तीनै तहका सरकारले पर्यटनलाई आर्थिक समृद्धिको मुख्य एजेन्डा बनाउन व्यवसायीको सुझाव

70
Shares

बुटवल ।

तीनै तहका सरकारले पर्यटनलाई आर्थिक समृद्धिको मुख्य एजेन्डा बनाएर प्राथमिकतामा राख्नु पर्नेमा  पर्यटन व्यवसायीले जोड दिएका छन् ।

नेपालको प्राकृतिक सुन्दरता, भौगोलिक र सांस्कृतिक विविधता,हावापानी आदि कारणले अन्य क्षेत्र भन्दा पर्यटनमा ठूलो संख्यामा विदेशी पर्यटकलाई आकर्षित गर्न सकिने र त्यसबाट पर्याप्त विदेशी मुद्रा आर्जन र रोजगारी सिर्जना हुने रुपन्देही र इलामका पर्यटन व्यवसायीहरुले बताएका छन् ।अन्य क्षेत्र भन्दा तुलनात्मक लाभका दृष्टिले पर्यटन नै नेपालका लागि समृद्धिको सजिलो माध्यम भएको र यसबाट सरकार र व्यवसायी दुबैले छिटो  लाभ लिन सक्ने उनीहरुको तर्क छ ।

इलामको पर्यटन प्रवर्द्धनका लागि रुपन्देही आएको टोलीलाई नेप्लिज होटेलियर्स एशोसिएसन (एनएचए) लुम्बिनीले स्वागत गर्न आयोजित कार्यक्रममा दुबै जिल्लाका होटेल तथा पर्यटन व्यवसायीहरुले सरकारले पर्यटनलाई पहिलो प्राथमिकतामा राखेर काम गर्ने हो भने देशको अर्थतन्त्रमा छिटै परिवर्तन आउने बताएका हुन् ।

तत्कालका लागि अरु देशका भन्दा भारतका पर्यटक नै नेपालको पर्यटनका मुख्य आधार भएकाले भारतीय पर्यटकलाई सहज तरिकाले आउन, घुम्न र चाहे जति पैसा खर्च गर्न पाउनुपर्ने व्यवस्था सरकारले मिलाइदिनुपर्ने दुबै ठाउँका पर्यटन व्यवसायीले माग गरेका छन् ।
एनएचए लुम्बिनीका अध्यक्ष प्रणिबहादुर पाठकले सरकारले नीतिगत सुधार गरि पर्यटकमैत्री बनाइदिनुपर्ने र व्यवसायीले पनि नौला पो्रडक्ट र गुणस्तरीय सेवा दिन सक्नुपर्ने बताए । सरकारको मात्रै मुख ताकेर नहुने भएकाले आफूहरुले प्रोमोटिङ इच अदर को नारा अनुसार देशका प्रमुख पर्यटकीय स्थानका व्यवसायीहरुबीच सहकार्य गरेर कनेक्टिभिटी गरेर पर्यटकको बसाई अवधि लम्ब्याउने अभियानमा रहेको बताए ।

एनएचएका उपाध्यक्ष दिलिप गौचनले नेपालमा पर्यटनबाट व्यवसायी र देशले विदेशी मुद्रा आर्जन गर्नसक्ने र ठूलो संख्यामा रोजगारी सिर्जना हुने प्रचूर संभावना भएको तर सरकारले अहिलेसम्म पर्यटनलाई मुख्य एजेन्डा नबनाउँदा पर्यटन क्षेत्र पछि परेको बताए ।

कार्यक्रममा होटल व्यवसायी संघ इलामका अध्यक्ष देवी पौडेलले इलाम पनि पर्यटकीय दृष्टिले धेरै राम्रो संभावना बोकेको जिल्ला भएपनि कन्याम वाहेक अरु थुप्रै महत्त्वपूर्ण पर्यटकीय क्षेत्रसम्म पर्यटक पुग्न नसकेको बताए ।

इलाममा भारत,भुटान र चीन गरी तीन देशको भूगोल एकसाथ हेर्न सकिने सन्तकपुर हिमाल,नेपालको पुरानो चिया प्रशोधन उद्योग,किरातहरुको आस्थाको धरोहर माङसेबुङ,पाण्डवहरु बसेको माइ पोखरी,अन्तु हिमाल लगायत पर्यटकीय स्थान रहेका जानकारी गराए ।