लौरियट्स एन्ड लिडर्स शिखर सम्मेलनको उद्देश्य लुम्बिनीको ब्राण्डिङ : मुख्यमन्त्री चौधरी 

182
Shares

बुटवल।

लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्ली बहादुर चौधरीले प्रदेश सरकारको स्वार्थ लुम्बिनीको प्रचार प्रसार र यसक्षेत्रको विकास रहेको भन्दै अर्को कुनै स्वार्थ नभएको बताएका छन् । उनले लुम्बिनी प्रदेश सरकारले आयोजना गर्न लागेको लौरियट्स एन्ड लिडर्स शिखर सम्मेलनको एकमात्र उद्देश्य लुम्बिनीको ‘ब्राण्डिङ’ गर्ने रहेको बताए ।

विभिन्न मुलुकका ९ जना नोबेल शान्ति पुरस्कार विजेता सहित विदेशी दातृ निकायका प्रतिनिधिहरुको समेत सहभागितामा लुम्बिनी प्रदेश सरकारले यही फागुन २८ र २९ गते लुम्बिनीमा लौरियट्स एण्ड लिडर्स चौथो शिखर सम्मेलन आयोजना गर्दै छ । शिखर सम्मेलनबारे प्रदेश सरकारका सत्ता साझेदार राजनीतिक दल तथा विभिन्न क्षेत्रबाट हुने गरेका टिका टिप्पणीबारे प्रस्ट्याउँदै मुख्यमन्त्री चौधरीले लुम्बिनीमा हुने शिखर सम्मेलन शान्ति र बालबालिकाको विषयमा मात्र सम्बन्धित रहेको र लुम्बिनीको ब्रान्डिङ्गबाहेक केही नरहेको दाबी गरे । शान्तिभूमि लुम्बिनीलाई विश्वसामु परिचित गराउन ‘बालबालिका, विकास र शान्तिको लौरियट्स एण्ड लिडर्स चौथो शिखर सम्मेलन आयोजना गरिएको उन को भनाई थियो ।

मुख्यमन्त्री चौधरीले शिखर सम्मेलनको माध्यमबाट विदेशी दातृ निकायहरु लुम्बिनीमा लगानीका लागि आकर्षित हुने र यसक्षेत्रको समृद्धिमा पनि सम्मेलन फलदायी हुने दाबी गरे । उनका अनुसार  सम्मेलनमा विभिन्न देशका ९ जना नोबेल शान्ति पुरस्कार विजेताहरु लुम्बिनी आउने निश्चित भइसकेको छ । सम्मेलनमा ३ सय जना विज्ञहरु सहभागी हुनेछन् । सम्मेलनमा विभिन्न देशका २ सय भन्दा बढी विकास साझेदार सहभागी हुने निश्चित भइसकेको छ ।

उनीहरुलाई लुम्बिनीमा मात्र नभई पाल्पा, प्युठानको स्वर्गद्वारी, बर्दिया राष्ट्रिय निकुञ्ज लगायतका क्षेत्रमा अवलोकनको लागि लैजाने कार्यक्रम रहेको छ । फागुन २८ गते लुम्बिनी सम्मेलन केन्द्रमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले उद्घाटन गर्ने सो शिखर सम्मेलनमा शान्ति र बालबालिकाका विषयमा १० वटा कार्यपत्र प्रस्तुत हुनेछन् । सम्मेलनका लागि प्रदेश सरकारले बजेटमै ६ करोड ५० लाख रुपैयाँ छुट्टाएको भएपनि विभिन्न दातृ निकायबाट सहयोग जुटेपछि सरकारको २ करोड रुपैयाँभन्दा बढी खर्च नहुने मुख्यमन्त्री चौधरीको भनाई छ ।