्गठनको विषयमा सत्ताको मुख्य साझेदार दल कांग्रेससँग पटकपटक छलफल गर्नुभएको थियो।

सरकारको एक वर्ष पुगेको दिन गत पुस १० मा नै उहाँले मन्त्री फेर्ने प्रस्ताव लानुभए तापनि कांग्रेस सभापति शेरबहादुर देउवाले अस्वीकार गरेपछि केही समय रोकिएको थियो। तर, पछिल्लो केही दिनकै दौडधुपमा कांग्रेस पनि सरकारका मन्त्री फेर्ने विषयमा सकारात्मक बनेको छ।

सरकारका मन्त्री फेर्ने अधिकार प्रधानमन्त्रीलाई भए पनि गठबन्धनको सरकार भएकाले साझेदार दलहरुलाई समेत चित्त बुझाएर मात्रै मन्त्रिमण्डल परिवर्तन गर्न सम्भव हुने बताउँदै आएका कांग्रेसका नेताहरु पछिल्लो समय उक्त विषयमा लचिलो बनेका छन् ।

पछिल्लो पटक आव २०८०/०८१ को नीति तथा कार्यक्रम र बजेटको कार्यान्वयन समीक्षामा प्रधानमन्त्री प्रचण्डले भन्नुभएको थियो– ‘सुशासन, सामाजिक न्याय र समृद्धिको पक्षमा नयाँ संकल्पको साथ यो क्याबिनेटले जसरी काम गर्नुपर्छ भनेर जोडतोडले उत्साहको साथ अगाडि बढेका थियौँ। एक वर्षसम्म मोटामोटी ढंगले हामी ठीकठीकै ढंगबाट जान्छौं भन्ने नै थियो। तर, अहिले यो समीक्षासम्म आउँदा मेरो बेचैनी बढेको छ। जोवन, धान्ने काल पर्खिने खालको मात्रै सरकार हुनुहुँदैन। मन्त्रीज्यूदेखि मुख्यसचिव सचिवहरूको पनि दिमागमा बेचैनी बढेको जस्तो देखेको छु । परिस्थिति जटिल र चुनौतीपूर्ण छन्।’

मन्त्री हेरफेरको प्रस्तावमा सभापति देउवाले सकारात्मक सङ्केत नदिएपछि अलमलमा परेका प्रचण्डले कांग्रेसलाई दिने भनेको राष्ट्रिय सभाको अध्यक्षमा माओवादीले उम्मेदवार उठाउने निर्णय गराएर कांग्रेस सभापति देउवालाई गलाउनुभएको छ।

केही विश्वास पात्र मानिएका मन्त्रीहरु हटाउने प्रचण्डको रणनीतिलाई बुझेर पछि हटेका देउवासमेत प्रचण्डको पछिल्लो निर्णयपछि मन्त्रिमण्डल फेरबदलमा सकारात्मक बन्नुभएको कांग्रेस विशेष स्रोतको दाबी छ।

सरकारका विभागीय मन्त्रीहरुले काम गर्न नसकेको भाष्य निर्माण गरेर मन्त्रिहरुको कार्य सम्पादनमाथि प्रश्न उठाउँदै मन्त्री हेरफेरको तयारी गरिरहँदा कतिपय नेताहरुले भने मन्त्रिमण्डल परिवर्तन गर्नेबित्तिकै सबै समस्या समाधान भइहाल्ने अवस्था नरहेको बताएका छन् ।

प्रधानमन्त्री प्रचण्ड अर्थमन्त्री डा. प्रकाशशरण महत, स्वास्थ्यमन्त्री मोहनबहादुर बस्नेत, भौतिकमन्त्री प्रकाश ज्वाला, पर्यटनमन्त्री सुदन किराती, कृषिमन्त्री बेदुराम भुसाल, उद्योगमन्त्री रमेश रिजालसहित करिव दर्जन मन्त्रीहरुको कामप्रति सन्तुष्ट हुनुहुन्न।

नेकपा एकीकृत समाजवादीका उपमहासचिव डा. विजय पौडेलले मन्त्री फेरबदल गर्ने अधिकार प्रधानमन्त्रीको भएकाले खासै टिप्पणी गर्नुनपर्ने बताउनुभयो। यद्यपि प्रधानमन्त्रीले मन्त्री परिवर्तनको निर्णय सत्ता गठबन्धनमा छलफल गरेर मात्रै गर्नुपर्नेमा उहाँले जोड दिनुभयो ।

परराष्ट्रमन्त्री साउदको फिनल्यान्ड भ्रमण एकाएक रोकियो

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मन्त्रिपरिषद् पुनर्गठन गर्ने गृहकार्य गरिरहँदा परराष्ट्रमन्त्री एनपी साउदको फिनल्यान्ड भ्रमण एकाएक रोकिएको छ।

मन्त्री साउद आइतबार राति ‘सेकेन्ड यूएन एलडीसी फ्युचर फोरम’मा सहभागी हुन फिनल्यान्ड जाने कार्यक्रम तय भएको थियो। तर परराष्ट्र मन्त्रालयले आइतबार साँझ विज्ञप्ति जारी गर्दै विशेष कारणवश परराष्ट्रमन्त्रीको फिनल्यान्ड भ्रमण रोकिएको जानकारी दिएको हो।

स्रोतका अनुसार गठबन्धनमा समस्या आएपछि मन्त्रीको भ्रमण रोकिएको हो। मन्त्रिपरिषद्का सदस्य परिवर्तन गर्ने विषयलाई लिएर सत्तारूढ गठबन्धनमा समस्या भएपछि मन्त्री साउदको भ्रमण रोकिएको स्रोतले जानकारी दियो।

मन्त्री साउदले उक्त फोरममा ग्लोबल कोअडिनेसन ब्युरो अफ द लिस्ट डेभलप कन्ट्रिज (अतिकम विकसित मुलुक–एलडीसी) को अध्यक्षको हैसियतमा उद्घाटन सत्रमा सम्बोधन गर्ने कार्यक्रम रहेको थियो। ‘तर सत्ता गठबन्धनमा समस्या आएपछि मन्त्रीज्यूले अहिले फिनल्यान्ड भ्रमण रोकिएकोे छ’ –परराष्ट्र स्रोतले भन्यो ।