च्छो– रोल्पा अस्पतालमा धानीमायाको निःशुल्क अप्रेसन

532
Shares

चरिकोट ।

आर्थिक अभावकै कारण विगत एक वर्षदेखि  पाठेघरमा पलाएको ट्युमरको पीडा सहेर बस्न बाध्य सिन्धुपाल्चोक साँगागढीचोक नगरपालिका वडा नम्बर– ८ की धानीमाया तमाङको चरिकोट स्थित च्छो– रोल्पा अस्पतालले निःशुल्क अप्रेसन गरिदिएको छ ।

पाठेघरको ट्युमरका कारण आमाले विगत एक वर्षदेखि पेटको पीडा खप्दै आउनु भएको थियो छोरा अनिल लामाले भने– दोलखा सदरमुकाम चरिकोटको च्छो– रोल्पा अस्पतालमा डा. विनोद दंगालको टिमले निःशुल्क अप्रेसन गरी सात केजीको ट्युमर निकालिदिएपछि आमाले नयाँ जीवन पाउनु भएको छ ।

६७ वर्षीय धानीमाया तमाङको परिवार आर्थिक रुपमा अत्यन्तै नाजुक रहेकोले साँगागढीचोक नगरपालिका वडा नम्बर– ८ ले सहुलियतको लागि सिफारीस गरिदिएपछि अनिल आमाको उपचारको लागि शुक्रवार चरिकोट स्थित च्छो– रोल्पा अस्पताल आएका हुन् ।

चरिकोटको च्छो– रोल्पा अस्पतालले पाठेघरको ट्युमरको निःशुल्क अप्रेसन नगरिदिएको भए आर्थिक अभावककै कारण अरु कतिबर्ष आमाले पीडा खप्नुपर्ने थियो छोरा अनिलले भने– निजी अस्पतालले आमाको निःशुल्क अप्रेसन गरिदिएर हामी विपन्न परिवारलाई खुशी दिएको छ ।

विपन्न वर्गको मानिसले आर्थिक अभावकै कारण रोग पालेर बस्न नपरोस भन्ने उदेश्यले धानीमायाको निःशुल्क शल्यक्रिया गरिएको अस्पतालका मेडिकल डाईरेक्टर डा. विनोद दंगालले बताए । धानीमायालाई एक वर्ष अघि देखि पाठेघर सम्बन्धि समस्या देखिएको रहेछ, डा. दंगालले भने– आर्थिक अवस्था कमजोर भएकै कारण उपचार गर्न नसकेको देखिएपछि निःशुल्क शल्यक्रिया गरिदिएको हो ।

च्छो–रोल्पा अस्पतालले औषधिको केही शुल्क बाहेक शल्यक्रिया सहित अन्य खर्च नलिएको डा.दंगालको भनाई छ । धानीमायाको पाठेघरको ट्युमरको अप्रेसन अन्य अस्पतालमा गरिएको भए झण्डै ७० हजार खर्च हुने डा. दंगालले बताए ।

च्छो– रोल्पा अस्पतालले कमजोर आर्थिक अवस्था भएका विपन्न वर्गलाई विगत देखिनै सहुलियत सहित निःशुल्क उपचार सेवा दिने गरेको र धानीमायालाई पनि त्यसैगरी निःशुल्क अप्रेसन गरिदिएको अस्पतालका अध्यक्ष पृथ्वी बहादुर श्रेष्ठले बताए ।