वडामा खेलमैदान

112
Shares

हेटौँडा ।

खेलाडी उत्पादन र पूर्वाधार निर्माणमा चासो देखाएकी नगर प्रमुख मीनाकुमारी लामाले हेटौँडा–११ मा तिल्केश्वर खेलमैदान शिलान्यास गरेकी छन् ।
चालु आर्थिक वर्ष २०८०/०८१ मा उपमहानगरले विनियोजन गरेको बजेटमार्फत निर्माण हुने मैदानको शनिवार नगर प्रमुख लामाले शिलान्यास गरेकी हुन् । उपमहानगरले चालु आर्थिक वर्षमा छुट्टाएको १५ लाखसहित उपभोक्ता तथा अन्य गरी १६ लाख ६७ हजार ८ सय ४९ रुपियाँ लागतमा वैशाखसम्म मैदान निर्माण गर्ने लक्ष्य छ ।

मैदान शिलान्यास गर्दै नगर प्रमुख लामाले उपमहानगरले खेल र खेलाडीका लागि आवश्यक बजेट छुट्याएर काम गरिरहेको बताइन् । उनले उपमहानगरले नगरका विभिन्न वडामा रहेका मैदानलाई व्यवस्थित गर्नका लागि बजेट विनियोजन गर्दै काम अघि बढाइएको बताइन् । खेलमैदानलाई व्यवस्थित गर्दै खेलाडी उत्पादन गर्ने काममा उपमहानगर रहेको उनले बताइन् ।

शिलान्यास कार्यक्रममा वडा अध्यक्ष जुना दाहालले हाल प्रारम्भ भएको मैदानको कामलाई अघि बढाउन आवश्यक सहयोग गर्ने बताइन् । नगरबाट आएको बजेटबाट काम थालिए पनि आगामी समयमा वडाको पनि समन्वय र सहकार्य रहने उनले बताइन् । मैदान निर्माण गर्नसके वडाबाट खेलाडी उत्पादनमा सहयोग पुग्ने उनको भनाइ थियो ।

नगर प्रमुख लामाले शिलान्यास गरेसँगै मैदान निर्माणको काम अघि बढ्ने निर्माण समिति अध्यक्ष विज्ञानकुमार नेपालले जानकारी दिए । उनका अनुसार मैदानको पश्चिम भागमा रहेका खाडललाई पुर्ने कामसँगै हालका लागि भलिबल, टेबलटेनिस र फुटसलका लागि मैदानलाई व्यवस्थापन गरिने छ । चालु वर्ष छुट्याइएको बजेटमार्फत पहिलो चरणको काम र आगामी वर्षका लागि पनि बजेट माग गर्नु आवश्यक रहेको उनले बताए ।

मैदान निर्माण समिति अध्यक्ष नेपालको सभाध्यक्षतमा भएको कार्यक्रममा वडा सदस्यद्वय सञ्जय बिडारी र विकास नेपाल, डाङ्डुङे सामुदायिक बन अध्यक्ष शालिकराम पुडासैनी, टोल विकास संस्था नगर समन्वय समिति उपमहासचिव देवकुमार श्रेष्ठ, टोल विकास संस्था वडा समन्वय समिति संयोजक यज्ञबहादुर आचार्य र भैरवकुञ्ज टोल विकास संस्था अध्यक्ष मेघनाथ रेग्मीलगायतको आतिथ्यता थियो ।