महाजात्रा विदेशमा पनि एकसाथ

196
Shares

काठमाडौं ।

सुपरहिट सिक्वेल फिल्म महाजात्रा नेपालसँगै विश्वका विभिन्न देशबाट एकसाथ रिलिज हुने भएको छ।

षट्कोण आर्टसले निर्माण गरेको जात्रा शृंखलाको तेस्रो संस्करण महाजात्राको नेपाल र भारतबाहेकको प्रदर्शन र वितरणको अधिकार लिएको एमएसएम इन्टरटेन्मेन्ट्स्ले यसलाई नेपालसँगै विदेशमा पनि एकसाथ रिलिज गर्न लागेको हो।

उक्त कम्पनीका सञ्चालक छत्र थापाका अनुसार जात्राका दुवै शृंखलाले दर्शकको मन जितेकाले नेपालबाहिर पनि एकसाथ रिलिज गर्न लागिएको छ।

‘नेपालझैँ विदेशमा दर्शकको प्रतीक्षा रहनुमा जात्राको अघिल्लो शृंखलाले बनाएको ब्रान्डको विश्वस र सफलता हो। विशेषतः विदेशमा मौलिक नेपालीपन बोकेको फिल्मको बजार बलियो देखिएको छ। त्यसैले महाजात्रालाई नेपालकै डेटमा विदेशमा पनि रिलिज गर्न लागिएको हो,’ वितरक थापाको भनाइ छ।

फिल्मका कार्यकारी निर्मातासमेत रहेका अभिनेता रवीन्द्रसिंह बानियाँले जात्रा शृंखलाको सफलता र दर्शकको प्रतीक्षाले नै महाजात्रा तयार भएको बताए। ‘हामीलाई दर्शकस“गै समीक्षकमार्फत पाएको प्रतिक्रियाले समेत शृंखलालाई निरन्तरता दिन हौस्याएको हो,’ बानियाँ भन्छन्।

आपत्कालीन रूपमा आइपर्ने धनको व्यवस्थापन गर्ने अवसर र त्यसले निम्त्याउने समस्यालाई रोचक शैलीमा प्रस्तुत गरिएको फिल्ममा लेखन तथा निर्देशन प्रदीप भट्टराईको रहेको छ।

आगामी चैत ९ गते रिलिजमा आउने फिल्ममा हरिवंश आचार्य, विपिन कार्की, रवीन्द्रसिंह बानिया“, रवीन्द्र झा, वर्षा राउत, अर्जुनजंग शाही, प्रकाश घिमिरे, राजाराम पौडेल, प्रवीण खतिवडा, दिव्यदेव, सुमन कार्की, शिशिर बाङ्देल, गौमाया गुरुङ, अरविन खड्कालगायत कलाकारले अभिनय गरेका छन्।

म्याक्स दीपेश खत्री र यज्ञश्वर पौडेलद्वारा निर्मित फिल्ममा जितबहादुर रुवाली एसोसियट निर्देशक, आशिष अविरल संगीतकार, कविराज गहतराज नृत्य निर्देशक, कुमार महर्जन द्वन्द्व निर्देशक र पुरुषोत्तम प्रधान छायांकार रहेका छन्।