मुख्यमन्त्रीको ‘हात्तीमैत्री पदयात्रा’ 

224
Shares

उदयपुर । 

कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले आगामी वर्षको बजेटमा वन्यजन्तु र जनावर मैत्री बजेट ल्याउने बताएका छन् ।
प्रदेश पर्यटन वन तथा वातावरण मन्त्रालयको आयोजनामा एक साता अघि सुरु भएको हात्ती मैत्री पदयात्रा उदयपुरको कटारी नगरपालिका १ बेलसोतमा समापन गर्दै मुख्य मन्त्री कार्कीले उक्त कुरा बताएका हुन् ।

मुख्य मन्त्री कार्कीले आगामी बजेटमा जंगल नजिक फलफूलका बोटबिरुवा रोप्ने र प्रकृति र वन्यजन्तुलाई लाभान्वित हुने कार्यक्रम ल्याउने घोषणा गरे ।
पदयात्राले हात्ती पीडित समस्या बुझ्न र समाधानका उपाय पहिल्याउन प्रदेशको आउँदो बजेटमा उचित कार्यक्रम समावेश गरी हात्ती प्रभावित क्षेत्रका निम्ति विशेष कार्यक्रम ल्याइने मुख्य मन्त्री कार्कीले बताए।

हात्तीको परम्परागत जैविक मार्गको पुनःस्थापना तथा वासस्थानको संरक्षण एवम् मानव–हात्ती द्वन्द्व न्यूनीकरण गर्दै संरक्षणमा सहअस्तित्व र हात्तीमैत्री पर्यापर्यटन विकास गर्ने उद्देश्य सहित फागुन ९ गते मुख्य मन्त्री कार्की सहितको टोलीले हात्ती प्रभावित क्षेत्रको स्थलगत निरीक्षण गरेको हो ।

पदयात्रा समापन कार्यक्रममा पर्यटन, वन तथा वातावरण मन्त्री गणेश प्रसाद उप्रेती, कृषि उद्योग तथा सहकारी मन्त्री रामकुमार खत्री, स्वास्थ्य मन्त्री प्रदीप सुनुवार, प्रदेश उपसभामुख सृजना दनुवारको उपस्थिति रहेको थियो ।

हात्ती र मानवबिचको द्वन्द्व घटाउन र समस्या पहिचान गर्न पदयात्रा सुरु गरिएको जीव र जनावर, जंगल, जनतामैत्री जिम्मेवार जनप्रतिनिधि भन्ने नारासाथ नेपाल भारत सीमाको मेची खोला तीरमा हात्ती नेपालतर्फ प्रवेश गर्ने नाकाबाट सुरु भएको पदयात्रा मोरङ सुनसरी पार गरी उदयपुरमा आएर समापन गरिएको छ ।
चार जिल्लाका २ सय ४३ किलोमिटर पार गरिएको पदयात्रामा प्रदेशका सरकारी एवं गैरसरकारी निकाय, संरक्षणकर्मी, सुरक्षाकर्मी, सञ्चारकर्मी, हात्तीविज्ञ, नागरिक समाज एवं आम नागरिकहरुको सहभागिता  रहेको थियो ।