नेतृत्व र व्यवस्थाविरुद्धको आक्रोश



काठमाडौं ।

नेपालमा लोकतान्त्रिक आन्दोलनमा धेरै सन्ततिहरुले बलिदान गरेका छन्। हालका राष्ट्रिय मान्यताप्राप्त दलहरूका लागि नेपाली जनता आफ्नो प्राण उत्सर्ग गर्न पनि तयार रहेका र धेरै नेपालीले लोकतान्त्रिक आन्दोलनमा सहादत प्राप्त गरेका छन्।

यसरी ठूलो त्याग र तपस्यापश्चात् प्राप्त नेपालको लोकतन्त्र विकृतिमय बन्दै गएको छ । राष्ट्र, राष्ट्रियता र लोकतन्त्रप्रति हालका राजनीतिक दलहरू इमानदार देखिएका छैनन्। राजनीतिक पात्रहरुको गलत रवैयाका कारण लोकतान्त्रिक प्रणालीमै प्रश्न उठ्न थालेको छ।

राजनीतिक दलहरूका नेताहरुलाई आफ्नो लामो त्यागबाट देशमा लोकतन्त्र प्राप्त भएको हो । आफ्ना दलको सञ्जाल विस्तारित भएको र कार्यकर्ताहरुको समर्थनमा शासनमा पटक–पटक पुग्न सकिने गलत सोच रहेको छ।

यी सरकारमा पटक–पटक पुगेकाहरुले देशमा अत्यन्त ज्यादा विसंगति फैलाएकोमा युवापुस्ता आक्रोशित छ। उनीहरुमा लोकतन्त्र प्राप्तिका लागि गरेको त्यागलाई लोकतन्त्रकै उपहास हुने गरी शासन सत्ता सञ्चालन गर्न नहुने बुझाइ रहेको छ । यस्ता युवाहरुको संख्या दिनानुदिन बढिराखेको छ।

अमुक दलका नेताहरू कति वर्ष कारावासको दण्डमा परे ? निर्वासित जीवन बिताउनुपरेको र जेलनेललगायतको पीडा भोग्नुपरेको सन्दर्भलाई महत्व दिन चाहँदैनन्। देशमा सुशासन कायम हुनुपर्ने, यिनै नेताहरुको अकर्मण्यताबाट देशको अवस्था दयनीय बन्दै गएको आक्रोश उनीहरूमा छ। तर प्रायः सबै दलहरूका नेतृत्व तहमा रहनेहरू सत्तामा पुगेर अवसरको दुरुपयोग गर्न एकसूत्रीय हिसाबले लागिपरेका छन्।

लामो समयसम्म पटक–पटक नेपाली नागरिकले यी दलका नेताहरुलाई साथ दिए । तीनपटकसम्म नेपालीहरू सडकमा आए। नेताहरुको त्यागले मात्र देशमा लोकतन्त्र आएको किमार्थ होइन । जनताको बलिदानीले लोकतन्त्र प्राप्त गर्न सहज बनाएको हो। हरेक आन्दोलनमा राजा नै मुख्य निशानामा परेका हुन् ।

नेपालका राजा नै लोकतन्त्र समाप्त गर्ने प्रमुख पात्र देखिए । राजाले नै प्राप्त लोकतन्त्रमाथि पटक–पटक हमला गरेका हुन्। २०६३ सालबाट देश गणतन्त्र बनेको छ।

अब राजनीतिक अधिकार प्राप्तिका साथै लोकतन्त्रको संस्थागत विकास र आर्थिक तरक्की सबै हुनुपर्ने हो। तर नेताहरुको अकर्मण्यताका कारण नेपाली नागरिकले लोकतन्त्रको पर्याप्त अभ्यास गर्न पाएनन्। आर्थिक तरक्की र समुन्नतिको सन्दर्भ नेताहरुको अभिव्यक्तिमै सीमित बन्यो । अब पूर्वराजा सर्वसाधारण नागरिकसरहको व्यवहार गरेर नेपालमै बसेका छन्।

नेपालको शासन सत्तामा राजाहरू वा राजपरिवारको कुनै पनि प्रकारको अप्रत्यक्ष सम्बन्धसमेत छैन । यद्यपि यिनै नेताहरू लोकतन्त्र खतरामा पर्‍यो भन्दै अलापविलाप गर्नमा समय खर्चिँदै छन्।

आखिर १७ वर्षको अल्पअवधिमा निरंकुश राजालाई शासन सत्ताबाट बिदा गरिसकेपछि पनि लोकतन्त्रमाथि खतराचाहिँ कुन शक्तिबाट भएको छ ? अनुसन्धानको विषय बनेको छ।

संघीय गणतन्त्रमा जनता किन आक्रोशित ?

अहिले देशमा जनता आक्रोशित छन्। उनीहरुको आक्रोश सबै दलहरूका शीर्षस्थ नेतृत्वका विरुद्ध छ। यी लोकतन्त्रका सेनानीहरूबाट राष्ट्र र राष्ट्रियताविरुद्ध के–कस्ता हर्कतहरु भए ? जनताको आक्रोश व्यवस्थाविरुद्ध हो वा यसका पात्रहरूका विरुद्ध ? अल्प अवधिमै जेलनेल खाएका, निरंकुश शासनबाट धेरैपटक शारीरिक र मानसिक पीडाबोध गरेका, जनताले विश्वास गरेका, आफ्ना सन्तती र श्रीसम्पत्ति गुमाएकाहरू नै किन बदनाम भए ? विश्लेशणको विसय बनेको छ। अहिले देशमा भ्रष्टाचार अत्यन्त मौलाएको छ।

स्वार्थ गाँसिएका विषयहरुको खोजी गर्दै आफैँले निर्णय लिने सन्दर्भ दैनिकीजस्तै भएको छ। राजनीतिलाई अपराधीकरण गरिएको छ । नवसम्भ्रान्त वर्गको विकास भएको छ।

लोकतन्त्रको अभिन्न अंगको रुपमा रहेको राजनीतिक दलहरुको पहिचान र जनतामा पुग्ने माध्यम भनेकै त्यस दलले अंगीकार गरेको आदर्श र सिद्धान्त हो। त्यसैमा हदैसम्मको समझदारी गरिएको छ। दलीय प्रणालीमा निर्दलीय विशेषताहरू देखिन थालेका छन् । देश आर्थिकरुपमा जर्जर बनिराखेको छ।

वैदेशिक ऋणको मात्रा बढिराखेको छ । साधारण खर्चले विकास खर्चलाई धेरै पछाडि पार्दै गएको छ। निर्वाचन अत्यन्त खर्चिलो बनिराखेको छ। यो सबै अवस्थाको आमन्त्रण अहिलेको राजनीतिक नेतृत्व तहमा रहेको पुस्ताले गरिराखेको छ। यही पुस्ताविरुद्ध नेपालीहरू आक्रोशित बनेका छन् ।

देशमा नागरिकले विश्वास गर्नयोग्य दलहरू र असल पात्र भेट्न सकेका छैनन् । हालसम्म परीक्षण भइसकेकाहरूबाट केही आशा गर्ने ठाउँ देखेका छैनन् । विकल्प पनि राजनीतिमा देखिएको छैन । यिनै कारणहरुले गर्दा आक्रोश बढिराखेको छ।

जीवनको उत्तरार्धमा लागेका नेतागण नागरिकहरुको वक्रदृष्टिमा परेका छन् । यो स्थिति र छनक पटक–पटक दिएका छन्। किनकि सामान्य पत्रकारलाई पनि जनताले साथ दिएका छन् । उनको दललाई राजनीतिमा भाग लिएकै वर्ष चौथो ठूलो दलमा स्थापित गरिदिएका हुन्।

अर्का सामान्य मेडिकल व्यवसायी जो बैंकको ऋण तिर्न आनाकानी गर्दै ऋणीहरूकै सहयोगमा आन्दोलनमा उत्रिएका थिए, छन्। यसमा पनि ठूलो संख्यामा नेपालीहरू उपस्थित भई यी लोकतन्त्रका सेनानीहरुलाई पाठ पढाएका छन्। यसबाट यी नेताहरूमा चेत आउनुपर्ने हो तर थोरै पनि सुधारको संकेत देखिएको छैन ।

कुनै पनि प्रकारका राजनीतिक प्रणाली वा व्यक्ति वा यी पात्रहरूबाट सम्पादन भएका गलत कार्यहरूका बारेमा विरोध हुँदा सबै प्रकारका मागहरू राख्ने साझा थलोको रुपमा यस मञ्च वा अभियानलाई लिने गरिएको छ। धेरै प्रकारका असन्तोषहरू जनतामा देखिएका छन्। दुर्गा प्रसाईंको आन्दोलनमा देखिएका सहभागीहरूका उदाहरण दिँदा त्यस आन्दोलनमा सबै प्रकारका मानिसहरू देखिए।

हिन्दु धर्मवादीहरूदेखि लिएर सक्रिय राजतन्त्र, संवैधानिक राजतन्त्रवादीहरू, संघीयताको खारेजी, निर्वाचन प्रणालीको पुनरावलोकन गरी प्रत्यक्ष निर्वाचन प्रणाली लागूगर्नेसम्मका मानिसहरुको जमघट देखियो। दुर्गाजीले जम्मा हुने चौतारीसम्म चिनेका थिए । यी मागहरु पूरा गर्ने माध्यमहरू दुईवटा छन् । पहिलो हो दल खोलेर उक्त दल जनतामा जाँदा दुई तिहाइ स्थानमा संसद्मा उपस्थिति दिँदामात्र सम्भव हुन्छ। यी सबै मागहरू सबै समूहका लागि स्वीकार्य हुने सम्भावना छैन।

तसर्थ वैधानिक बाटोबाट आफ्ना मागहरू पूरा गर्न सकिने सम्भावना देखेका छैनन् । दोस्रो हो सडकबाटै आफ्ना मागहरु पूरा गर्ने गरी आन्दोलनबाटै छिनोफानो गर्ने, नेपालको राजनीतिको अन्तर्य यस सन्दर्भमा बुझ्नुपर्ने हुन्छ। नेपालमा २००७, २०१५, २०४६ र २०६३ का आन्दोलनहरू नेपाली नागरिकहरूको बलमा सफल भएको कसैले देख्छ भने उसले नेपालको राजनीति नबुझेको हो । यी सबै आन्दोलनमा छिमेकी राष्ट्रको सहयोग प्राप्त भएको थियो।

आन्दोलनमा सहभागी प्रायः सबैले यी यथार्थतालाई बुझेकै हुनुपर्छ । तर सबैले बुझेको विषय हो यी एजेन्डाहरूका लागि वर्तमान व्यवस्था असफल हुनुपर्दछ । यो असफल बनाउने माध्यमका रुपमा दुर्गा देखिँदै गर्दा जनता सडकमा आएका हुन् ।

यो अवस्था वा आक्रोश फैलिनुको कारण नेपालका युवाहरू हुन् । आधुनिक सञ्चारमाध्यममा नेपालका युवाहरू परिचित छन् । नेपालको राजनीति शारीरिक र मानसिकरुपमा अशक्त भएकाहरुको पक्कडमा छ।

उनीहरूबाट केही सकारात्मक परिवर्तनको अपेक्षा गर्न सकिने अवस्था छैन । युवा पुस्ता शासन र सत्तामा पुग्न सक्ने अवस्था पनि छैन । उनीहरू अत्यन्त ज्यादा दलीय अनुशासनका नाममा यिनै अशक्त व्यक्तित्वहरूबाट दबाबमा बाँचेका छन् । यसबाट राजनीतिमा आफ्नो भविष्य युवाहरुले देख्न सकिराखेका छैनन्। अहिलेका सबै पढेलेखेका युवाहरू इन्टरनेटलगायतका सामाजिक सञ्जालहरूमा अभ्यस्त छन् ।

विश्वमा सामाजिक सञ्जाललगायतका क्षेत्रमा आएको परिवर्तनको बारेमा राम्ररी जानकारी राख्दछन्। विश्व घटनाक्रमहरुको अध्ययन गरिराखेका छन् । तर वृद्ध नेताहरू आफ्ना स्वार्थलोलुप झुन्डहरूसँग अन्तरक्रिया गर्दछन्, उनीहरूबाट भएको आफ्नो प्रशंसा सुन्दै आत्मरतिबाट प्रसन्न हुन जानेका छन्।

आफ्ना पुराना कुराहरू गर्दै त्यसैका आधारमा शासन गर्ने अधिकार कायम गर्न चाहन्छन् । हाम्रो नेतृत्व विश्व घटनाक्रमको बारेमा केही हदसम्म जानकार छ । विश्वव्यापी इन्टरनेट सञ्जालले गर्दा आएको बहुआयामिक परिवर्तनका कारण आतंकित बन्दै गएको छ। यसको चुनौतीलाई सामना गर्ने सन्दर्भमा चासो राख्दैन। तर आफ्ना युवाहरुलाई अनुशासनहीन बनाएको भन्दै इन्टरनेटलगायतका सामाजिक सञ्जाललाई दोष दिएर बस्दछ।

२०४६ सालको र २०६३ सालको सफल जनआन्दोलनपश्चात देशको समुन्नति र लोकतन्त्रको संस्थागत विकासका लागि खासै काम गर्न नसकेकोमा हाम्रा वृद्ध नेतृत्व जानकार छन् । उनीहरुको शासन यस देशका स्वतन्त्र नागरिकहरुलाई मन नपरेको अवस्थाको पनि जानकारी राख्दछन् । उनीहरुको शासन सत्तामा देखिएको हालिमुहालीबाट जनता आक्रोशित बनेको पनि जानकारी राख्दै आएको छ । तर उनीहरू आफ्नो स्वार्थसिद्ध गर्ने गलत कार्यमा र आपराधिक मानसिकतामा अभ्यस्त छन् । यो उनीहरुको शासन गर्ने शैलीका रुपमा विकास भइराखेको छ । यसैले गर्दा देश पछि पर्दै गएको छ । यो अवस्था देशका सभ्य नागरिकका लागि स्वीकार्य हुन सकेको छैन ।

अब यी शासनमा बस्नेहरूविरुद्धको आवाज यो हदसम्म सशक्त भएको छ कि यी शासकहरु र यसका संयन्त्र एवं पदाधिकारीहरुबाट भएका कुनै पनि कामहरुलाई सकारात्मकरुपमा हेर्ने मानसिकता नै हराएको छ। यी नेतृत्वमा रहनेहरुलाई सहजै राष्ट्र र जनताका शत्रुका रुपमा व्यवहार गर्न तल्लीन छ, दृढ छ।

गैरनेपाली नागरिकले राखेका आवाजहरुलाई समर्थन गर्दछ । ऋण लिएर सो नतिर्ने उद्देश्यका साथ आह्वान गरिएको आन्दोलनमा सशक्तरुपमा सहभागिता दिन्छ । स्वतन्त्र उम्मेदवारहरुलाई विजय बनाएर स्थापित राजनीतिक दलहरुलाई चकमा दिन तत्पर रहन्छ। सरकारी गाडीमा आफ्नै श्रीमतीको सवार गराउँदा सरकारले चेक गर्न नमिल्ने दलील दुरुपयोगकर्ताले गरिरहँदा दुरुपयोगकर्ताकै समर्थन गर्दछ।

अपराध नियन्त्रण गर्न खोज्दा पहिला तिनै अनुत्पादक नेतृत्व पंक्तिबाट कारबाही प्रारम्भ गर्न माग गर्दछ । विशेष गरी यो युवाहरुको प्रतिकारस्वरुप गरिएको विरोध हो। यिनै नेताहरुलाई नेपाली नागरिकहरुले अगाध सम्मान गर्दथे। उनीहरुको आदेशको पालन गर्दथे। आफ्नो आस्था, आदर्श र विश्वास मान्दथे । आज राष्ट्रका लागि अनुत्पादक समूहका रुपमा लिँदै घृणा गरिराखेका छन्।

नेपालमा करिब ६० प्रतिशत जनसंख्या युवाहरुको छ । उनीहरुले यी वृद्ध नेताहरुले गरेको दुःख र भोगेको कष्ट देखेका छैनन्। २०४६ साल, २०५१ साल र २०६३ सालका राजनीतिक घटनाक्रमहरूका बारेमा धेरै जानकार छैनन् । तर उनीहरुले धेरै कुरा बुझेका छन् । जस्तै– देश आर्थिक दृष्टिले श्रीलंकाको बाटोमा अग्रसर हुँदै गरेको छ।

बेरोजगारीका समस्याबाट प्रताडित युवाहरुले रोजगारी माग्दा सरकार गोली बर्साउँछ। नीतिगत भ्रष्टाचार मौलाउँदै गर्दा देश आर्थिक दृष्टिले खस्किँदै गएको छ। नातावाद र कृपावाद हदैसम्म संस्थागत गरिएको छ। महँगी बढिराखेको छ।

देश अस्तव्यस्त छ। आफ्ना वृद्ध बाबुआमा, नवविवाहित श्रीमती छाडेर वैदेशिक रोजगारीमा गएका र कतिपय बाकसमा फर्किएका कारुणिक दृश्यहरू छन् । आफैंले तिरेको करबाट नेताहरू, उनीहरूका सन्तान र आसेपासेहरु सामान्य बिरामी हुँदा विदेश गएको तर साधारण नेपालीले देशभित्र उपचारको अभावमा मृत्युवरण गर्नुपरेको कारुणिक दृश्य पनि छ।

न्यायका लागि अदालत पुगेकाहरुको जम्काभेट न्यायमूर्तिका रुपमा दलका कार्यकर्ताहरुसँग हुन्छ । सर्वत्र भागवण्डा र राजनीतीकरण छ । सेवाप्रदायक संस्थाहरूबाट पीडाबोध गर्नुपर्दा निकम्मा सरकारको छाया त्यही देखिएको छ । देशमा भविष्य नदेखी थुप्रै संख्यामा नेपालीहरु विदेशिएका छन् ।

मसलड्रेन र ब्रेनड्रेन दुवै अत्यधिक बढिराखेको छ। यी सबै युवाहरुको मन मस्तिष्कमा गढेको छ। त्यसैले युवाहरुले विद्रोह गरिराखेका छन् । शासकहरू र यसका समग्र संयन्त्रप्रति आक्रोशित छन्। यसले हाम्रो सन्दर्भमा निरन्तरता लिँदै छ।

निष्कर्ष :

नेपालमा देखिएको यो जनआक्रोश व्यवस्थाविरुद्ध भन्दा पनि यसका पात्रहरूका विरुद्ध देखिएको छ । हुन त व्यवस्थामा समेत गम्भीर त्रुटिहरू देखिएकै छन्। तर सामाजिक सञ्जालमा विरोध जनाएको भरमा व्यवस्थाका कमी–कमजोरीको सुधार सम्भव हुँदैन ।

यत्तिकै आधारमा लोकतन्त्र धरापमा परेको निष्कर्ष निकाल्नु पनि अपरिपक्व नै हुनेछ । तर सामाजिक सञ्जालसँग सरकार त्रसित भने बनेकै हो । किनकि सरकारले टिकटकमा लगाएको प्रतिबन्धले यही प्रमाणित गर्दछ । जेलनेलको पीडा भोगेका सन्दर्भहरूको व्याख्या गरेर अबको जनमत आफ्नो पक्षमा पार्न किमार्थ सकिन्न । आजका युवाहरुलाई वर्तमानमा परिणाम चाहिएको छ ।

हालसम्मको आक्रोश थोरैमात्र व्यवस्थाप्रति छ। तर जनाधार नराम्ररी खस्किँदै गएका नेताहरुले आफ्ना दलका सक्षम नेताहरुलाई सत्ता सुम्पन ढिला गर्नुहुँदैन। अन्यथा यो आक्रोश व्यवस्था र नेताहरूविरुद्ध फैलिन सक्छ। अबको देशको आवश्यकता नै आर्थिक समुन्नति र विकास हो । यसैमा नेतृत्व लागिपर्नुपर्छ।

यदि राजनीतिक नेतृत्वमा परिवर्तन नआउने हो भने नेतृत्वविहीन आन्दोलन अवश्यम्भावी छ। यसले व्यवस्था त परिवर्तन गर्छ नै, भीडबाटै आफ्नो नेतृत्व चयन गर्नेछ। यस अवस्थामा हालका सत्ताका टिटानसहरुलाई आन्दोलनको ज्वालाले कुन अवस्थामा पु¥याउँछ ? सहजै अनुमान गर्न सकिन्छ।

तसर्थ व्यवस्था बचाउन र देशको समृद्धिमा लाग्न आफ्नो उत्तराद्र्धलाई उपयोग गरौँ । सत्ता हस्तान्तरण गरेर लागिपरौँ, यसैमा देश र लोकतन्त्रको तरक्की सम्भव देखिन्छ।

प्रतिक्रिया दिनुहोस्