गजल सम्राट पंकज उधास रहेनन्

574
Shares

काठमाडौं ।

ख्यातिप्राप्त भारतीय गजल गायक पंकज उधासको ७३ वर्षको उमेरमा सोमबार निधन भएको छ। गजल सम्राटको उपाधि पाएका उनको निधनको जानकारी उनकी छोरी नायबाले सामाजिक सञ्जालबाट दिएकी छिन्।

भारतीय सञ्चारमाध्यमका अनुसार उधासले मुम्बईको ब्रिच क्यान्डी अस्पतालमा सोमबार बिहान ११ बजे अन्तिम सास लिएका हुन्। केही दिनदेखि अस्वस्थ रहेका उनले उपचारको क्रममा अन्तिम श्वास लिएका हुन्।

सञ्जय दत्तको फिल्म नामका लागि गाएको गजल चिठी आयी हेबाट वाहीवाही कमाएका उधासको जन्म १७ मे १९५१ मा गुजरातको जोतपुरमा भएको थियो। उनको पूरा नाम पंकज उधास चारण भए पनि गायनमा आएपछि उनी पंकज उधासको नामले चिनिएका थिए।उनका हजुरबुवा जमिन्दार र भावनगर राज्यका दिवान थिए भने उनका बुबा केशुभाइ उधास सरकारी कर्मचारी थिए।

तीन दाजुभाइमध्येका कान्छा उनी र उनका दुई दाजुभाइको संगीतप्रति झुकाव थियो। उनका अन्य दाइ पनि गजल गायक हुन्। सन् १९८० मा आहटनामक एलबमबाट गजल गायनको सुरुआत गरेका उनी पछि गजलको पर्याय नै बन्न पुगेका थिए।

आफ्नो जीवनकालमा उनले केही गजल एल्बम निकालेका थिए। जसका कारण उनको लोकप्रियता चुलिँदै गएको थियो। यस्तै लाइभ प्रस्तुतिमा पनि उनी निकै रुचाइएका थिए। गजलको दुनियाँमा वर्षौं राज गरेका उनले मधुर स्वरमार्फत दुनियाँलाई लठ्ठ पारेका थिए।

मुकरार, तरमुन्ना, महफिल चाँदी जैसा रङ हे तेरा, थोडी थोडी पिया करो, मे नशेमे हुँ, एक तरफ उसका घर, आप जिनका करिब होता हेजस्ता लोकप्रिय गजल गायकले नेपाली फिल्म संकल्पको अधुरो लाग्यो अपुरो लाग्यो बोलको गीत गाएका थिए। उनले अरू नेपाली गीत पनि गाएका छन्।

सन् १९८२ मा फरिदा उधासका साथ विवाह गरेका उनका रेवा उधास र नायबा उदास गरी दुई सन्तान छन्। अद्भूत गायनका लागि विभिन्न सम्मान तथा पुरस्कारबाट सम्मानित उनी सन् २००६ मा पद्मश्री पुरस्कारबाट सम्मानित भएका थिए।

उनको निधनपछि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले सामाजिक सञ्जाल ट्वीटबाट श्रद्धाञ्जली दिएका छन् भने भारतीय कलाकारले दुःख व्यक्त गरेका छन्।