काभ्रेको  पाँचखालमा १८ देशका ११ सय ६२ सैनिकले गर्दैछन अभ्यास शान्ति प्रयास 

2k
Shares

काभ्रे। 

वीरेन्द्र शान्ति कार्य तालिम केन्द्र, पाँचखालमा अभ्यास शान्ति प्रयास ४ चलिरको छ । अभ्यास ४ मा बंगलादेश, फिजी, घांना, मलेसिया, ईन्डोनेसिया, मंगोलिया, थाईल्याण्ड, उरुग्वे, नेपाल, दक्षिण कोरिया, अमेरिका, श्रीलङ्का, भियतनाम, क्यानडा, अस्ट्रेलिया, फिलिपिन्स, नाइजेरिया, पाकिस्तान लगायतका देशबाट १ हजार १ सय भन्दा धेरै सैनिकहरु सहाभागि छन् ।

२०८० फाल्गुन ८ गतेबाट शुरु भएको अभ्यास फागुन २१ गते सम्म चल्नेछ । वीरेन्द्र शान्ति कार्य तालिम केन्द्र, पाँचखालका केन्द्रपति तथा महासेनानी संजित श्रेष्ठ सिन्वाले संयुक्त राज्य अमेरिकी सरकारको ग्लोबल पीस अपरेसन इनिसिएटिभको सहयोग एवं नेपाली सेना र संयुक्त राज्य अमेरिकी सेनाको सहकार्यमा अभ्यास ४ सञ्चालन भइरहेको बताए । अभ्यास शान्ति प्रयासको चौथो संस्करणले संयुक्त राष्ट्रसङ्घीय शान्ति स्थापना मिसनहरुमा सहभागी हुने फौजको पेसागत दक्षता, समन्वयात्मक क्षमता अभिवृद्धि तथा सेना योगदान गर्ने देशहरु बिच भावनात्मक सम्बन्धलाई समेत सुनिश्चित गर्ने उद्देश्यले वीरेन्द्र शान्ति कार्य तालिम केन्द्र, पाँचखालमा चौथो अभ्यास भइरहेको महासेनानी सिन्वाले बताए । उनीसँगै अमेरिकाका अभ्यास निर्देशक ड्यानियल हाकाला समेत नियमित अभ्यासमा संलग्न छन् ।

नेपालमा पहिलो पटक सन २००० मा अभ्यास शान्ति प्रयास सञ्चालन भएको थियो । त्यस्तै सन २०१३ मा र सन २०१७ मा अभ्यासको दोस्रो तथा तेस्रो संस्करण नेपालमा भईसकेको छ । हरेक वर्ष हुने उक्त अभ्यास नेपालका अलावा मलेसिया, मंगोलिया, बंगलादेश र इण्डोनिशियामा हुँदै आएको छ । अभ्यास शान्ति प्रयास ४ मा १८ राष्ट्रका १ हजार १ सय भन्दा बढी सैनिकहरुको सहभागीतामा विभिन्न किसिमका अभ्यासहरु भइरहेका छन् । अभ्यासको महत्वपूर्ण स्टाफ टे«निङ्ग इभेन्टमा ६६ जना प्रशिक्षार्थी सहभागी छन् । अधिकृत तहका सैनिकहरुले हेडक्वाटर तहको काम गर्ने दक्ष जनशक्तिका रुपमा अभ्यास गरिरहेका छन् । १५ देशका ६६ जना प्रशिक्षार्थीलाई ६ जना मुख्य प्रशिक्षक र २८ जना १० वटा देशका अधिकृत तहका सैनिकहरुले अभ्यास गराई रहेका छन् । उक्त अभ्यास चार दिनको हुनेछ । मेजर दिवाकर रायमाझीले ८ वटा समूहमा उक्त अभ्यास भइरहेको बताए ।

अभ्यास शान्ति प्रयास ४ मा लैङ्गिक समानता, मेडिकल तथा द्वन्द्वका क्रममा मेलमिलाप तथा समन्वय र सहकार्य सम्बन्धी अभ्यास भइरहेको छ । जसमा ८० जनाले भाग लिएका छन् । आफै कसरी सुरक्षित हुने र योगदान दिने भन्ने विषयमा समेत उक्त अभ्यासमा जानकारी गराइएको मेजर सुवेश कायस्थले बताए । उक्त अभ्यासमा विभिन्न प्रकारका सिकाईहरु छन् । त्यस्तै ११ देशका १२ वटा टुकडीहरुले बदलिँदो अवस्थामा विश्वमा भइरहेका विभिन्न प्रकारका सुरक्षाका विधि र अभ्यासका बारेमा जानकारी लिनेछन् । एउटा टुकडीमा ३० जना सैनिक सहभागी रहेको मेजर सुरज बस्न्यातले बताए । द्वन्द्वग्रस्त मुलुकहरुमा महिला, बालबालिका तथा विभिन्न पक्षहरुलाई कसरी सुरक्षित बनाउने र उनिहरुको अधिकारको संरक्षणका लागि भएका अभ्यास र गरिनु पर्ने अभ्यासका बारेमा जानकारी गराइएको छ । शान्ति सेनामा दैनिक गर्नु पर्ने गतिविधिहरुमा विगतका कमिकमजोरीहरुलाई हटाउँदै थप नयाँ विषयमा समेत जानकारी गराउने अभ्यास भइरहेको छ । विद्रोहीहरुबाट हुन सक्ने सम्भावित जोखिमहरुका बारेमा समेत अभ्यास गराइएको छ ।

नेपाली सेनाले पहिलो पटक नेपालमा र शान्ति सेनामा समेत सोलार पाओर निर्माणमा सिपको प्रयोग गर्नेछन् । १८५ किलोवाट क्षमताको सोलार प्लान्ट वीरेन्द्र शान्ति कार्य तालिम केन्द्र, पाँचखालमा जडान गरिएको छ । अमेरिकाको आर्थिक सहयोगमा वीरेन्द्र शान्ति कार्य तालिम केन्द्र, पाँचखालमा जडान गरिएको सोलार प्लान्ट शान्ति सेनामा खटिने नेपाली सेनाहरुले जडान गर्न सक्षम हुनेछन् । ‘शान्ति सेनामा खटिएको नेपाली सेनाले भौतिक पूर्वाधार विकासका अलावा सिपको समेत प्रयोग गर्नेछन्’– मेजर सबेश कायस्थले भने–‘ वीरेन्द्र शान्ति कार्य तालिम केन्द्र, पाँचखालमा सैनिक कल्याणकारी कोषबाट ८ सय ५० जनाको क्षमताका भवनहरु निर्माण भइरहेका छन् । तालिममा सहभागी ३ सय सैनिकहरु अहिले दुईवटा भवनमा अभ्यास गरिरहेका छन् ।’ डिजलको प्रयोग घटाउन सोलारबाट उत्पादित बिजुलीलाई प्रयोग गर्ने गरी वीरेन्द्र शान्ति कार्य तालिम केन्द्र, पाँचखालमा जडान गरिएको सोलारको उद्घाटन गरिसकिएको छ ।

अभ्यासबाट शान्ति स्थापना कार्यमा देखा परेका चुनौतीहरुको बारेमा सहभागी राष्ट्रका सैनिकहरुलाई अवगत हुनुका साथै ती चुनौतीहरु सामाना गर्न आवश्यक क्षमता एवं समान व्यावसायिक कार्यशैली विकास गर्न मद्दत पुग्ने विश्वास लिएको महासेनानी सिन्वाले बताए ।

के छ नेपाली सेनाको अभ्यास ? 

संयुक्त राष्ट्र शान्ति सेनाको विकास जारी छ । त्यसैगरी संयुक्त राष्ट्र शान्ति सैनिकहरूको प्रशिक्षण आवश्यकताहरू हुनेछन । त्यसैले, तालिमको मापदण्ड, नीतिहरू, मार्गदर्शन गर्दा उत्तम अभ्यासहरू विकास गर्नका लागि शान्ति स्थापना प्रशिक्षणमा व्यवस्थित दृष्टिकोण हुनुपर्छ । यस्तो प्रशिक्षणको नतिजाले मिसन आवश्यकताहरू पूरा गर्न मद्दत गर्न सक्छ । संयुक्त राष्ट्र शान्ति संचालनका लागि विशेष प्रशिक्षण संस्थाको रूपमा विकास गर्ने भिजन छ । जटिल र बहुआयामिक संयुक्त राष्ट्र शान्ति स्थापना वातावरणमा काम गर्न सक्षम शान्ति सैनिकहरूलाई तालिम र तयारी गर्ने मिसन छ । विभिन्न संयुक्त राष्ट्र शान्ति मिसनहरूमा तैनाथ हुनु अघि दलहरू र व्यक्तिगत सिपाहीहरूको लागि पूर्व तैनाथी प्रशिक्षण सञ्चालन गर्ने, विशेष र संयुक्त सञ्चालन गर्न, संयुक्त राष्ट्र शान्ति अभियानसँग सम्बन्धित प्रशिक्षण, शान्ति सञ्चालन सम्बन्धी बहुराष्ट्रिय अभ्यास, आदान प्रदान कार्यक्रम र सेमिनारहरू सञ्चालन गर्ने, संयुक्त राष्ट्रसंघका नीति, सिद्धान्त र दिशा निर्देशहरूमा आधारित संयुक्त राष्ट्र शान्ति सञ्चालनका लागि राष्ट्रिय तालिम पाठ्यक्रम अद्यावधिक र कार्यान्वयन गर्ने रहेको छ । संयुक्त राष्ट्र शान्ति सञ्चालन तालिमका लागि राष्ट्रिय सिद्धान्त, मापदण्डहरू विकास गर्ने हो ।

संयुक्त राष्ट्र शान्ति अभियानमा नेपाली सेनाको इतिहास

नेपाली सेनाले अन्तर्राष्ट्रिय शान्ति स्थापना प्रयासको क्षेत्रमा व्यापक र उत्कृष्ट विरासत बोकेको छ । नेपाल सन १९५५ मा संयुक्त राष्ट्र संघको सदस्य बनेको र सन १९५८ देखि नेपालले संयुक्त राष्ट्रसङ्घीय शान्ति अभियानको बृहत् दायरामा सक्रिय रूपमा संलग्न रहेको छ । साढे छ दशक भन्दा बढीको अवधिमा, नेपालले ४४ संयुक्त राष्ट्र शान्ति मिसनमा भाग लिएको छ । फे्रबुअरी २०२४ सम्म नेपालले १ लाख ४९ हजार भन्दा बढी शान्ति सैनिकहरू योगदान गरेको छ । यस प्रक्रियामा नेपाली सेनाका ७३ शान्ति सैनिकले परम बलिदान दिएका छन् ।