जिल्ला अस्पतालमा जाँदैनन् बिरामी

126
Shares

रामेछाप ।

रामेछापको जिल्ला अस्पताल सुविधा सम्पन्न बन्दै गएको छ । तर,अस्पताल अपायक स्थानमा भएपछि नागरिकको रोजाइमा अन्य अस्पताल परेका छन् ।
रामेछापको पुरानो सदरमुकाम रामेछाप बजारमा रहेको अस्पतालमा ५ शय्या आकस्मिक, २५ शय्याको वार्ड, २ शय्याको आइसियु र ५ शय्याको डायलिसिस गरी जम्मा ३७ शय्याको रहेको छ । बाग्मती प्रदेश सरकारले सञ्चालन गर्ने उक्त अस्पताल आफ्नो सेवा सुविधा विस्तार गर्दै गए पनि नागरिकको रोजाइमा पर्न भने सकेको छैन ।

जिल्ला अस्पताल रामेछापले दिएको तथ्याङ्क अनुसार आर्थिक वर्ष २०७९-०८० मा २० हजार ४१४ जनाले सेवा लिएका थिए । भने चालु आर्थिक वर्षको मङ्सिरसम्म जम्मा १० हजार ६३५ जनाले स्वास्थ्य उपचार सेवा लिएका छन् । यो तथ्याङ्कलाई हेर्दा यो अस्पतालबाट दैनिक ७१ जना र मासिक २ हजार १२७ जनाले स्वास्थ्य उपचार सेवा लिइरहेका छन् । अपेक्षित मात्रामा स्वास्थ्य सेवा लिने नागरिक अस्पताल नपुग्दा वर्षे नि अस्पतालमा विभिन्न सेवा सञ्चालनका लागि आएको करोडौँ बजेट फ्रिज समेत जाने गरेको छ ।

अस्पतालका निमित्त मेडिकल सुपरिटेन्डेन्ट डा. केशव श्रेष्ठ अस्पतालबाट उपलब्ध हुने सेवाका बारेमा आम नागरिकमा जानकारी नहुँदा अपेक्षित रूपमा अस्पतालमा बिरामी नआएको बताउँछन् ।

उनले भने ‘‘जिल्ला अस्पताल रामेछाप सुविधा सम्पन्न बन्दै गएको छ । यो अस्पतालबाट निःशुल्क रूपमा धेरै सेवा प्रवाह भइरहे पनि यसका बारेमा सबै नागरिकलाई जानकारी नहुँदा यही पाइने सेवा लिन काठमाडौँ लगायतका अस्पताल गइरहेका छन् ।’’ यातायातको असुविधाको कारणले पनि अस्पतालले प्रवाह गर्ने सेवाहरू सेवाग्राहीको पहुँचमा पुग्न नसकेको उनको भनाइ छ ।