‘विराटनगरको खस्कँदो शाखलाई फर्काउन लागिपरेको छु’



नागेश कोइराला मेयर विराटनगर महानगरपालिकाका, विराटनगर

सबैभन्दा नजिकको सरकारका रूपमा रहेको स्थानीय सरकारबाट जनताका धेरै नै अपेक्षा रहेको पाइन्छ। घरदैलोमै भेटिने भएकाले पनि स्थानीय सरकारसित जनताका अपेक्षा धेरै भएको देखिन्छ। पछिल्लोपटक जनप्रतिनिधिले कार्यभार सम्हालेको पनि २० महिना पूरा भएको छ।

सधैं भेटिने भएकाले जनताले स्थानीय सरकारका हरेक गतिविधिलाई नजिकबाट नियालिरहेका हुन्छन्। संविधानले स्थानीय तहलाई अधिकार दिए पनि बजेट अभावले कार्य गर्न समस्या भइरहेको विराटनगर महानगरपालिकाका मेयर नागेश कोइरालाको बुझाइ छ।

प्रस्तुत छ, स्थानीय तह सञ्चालन गर्दा हालसम्मको अनभुव, स्थानीय सरकारको दायित्व, चुनौती, अवसरलगायतका विषयमा केन्द्रित रहेर जिल्ला संवाददाता हरिहर नेपालले उहाँसँग गरेका कुराकानीको सम्पादित अंश :

कार्यभार सम्हालेपछि अहिलेसम्म के–के गर्नुभयो ?
धेरै नै काम भएका छन् । सुशासन, जवाफदेहिता र जिम्मेवारीलाई मैले उच्च प्राथमिकतामा राखेर काम गरेको छु । कर्मचारी साथीहरूले विगतमा कसले के गर्नुभयो मलाई थाहा छैन । तर, म आइसकेपछि सबैले इमानदारिताका साथ आफ्नो जिम्मेवारी पूरा गरिरहेका छन् । हामी जनप्रतिनिधिले नीति बनाउने हो, त्यसको कार्यान्वयन त कर्मचारीहरूले गर्ने हो । सीमित स्रोत र साधनका बीच पनि हामीले महानगरवासीका असीमित चाहना परिपूर्ति गर्न लागिपरेका छौं ।
फुटपाथ नियन्त्रण गरेर पसल अगाडिको सेटव्याक हटाएका छौं । जसले गर्दा आवत–जावत गर्न सहज भएको छ। ‘उज्यालो विराटनगर’अन्तर्गत महानगरका मुख्य सडकमा बत्ती लगाएका छौं । रातको समयमा हवाई जहाजबाट हेर्दा सबैभन्दा उज्यालो यहाँहरूले देख्नुभयो भने त्यो विराटनगर हो । यससँगै लत्रिएका तारको व्यवस्थापन गरेका छौं । सरसफाइलाई प्रभावकारी रूपमा अगाडि बढाइरहेका छौं । १९ वटै वडामा अधिकृतस्तरका सचिवको व्यवस्था, कर संकलन अभियान सञ्चालन गरेर आन्तरिक आय वृद्धि, भौतिक पूर्वाधारको निर्माणसँगै स्वास्थ्य, शिक्षालगायमा महत्वपूर्ण र दूरगामी प्रभाव पार्ने काम भएका छन्।

सडकलाई पार्किङ निषेध गर्नुभएको थियो, तर अहिले फेरि सडकमै सवारी पार्किङ भएको देखिन्छ किन यस्तो होला?
सडक भनेको सवारीसाधन आवत–जावतका लागि हो । सडकमा पार्किङ निषेध गर्दा आवत–जावत गर्न सहज भएको थियो । तर, महानगरपालिकाको एक्लो प्रयासले मात्रै नहुँदो रहेछ । हामीले जनताका लागि काम गर्ने हो । सडकमा पार्किङ निषेध गर्दा विराटनगरको व्यापार भएन भनेर व्यापारीहरूले व्यापक गुनासो गरे । महानगरको निर्णयकै कारण व्यापारीले सटर बन्द गर्नुपर्ने अवस्था आयो भन्ने गुनासो पनि आयो । ज्ञापनपत्र पनि दिन आउनुभयो । हाम्रा कारणले व्यापारी पलायन नहोउन् भन्ने नै हो । त्यही भएर हामीले पार्किङलाई पूर्ववत् अवस्थामै छाडिदियौं । तर मलाई अचम्म लाग्छ अहिले अझै सटरहरू खाली देख्छु । रोडमा हिँड्दा ‘भाडाका लागि सटर खाली छ’ भनेर लेखिएका खाली सटरहरू जताततै देखिन्छ । आखिर पार्किङका कारण त व्यापार नभएको त होइन रहेछ नि ।

विराटनगर महानगरपालिका भएर पनि आर्थिक रूपमा चाहिँ किन कमजोर ?

विराटनगर महानगरपालिकाको आन्तरिक स्रोत एकदमै कमजोर छ । जबसम्म महानगरको आन्तरिक स्रोत बलियो हुँदैन तबसम्म जनअपेक्षा अनुसार कार्य गर्न सक्दैनौं । जनताका आकांक्षा पूरा गर्न हामीसित पर्याप्त बजेट हुनुपर्छ । बजेट नभएपछि जनताका आकांक्षा पूरा गर्न निकै गाह्रो हुँदोरहेछ । तर पनि सीमित स्रोत र साधनबाट पनि जनताका असीमित चाहना परिपूर्तिमा लागिपरेका छौं । अघिल्लो आर्थिक वर्ष हामीले ६४ करोड ५ लाख राजस्व संकलन गरेका थियौं । त्यसमध्ये ३५ करोड पुरानो दायित्व भुक्तानी गरेका छौं । पुरानो दायित्व सिर्जना भई आएका योजना तथा कार्यक्रमहरूको भुक्तानी अझै पनि भइरहेको छ । आर्थिक वर्ष २०७८÷७९ सम्म रहेको १ अर्ब ६३ करोड ५७ लाख बेरुजुमध्ये १ अर्ब १९ करोड ४२ लाख अर्थात् ७३ प्रतिशत फछ्र्यौट गर्न सफल भएका छौं । बेरुजु फछ्र्यौट गर्ने महानगरपालिकाहरूमध्ये विराटनगर दोस्रो भएको छ । आगामी दिनमा बेरुजुलाई शून्यतातर्फ लाने प्रयन्त गरिरहेका छौं । महानगरले चालू आर्थिक वर्षको ६ महिनामा २१ करोड ७ लाख ९६ हजार रुपियाँ आन्तरिक राजस्व संकलन गरेको छ । महानगरले चालू आर्थिक वर्ष ८९ करोड ५० लाख रुपियाँ राजस्व संकलन गर्ने लक्ष्य राखेको छ । पुस मसान्तसम्म लक्ष्यको २३ दशमलव ५५ प्रतिशतमात्रै आन्तरिक राजस्व संकलन गरेका छौं । यो हिसाबले आन्तरिक राजस्वमा लक्ष्य पूरा गर्न निकै कठिन देखिएको छ ।

बजेट अभावकै कारण प्रमुखले बनाउने (नगरस्तरीय) बजेट नबनेको हो ?

त्यसको मुख्य कारण भनेको बजेट अभाव नै हो । कागजमा मात्रै बजेट बनाएर भएन । स्रोत हुनुपर्‍यो । नगरस्तरीय बजेट नबन्दा विगतदेखि पाउँदै आएका धेरै संघ–संस्थाले यसपटक बजेट पाएनन् । बजेट भई–भई नदिएको होइन ।

बजेट अभावका बीच विकास निर्माणका कार्यचाहिँ कसरी अगाडि बढिरहेका छन् ?

हामीसित भएको स्रोत अनावश्यक क्षेत्रमा खर्च गरेका छैनौं । हामीसँग भएको सीमित स्रोत र साधनलाई महानगरवासीको हितमा अधिकतम प्रयोग गरिरहेका छौं । सीमित स्रोतबाटै भए पनि भौतिक पूर्वाधार निर्माणको कार्यलाई तीव्रता दिइरहेका छौं । रानीपोखरी, मण्ठापोखरी, प्रधानमन्त्री पार्क, बाल उद्यान, सन्ध्याकालीन आरती स्थल, महानगरको प्रशासनिक भवन, बहुप्राविधिक विद्यालय, विराटनगर ५ र ६ स्थित बीएफएम अगाडिको सडक, विराटनगर–१३ स्थित आँखा अस्पताल अगाडिको सडक, विराटनगर–८ स्थित विश्वकर्मा चोकदेखि रेल्वे हुँदै सिंघियासम्मको सडकसहित १ अर्ब १५ करोडभन्दा बढी विभिन्न योजनाहरू कार्यान्वयनको चरणमा रहेका छन् ।

महानगरको प्रशासनिक भवनको हालसम्म ३५ प्रतिशतभन्दा बढी निर्माण कार्य सम्पन्न भइसकेको छ । आगामी आर्थिक वर्षभित्र निर्माण सम्पन्न गरी नयाँ प्रशासनिक भवनबाट कार्य प्रारम्भ गर्ने लक्ष्य रहेको छ । करिब २२ करोड लागतको वीरेन्द्र सभागृह निर्माण सम्पन्न भई हस्तान्तरणको चरणमा पुगेको छ । विराट राजाको दरबार परिसरमा झन्डै १ करोड लागतमा पोखरी निर्माण भइसकेको छ । विराटनगरवासीलाई स्वच्छ खानेपानी उपलब्ध गराउने हाम्रो प्रतिबद्धतानुसार जाइकाको आर्थिक सहयोगमा निर्माण हुने खानेपानी आयोजना ठेक्का प्रक्रियामा गइसकेको छ । सडक, ढल, नाला तथा फोहोर व्यवस्थापनका लागि संघीय सरकारमार्फत दातृ संस्थाको सहयोग जुटाउनका लागि पहल भइरहेको छ । विराटनगरको विकासका लागि अन्य दातृ निकायसित पनि निरन्तर संवाद र छलफल भइरहेको छ ।

अन्य क्षेत्रको विकासको अवस्थाचाहिँ के छ ?

भौतिक विकास सँगसँगै मानव विकास पनि हुनु जरुरी छ । हामीले मानव विकासलाई पनि प्राथमिकतामा राखेर काम गरिरहेका छौं । खास गरी शिक्षा र स्वास्थ्य क्षेत्रको विकासलाई उच्च प्राथमिकतामा राखेका छौं । शिक्षाको कुरा गर्नुहुन्छ भने सामुदायिक विद्यालयको गुणस्तर वृद्धिका लागि पहल भइरहेका छन् । हाम्रो प्रयासका कारण सामुदायिक विद्यालयको गुणस्तरसँगै भौतिक पूर्वाधारको विकास निकै भएको छ । कक्षा ११ को छात्रवृत्ति छनोटको परीक्षा हामी आफैंले लियौं । महानगरले यसअघि कहिल्यै पनि छात्रवृत्तिको परीक्षा लिएको थिएन । यो कार्यले राज्यले तोकेको छात्रवृत्तिको सुविधा लक्षित वर्गले पाएका छन् ।
महानगरका सबै सामुदायिक विद्यालयका सम्पूर्ण कक्षाकोठामा पंखा जडान गर्ने कार्य पनि भइरहेको छ । पाठ्यक्रमको पढाइ मात्रै सबै होइन भनेर हामीले विभिन्न खेलकुद प्रतियोगिता (राष्ट्रपति रनिङ सिल्ड), लोकनृत्य प्रतियोगिता, चित्रकला प्रतियोगिता, विज्ञान प्रदर्शनी जस्ता कार्य गरेका छौं । अब स्वास्थ्यको कुरा गर्ने हो भने रानी प्राथमिक स्वास्थ्य केन्द्र र बैजनाथपुर स्वास्थ्य चौकीलाई अस्पतालमा स्तरोन्नति गरेर सुविधा थप गरेका छौं । रानी अस्पतालमा निःशुल्क फिजियो थेरापी उपलब्ध गराउँदै आएका छौं । अघिल्लो वर्ष १९ वटै वडामा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरेका थियौं । यस वर्ष पनि जारी छ । विराटनगरलाई मोतियाबिन्दुमुक्त नगर बनाउने अभियान शुरू भएको छ । विराटनगर आँखा अस्पतालको प्राविधिक सहयोगमा १९ वटै वडामा निःशुल्क आँखा शिविर सञ्चालन गरी मोतियाबिन्दु पहिचान भएकालाई निःशुल्क शल्यक्रिया गर्ने कार्य जारी छ ।

डुबान समस्या समाधानका विषयमा के गर्दै हुनुहुन्छ ?

विराटनगरको पूर्वमा सिंघिया र पश्चिममा केशलिया पर्दछ । दुईवटा नदीको बीचमा विराटनगर पर्दछ । त्यसो भएकाले हरेक वर्षको वर्षायाममा दुवै खोलाको बाढी विराटनगरमा पस्दछ । डुबानको प्रमुख कारण भनेको यिनै दुई वटा खोला हुन् । यी दुवै खोलामा तटबन्ध निर्माण नगरेसम्म विराटनगरको डुबान समस्या दीर्घकालीन रूपमा समाधान हुँदैन । हामी निर्वाचित भएर आइसकेपछि पश्चिमतर्फको केशलिया खोलामा करिडोरसहितको तटबन्ध निर्माण गर्ने प्रक्रिया सुरु भइसकेको छ । यसमा स्विस सरकारले सहयोग गर्ने भएको छ । त्यसका लागि डीपीआर बनाउने काम भइरहेको छ । सिंघिया खोलाको किनारमा सुकुम्बासी बस्ती धेरै भएकाले उनीहरूको व्यवस्थापन नगरी तटबन्ध निर्माण गर्न गाह्रो छ । त्यसका लागि पनि पहल भइरहेको छ । दुईवटा खोलामा तटबन्धन बनाउने हो भने विराटनगरमा डुबान हुँदैन ।

हिउँद लागेको छ, यो समयमा आगलागीका घटनाहरू बढी हुने गरेका छन् । यसको नियन्त्रणमा के कार्य भएका छन्?

महानगरको वारुणयन्त्र चुस्तदुस्त अवस्थामा छ। सुख्खा मौसममा हुने आगलागीप्रति हामी सचेत छौं । यो विषयमा आमसर्वसाधारण पनि सचेत हुनुपर्छ । वारुणयन्त्र छिर्न अवरोध हुने गरी सडकमा निर्माणसहित अन्य सामग्री राख्नु भएन । दैवीविपत्ति बाजा बजाएर आउँदैन । जुनसुकै बेला घटना घट्न सक्छ । त्यसका लागि आफैं पनि सचेत हुनुपर्छ ।

महानगरवासीबाट कतिको सहयोग पाउनुभएको छ ?

सरसफाइ, उज्यालो विराटनगर, हराभरा विराटनगर, फुटपाथसहितको व्यवस्थित विराटनगर, सार्वजनिक स्थलमा सुर्तीजन्य पदार्थको बिक्री–वितरण र सेवनमा रोकलगाउने जस्ता महत्वपूर्ण अभियान सञ्चालन ग¥यौं । तर, यसमा विराटनगरवासीको सहयोग त्यति पाएनौं । आफ्नो घर र कार्यालय अगाडि सफा राखेर दुई वटा गमला राखौं भनेर मैले हरेक सार्वजनिक कार्यक्रममा महानगरवासीलाई भन्दै आएको छु । हरेक घर अगाडि सफा हुने हो र गमला राखिदिने हो भने कति सुन्दर हुन्थ्यो विराटनगर । घरभित्रबाट फोहोर ल्याएर सडकमा फ्याल्ने संस्कार हटेको छैन । जसले सडकमा फोहोर फ्याल्छ उसले नै महानगरले सफा गरेर भनेर हामीलाई गाली गर्ने गरेका छन् । सफा, सुन्दर, हराभरा, उज्यालो, व्यवस्थित र विकसित बनाउने महानगरको अभियानमा साथ दिन सबै विराटनगरवासीलाई आग्रह गर्दछु ।

पुरानो र ऐतिहासिक शहर भएर पनि विराटनगर किन पछि परेको होला ?

आर्थिक, राजनैतिक, सामाजिक, सांस्कृतिकलगायतका क्षेत्रमा विराटनगरको अतुलनीय योगदान रहेको छ । १९९३ सालमा विराटनगर जुटमिल स्थापना भएसँगै नेपालमा आधुनिक औद्योगिक क्रान्ति शुरु भएको हो । सोही उद्योगबाट गिरिजाप्रसाद कोइराला, मनमोहन अधिकारीलगायतले शुरु गरेका मजदुर हड्तालकै कारण २००७ सालमा एकतन्त्रीय राणा शासनको अन्त्य भई प्रजातन्त्र स्थापना भएको हो । विराटनगरले देशलाई धेरै नै दियो । तर, अहिले यसो सोच्दा देशले विराटनगरलार्ई खासै दिएको रहेनछ भन्ने मलाई लाग्दछ । कुनै बेला देशको दोस्रो ठूलो शहर थियो । तर, अहिले त्यो पनि रहेन । विराटनगरको खस्कँदो शाखलाई फर्काउन म लागिपरेको छु । तर, विराटनगरको सोचेजस्तो किन विकास हुन सकेन भन्ने विषय निकै नै सोचनीय छ । विराटनगरले आफ्ना लागि भन्दा देशका लागि बढी सोचेर पनि पछि परेको हो कि जस्तो लाग्छ ।

विराटनगरमा आर्थिक विकासको सम्भावना कस्तो देख्नुहुन्छ ?
आर्थिक विकासको प्रचुर सम्भावना छ । जोगबनी–किमाथांका सडक निर्माण हुँदै छ । यो सडक निर्माण भइसकेपछि विराटनगर चीन र भारतको व्यापारिक केन्द्र बन्ने छ । भौगोलिक बनावटका कारण किमाथांका सडक बाह्रैमहिना सञ्चालन हुनसक्छ । साथै चीन र भारतलाई जोड्ने सबैभन्दा छोटो दूरीको पनि सडक हो यो । कोशी प्रदेशको राजधानी भएकाले प्रदेशमा भएका सम्भावनाको फाइदा विराटनगरले लिन सक्छ । विश्वको सर्वोच्च शिखर सगरमाथा यही प्रदेशमा अवस्थित छ । सगरमाथा मात्रै होइन ८ हजार मिटरभन्दा माथिका ८ वटा हिमाल त यसै प्रदेशमा छन् । विराटनगर विमानस्थललाई क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलका रूपमा स्तरोन्नति गर्न सकियो भने बाह्य पर्यटक पनि आउँछन् ।
धार्मिक पर्यटनको पनि उत्तिकै सम्भावना छ । हलेसी, पाथिभरा, बराहक्षेत्र पनि यही प्रदेशमा छ ।

प्रतिक्रिया दिनुहोस्