भजन शिरोमणि आचार्यको अवसान



काठमाडौं ।

मुटु जलिरहेछ यो मन गलिरहेछ, जति चोट दिन्छौ देऊ मायालु, जहाँ छन् बुद्वका आँखा, हजार आँखा हेर्ने मेरी मायालुलाई जस्ता दर्जनौं कालजयी र सदाबहार गीतका ख्यातिप्राप्त गायक तथा भजनशिरोमणि भक्तराज आचार्य अब हामीबीच रहनु भएन ।

उहाँको अक्सिजनस्तर कम भई उपचारका लागि सोमबार दिउँसो ललितपुरको भैंसेपाटीस्थित मेडीसिटी अस्पताल लैजाने क्रममा ८२ वर्षको उमेरमा निधन भएको छ।

आचार्यको सर्वाधिक रुचाइएको गीत मुटु जलिरहेछ यो मन गलिरहेछ, जति चोट दिन्छौ देऊ मायालुजस्तै उहाँको बाल्यकाल पीडादायी बन्न पुग्यो भने आधा उमेर मनमनै जलेर चोटैचोट सहेर बितेको छ। नेपाली संगीत आकाशका मूर्धन्य तारा उहाँको जन्म १९९९ साल असोज १६ गते भएको थियो।

डेढ वर्षको काखे बाल्य उमेरमै पितालाई गुमाएका आचार्य गाउँमा महामारी चलेका कारण आमासँगै भारतको डुअर्सको चियाबगान पुग्नु भएको थियो । बिस्तारै आमाको अवस्था पनि कमजोर हुँदै गएपछि भक्तराजले नै पारिवारिक दायित्व सम्हाल्दै संगीतको क्षेत्रमा त्यतिकै क्रियाशील हुनु भयो।

जीवनका धेरै कष्टकर समय विभिन्न पेशा गरेर भारतमा बिताउनु भएका उहाँले संगीत प्रभाकरसम्म अध्ययन गर्नुभएको थियो । उहाँको सांगीतिक जीवनले ३० को दशकको सुरुवातसँगै भने नयाँ मोड लियो ।

२०३० सालमा राजधानीमा सम्पन्न अधिराज्यव्यापी राष्ट्रिय गीत प्रतियोगितामा उहाँले ‘होसियार यस बखत समयको मुखलाई चिन’ बोलको गीत गाएर प्रथम स्थान हासिल गर्नुभयो र स्वर्ण पदकबाट पुरस्कृत हुनुभयो।

सोबापत उहाँ रेडियो नेपालको जागिरे हुनु भयो । रेडियो नेपालमा जागिरे भएपछि उहाँले लगातार साढे चार सय गीत रेकर्ड गराउनुभएको थियो।

धेरैजसो भजन, त्यसपछि आधुनिक, शास्त्रीय, फिल्मी, गजल, देशप्रेम, बालगीतजस्ता संगीतका सबैजसो विधाका गीत गाउन माहिर नेपाली संगीत जगत्का भक्त भक्तराजलाई भजन गायनको विशिष्टताका लागि भजन शिरोमणिको उपाधिले सम्बोधन गर्न थालियो।

उहाँ गीत गायनमा जस्तै संगीत र शब्द सिर्जनामा पनि त्यतिकै कहलिनुभएको थियो । गजबको कुरा त के थियो भने उहाँले अधिकांश गीत एकल रूपमा गाउनु भएको थियो । त्यसैले उहाँका युगल गीत अत्यन्त थोरै पाइन्छन् ।

यसरी गायनका साथमा संगीत र शब्द सिर्जनामा एकसाथ अघि बढिरहनु भएका भक्तराजका लागि २०४६ सालको एक साँझ कालो रात सावित हुन पुग्यो। त्यस साँझमा बौद्धमा सांघातिक हमलामा परेपछि उहाँ टाउको र मुखको चोटले ग्रस्त हुनुभयो।

त्यस क्रममा जिब्रोमा लागेको चोट विस्तारै क्यान्सरमा परिणत भएपछि भक्तराजले सधैंका लागि जिब्रो गुमाउनु पर्‍यो । त्यसयताको उहाँको सिंगो जीवन आवाजविहीन हुन पुग्यो । त्यसपछि उहाँको सांगीतिक जीवन गुमनाम बन्न पुग्यो।

मुटु जलिरहेछ यो मन गलिरहेछ, जीवन भनुँ त घात छ, जति चोट दिन्छौ देऊ मायालु, सबै बेहोसी नशा पिएर, हजार आँखा हेर्ने मेरी मायालुलाई, हजार सपनाहरूको माया लागेर आउँछ, जहाँ छन् बुद्धका आँखाजस्ता दर्जनौं लोकप्रिय गीत गाएका मूर्धन्य गायक भक्तराजको एकदिन मैले प्रभुसँग सोधेँ, तन मन बचनले, सब निदाए प्रभु, लौन अब मेरो प्रभु, भव सागरमा डुबी सकेँ म, भगवान दर्शन कसरी पाऊँ ?, ईश्वर प्रभु नै अन्तर्यामीजस्ता दर्जनौं भजन लोकप्रिय छन् ।

उहाँको जीवनीलाई लिएर आचार्य नामक फिल्मसमेत निर्माण भएको थियो । जिब्रो गुमाउनु परेकाले गायनबाट विमुख हुन पुगेका आचार्यको सांगीतिक सपना उहाँका गायक पुत्रद्वय सत्यराज आचार्य र स्वरूपराज आचार्यले पूरा गर्दै आउनुभएको छ ।

गायक आचार्यको अन्तिम संस्कार आज मंगलबार गरिने भएको छ। त्यसअघि आचार्यप्रति अन्तिम श्रद्धाञ्जली अर्पण गर्न उहाँको पार्थिव शरीर बिहान ९ बजे नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानको परिसरमा राखिने भएको छ।

प्रतिक्रिया दिनुहोस्