फिल्मको नाममा सेन्सरबोर्डको अवरोध, फिल्मकर्मीद्वारा चर्को विरोध



काठमाडौं ।

केन्द्रीय चलचित्र जाँच समिति (सेन्सर बोर्ड)ले नाममा आपत्ति जनाउँदै रिलिजको मुखमा रंगेलीलाई सेन्सर सर्टिफिकेट दिन अस्वीकार गरेपछि फिल्मकर्मीले बोर्डको चर्को विरोध गरेका छन्।

गृह मन्त्रालयबाट सेन्सर बोर्डको प्रतिनिधित्व गरेका सेन्सर बोर्ड सदस्य एकदेव अधिकारीले शीर्षकको संवेदनशीलतालाई लिएर सो फिल्मलाई सेन्सर सर्टिफिकेट नदिएको बताएका छन्।

अधिकारीले फिल्मको छायांकन रंगेली नगरपालिकामा गरिएकाले स्थानीय सरकारको सहमति छ कि छैन बुझ्न खोजेको बताए। बोर्डका अर्का सदस्य ऋषिराज आचार्यले सुटिङस्थलको संवेदनशीलतालाई लिएर आफूहरूले कन्सेन्ट पेपर खोजेको बताए।

कागबेनी, नेपाल, द काठमाडौं, रोल्पा रोगजस्ता फिल्म निर्माण र सेन्सर पास भई रिलिज भइसकेको अवस्थामा रंगेलीको नामका आधारमा सेन्सर सर्टिफिकेट नदिएकोप्रति फिल्मकर्मीले सामाजिक सञ्जालमार्फत चर्को विरोध गरेका छन्।

‘रिप सेन्सर बोर्ड,’ फिल्म निर्माता तथा निर्देशक दीपेन्द्रकुमार खनालले फेसबुकमा लेखेका छन्। फिल्म निर्माता तथा अभिनेता रवीन्द्रसिंह बानियाँले फेसबुकबाटै सेन्सर बोर्डलाई व्यंग्य गरेका छन्,‘सूचन, सूचना, सूचना। फिल्ममा कुनै पात्रको नाम वा थर मेरोसँग मिल्ने कसैले राख्दै हुनुहुन्छ भने पहिला मलाई स्क्रिप्ट बुझाएर अनुमतिपत्र लिएर मात्र सुटिङमा जानुहोला। नत्र सेन्सर पास नहुने व्योहोरा जानकारी गराइन्छ।’

निर्माता, प्रदर्शक तथा नेपाल चलचित्र संघका पूर्वअध्यक्ष प्रदीपकुमार उदयले यसलाई दुर्भाग्यपूर्ण भनेका छन्। ‘ठाउँको नाम राखेको भरमा सेन्सर रोकिनु दुर्भाग्यपूर्ण। यस्तै, दुर्भाग्यपूर्ण नहोस् भनेर नै सेन्सर बोर्डमा फिल्मकर्मीको प्रतिनिधिसमेत रहने व्यवस्था गरिएको हो। कसरी र किन यस्तो भइरहेछ? एउटा सरकारी निकायले इजाजतपत्र दिने, अर्को सरकारी निकायले रोक्ने। यस्तो त नेपालमै हुन्छ।’

फिल्म निर्माता तथा अभिनेता दीपकराज गिरीले नामका आधारमा फिल्मलाई सेन्सर सर्टिफिकेट दिन अस्वीकार गरिनुलाई ‘सेन्सलेस’ भनेका छन्।

‘कश्मीर फाइल्स, उडता पन्जाव, दिल्ली बिल्लि। खै भारतमा त ठाउ“को नाममा टन्नै फिल्म बन्छ त। यो रंगेलीचाहिँ किन सेन्सरमा परेछ? सेन्सलेस सेन्सर बोर्ड।’ निर्देशक मनोज पण्डितले सेन्सर बोर्डलाई ‘पाकेको पिलो’ भन्दै व्यंग्य गरेका छन्।

‘फिल्मकर्मी साथीहरू हो, छिमेकीको घरमा पसेर मान्छे खाने बाघ कुनै दिन मेरो पनि घर पसेर मेरो परिवार पनि तहसनहस गर्न सक्छ भन्ने सोचौं र छिमेकीकोमा पस्दा मेरोमा पसेको होइन भनेर सिरक ओडेर नबसौं। यो सेन्सर बोर्डनामक स्रष्टाको अभिव्यक्ति स्वतन्त्रता खान पल्केको बाघलाई बाँधेर खोरमा थुन्न सबै एक जुट होऔं र आवश्यक परे सिने–अनसन बस्न पनि तयारी गरौं।’

फिल्म लेखक तथा समीक्षक यज्ञशले पनि कडा व्यंग्य कस्दै लेखेका छन् ‘लौ, बहुदलीय पञ्चायतमा स्वागत छ। हामी भन्दैछौं फिल्मको वर्गीकरण गर्। उदार र लोकतान्त्रिक समाज सुहाउने गरी जनतालाई नै छनोटको अधिकार देऊ, तर सरकारहरूलाई कसले बुझाइदिने?

प्रतिक्रिया दिनुहोस्