दार्चुला अस्पतालकी सिनियर अनमी बबिता विष्टलाई उत्कृष्ट स्वास्थ्य सेवा पुरस्कार



काठमाडौँ। 

दार्चुला अस्पतालमा कार्यरत सिनियर अनमी बबिता विष्टलाई यस वर्षको उत्कृष्ट स्वास्थ्य सेवा पुरस्कार प्रदान गरिएको छ ।

स्वास्थ्य सेवा दिवसको अवसरमा मंगलबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आयोजना गरेको कार्यक्रममा स्वास्थ्य तथा जनसंख्या मन्त्री मोहनबहादुर बस्नेत र स्वास्थ्य सचिव डा. रोशन पोखरेलले विष्टलाई एकलाख नगद पुरस्कार सहित उत्कृष्ट स्वास्थ्य सेवा पुरस्कार प्रदान गरेका हुन् ।

बबिता सिनियर अनमी छैटौँ तहमा कार्यरत छन् । त्यसै गरी  सोही अवसरमा ४ जना स्वास्थ्यकर्मीलाई स्वास्थ्य सेवा पुरस्कार प्रदान गरिएको छ ।

५० हजार नगद राशिसहितको स्वास्थ्य सेवा पुरस्कार पाउनेहरुमा कालिकोटका सिनियर अहेव दीर्घबहादुर नेपाली, बाराकी सिनियर अनमी किरण कुमारी, सुर्खेतका डा. केशरबहादुर ढकाल र फार्मेसी निरीक्षक शुष्मा थपलिया रहेका छन् ।

पुरस्कृत सबै स्वास्थ्यकर्मीलाई मन्त्री बस्नेत र सचिव डा. पोखरेलले नगद सहित प्रमाणपत्र प्रदान गरेका थिए । हरेक वर्ष स्वास्थ्य मन्त्रालयले एक जना स्वास्थ्यकर्मीलाई उत्कृष्ट स्वास्थ्य सेवा पुरस्कार र चार जनालाई स्वास्थ्य सेवा पुरस्कार प्रदान गर्दै आइरहेको छ ।

पुरस्कृत स्वास्थ्यकर्मीहरुलाई स्वास्थ्य मन्त्री बस्नेतले धन्यवाद दिँदै भविष्यमा पनि जनताको स्वास्थ्य सेवा प्राप्त गर्ने अधिकारलाई व्यवहारमा उतार्न लाग्नु पर्ने बताए । स्वास्थ्य सेवा दिवसका  अवसरमा स्वास्थ्य मन्त्रालय परिसरमा अंगदान शिविरका साथ रक्तदान लगायतका कार्यक्रम सञ्चालन गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्