दाजुभाईबीचको सम्पत्ति विवादले नेशनल मेडिकल कलेज धरापमा 

3.1k
Shares

वीरगन्ज।

वीरगन्जको नेशनल मेडिकल कलेजका सञ्चालक दाजुभाइबिच आन्तरिक द्वन्द्व चर्किएको छ । मेडिकल कलेजको स्वामित्व तथा शेयरको विषयलाई लिएर सञ्चालक दाजुभाइबिच द्वन्द्व चर्किएको हो । नेशनल मेडिकल कलेजका अध्यक्ष डा जैनुद्दिन अन्सारीले कलेजका प्रबन्ध निर्देशक बसरुद्दिन अन्सारीलाई कम शेयर दिएर निष्कासन गरेपछि विवाद सतहमा आएको हो ।

जैनुद्दिन दाजु हुन् भने बसरुद्दिन भाइ हुन् ।कलेज स्थापनाकालदेखि प्रबन्ध निर्देशक (एमडी) भएर काम गर्दै आइरहेका बसरुद्दिन अन्सारीलाई कलेजले यही ११ गते हटाएको हो । विवाद बढेपछि मेडिकल कलेज सञ्चालक समितिका अध्यक्ष डा. जैनुद्दिन अन्सारीले विज्ञप्ति जारी गर्दै शेयर धनी तथा सञ्चालक समितिबारे प्रस्ट परेका छन् । उनले  विज्ञप्तिमार्फत भनेका छन्, ‘यो कम्पनीमा मेरो ९० प्रतिशत र भाइ बसरुद्दिन अन्सारीको १० प्रतिशत शेयर थियो । तर ७ महिना अगाडि यसमा केही नयाँ शेयरधनी थपिएका छन्, जसका कारण शेयर प्रतिशत बाँडफाँट भएर मेरो शेयर प्रतिशत घटेको छ ।’ उनले जारी गरेको विज्ञप्तिमा नयाँ शेयरधनीहरुमा उनकै छोरा शाहनवाज र छोरीहरु नुसरत जहान अन्सारी, निकहत यासमिन र इसर्त जहानको नाम राखिएको छ ।

छोरा शाहनवाजलाई १५ प्रतिशत र तीनैजना छोरीलाई जनही १० प्रतिशत शेयर दिइएको  उल्लेख गरेका छन् । यही विज्ञप्तिमा बसरुद्दिनको नाममा १० प्रतिशत शेयर रहेको उल्लेख छ । विज्ञप्तिमा नेशनल मेडिकल कलेज प्राइभेट लिमिटेडको साधारणसभा– २०८० ले कम्पनी ऐन २०६३ र कम्पनी निर्देशिका २०७२ (दोस्रोबमोजिम) तीन सदस्यीय सञ्चालक समिति गठन गरेको उल्लेख छ ।जसको अध्यक्षमा डा.जैनुद्दिन अन्सारी, प्रबन्ध निर्देशकमा छोरा शाहनवाज अन्सारी र सञ्चालकमा छोरी नुशरत जहान अन्सारीलाई चुनिएको जनाइएको छ ।

सञ्चालक दाजुभाइबीच शेयरको विषयलाई उत्पन्न विवाद बढेपछि बसरुद्दिन अन्सारीले पनि आफू नेशनल मेडिकल कलेजको अध्यक्षमा चुनिएको खबर सामाजिक सञ्जाल फेसबुकमा निकटस्थलाई राख्न लगाएका छन् । नेशनल मेडिकल कलेज प्रालि वीरगन्ज २०५७ साल ३१ भदौमा दर्ता भएको हो । सुरुमा वीरगन्जको बाबा होटेललाई भाडामा लिएर सञ्चालन भएको नेशनल मेडिकल कलेजसँग अहिले अर्बौंको सम्पत्ति छ । मेडिकल कलेज सञ्चालन आरम्भ गर्दा सञ्चालक अध्यक्ष र एमडीबिच ५०–५० प्रतिशत शेयरमा कारोबार गर्ने सम्झौता भएको निवर्तमान एमडी बसरुद्दिन अन्सारीको दाबी छ ।