५ अस्पतालको फोहोर ढुवानी बन्द, अटेर गरे अनुमति खारेज हुने



काठमाडौं ।

काठमाडौं महानगरपालिकाले महानगरभित्र सञ्चालित ७ वटा सरकारीसहित २४ वटा अस्पतालको अनुगमन गरेको छ। महानगरभित्र सञ्चालन भएका अस्पतालले गरेको अस्पतालजन्य फोहोरको व्यवस्थापनबारे अनुगमन गरी कामपाले ५ अस्पतालको फोहोर संकलन बन्द गर्न निर्देशन दिएको छ।

अनुगमन टोलीले महानगरभित्र सञ्चालित सरकारी कान्ति बाल अस्पतालका साथै सहिद मेमोरियल, नेसनल, दीर्घायु गुरु र ओम अस्पतालको फोहोर संकलन बन्द गरेको हो।

कामपाको अनुगमन टोलीले फोहोर रोकिएको अस्पतालमा फेरि अनुगमन गर्नेछ। अनुगमनका क्रममा पुरानै अवस्था दोहोरिए अनुमति खारेज गर्नेसम्मको निर्णय गर्ने जनाएको छ।

कामपा वातावरण व्यवस्थापन विभाग प्रमुख रविनमान श्रेष्ठले फोहोर उठाउन रोकिएको र रोक्न निर्देशन दिएका अस्पतालाई कस्तो कारबाही गर्ने भन्ने विषयमा एकदुई दिनभित्र निर्णय गर्ने बताउनुभयो ।

उहाँले भन्नुभयो– ‘कान्ति अस्पतालले सुधार गरेको जानकारी दिएर कन्टेनरमा अस्पतालजन्य फोहोर ल्याएको थियो । सुधार नदेखेपछि फेरि बन्द गरेका हौं ।’

उहाँका अनुसार ती अस्पतालमा फेरि अनुगमन गर्ने र कैफियत देखापरे ५० हजारदेखि १ लाख रुपियाँसम्म जरिवाना गरिनेछ । त्यसपछि पनि फेरि गल्ती दोहोर्‍याए अनुमतिपत्र रद्दसम्मको निर्णय हुनेछ ।

कामपा वातावरण तथा प्राकृतिक स्रोत संरक्षण ऐन–२०७७ को दफा ५२ कसुरसम्बन्धी व्यवस्थामा ५० हजारदेखि २ लाख रुपियाँसम्म जरिवाना र अनुमती रद्द गर्नेसक्ने व्यवस्था छ।

कामपाका उपमेयर सुनिता डंगोलको नेतृत्वको टोलीले १३ दिनभित्र २३ वटा अस्पतालको अनुगमन गरेको हो । महानगरभित्र करिब १२ सरकारी र ४५ निजी अस्पताल सञ्चालित छन् ।

अनुगमनको क्रममा अधिकांश अस्पतालले फोहोर व्यवस्थापन व्यवस्थित गरेको दाबी गरे पनि सोअनुसार कार्यान्वयन नभएको भेटिएको छ। कामपाले आइतबारसम्ममा महाराजगञ्जको कान्ति बाल अस्पताल र अन्तर्राष्ट्रिय बालमैत्री अस्पताल, टेकुको शुक्रराज ट्रपिकल तथा सरुवारोग, ब्लुक्रस र काठमाडौं मोडल, थापाथलीको नर्भिक र परोपकार प्रसूति गृह, महाबौद्धको नेसनल ट्रमा सेन्टर र वीर अस्पतामा अनुगमन सम्पन्न गरेको छ ।

त्यसै गरी कामपाले अन्नपूर्ण न्युरो, बयोधा, हिमाल, राजधानी, हेल्पिङ हेन्डस, सिभिल, सहिद मेमोरियल, एभरेस्ट, दीर्घायु गुरु, नेपाल नेसनल, मेडिकेयर, ओम, त्रिचन्द्र मिलिटरी, भरोसा र भेनस अस्पतालमा अनुगमन सम्पन्न गरिसकेको छ।

सरकारी ७ अस्पतालमध्ये कान्ति बाल अस्पतालबाहेक ६ अस्पतालको अवस्था सुधारोन्मुख रहेको कामपाले जनाएको छ। अनुगमनको क्रममा बल्खुमा रहेको राजधानी अस्पताल बन्द भएको छ।

अनुगमन भएका सबै अस्पताललाई स्रोतमा फोहोर मिसिन सक्ने, ढुवानी तथा प्रशोधन कार्यमा सहभागी हुने व्यक्तिको सुरक्षा, भण्डारण कक्षको उचित प्रबन्ध र बाहिर निकाल्ने फोहोरमा धारिलो तथा जोखिमयुक्त फोहोर मिसिन सक्ने खतराबाट बचाउन सुझाव दिएका थिए।

कामपाले पहिलो दिन अर्थात् फागुन १ गते कान्ति वाल अस्पतालमा अनुगमन गरेको थियो । फोहोरको वर्गीकरण र ढुवानी पूर्व तयारीमा कमजोरी देखिएपछि कामपाले उक्त अस्पताललाई फोहोर उठाउन नसकिने जानकारी दिइएको हो ।

अस्पतालमा फोहोर छुट्याउन बाल्टिन राखिएको देखियो तर हरेक बाल्टिनमा सबै खालको फोहोर मिसाइएको भेटेपछि सो अस्पतालको फोहोर ढुवानीमा रोक लगाइएको हो। सुधार गरेको जानकारी दिए पनि सुधार नदेखेपछि कान्ति अस्पतालको फोहोर दोस्रोपटक रोक लगाएको विभागीय प्रमुख श्रेष्ठले जानकारी दिनुभयो।

अनुगमन टोलीले फेरि अनुगमन गर्दा कैफियत भेटिए अनुमति खारेज गर्ने जनाएको छ। टोलीले केही दिन थप योजना तयार गरी फेरि अनुगमनलाई निरन्तरता दिने जनाएको छ । विभागले केही दिनदेखि पोलिक्लिनिकहरूमा अनुगमन गर्ने भएको छ।

अनुगमन भएका २४ अस्पताल

१ कान्ति बाल अस्पताल महाराजगञ्ज
२.अन्तर्राष्ट्रिय बालमैत्री अस्पताल, महाराजगञ्ज
३. शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकु
४.ब्लुक्रस अस्पताल, त्रिपुरेश्वर
५.काठमाडौं मोडल अस्पताल, प्रदर्शनीमार्ग
६.नर्भिक अस्पताल, थापाथली
७.परोपकार प्रसूति गृह, थापाथली
८.नेसनल ट्रमा सेन्टर, महाबौद्ध
९.वीर अस्पताल, महाबौद्ध
१०.अन्नपूर्ण न्युरोलोजिल इन्टिच्युट माइतीघर
११.बयोधा अस्पताल बल्खु
१२.हिमाल अस्पताल कमलपोखरी
१३.राजधानी अस्पताल बल्खु,
१४.हेल्पिङहेन्डस अस्पताल चाबहिल
१५.सिभिल अस्पताल बानेश्वर
१६.सहिद मेमोरियल अस्पताल कलंकी
१७.एभरेस्ट अस्पताल बानेश्वर
१८.दीर्घायुगुरु अस्पताल चाबहिल
१९.नेपाल नेसनल अस्पताल कलंकी
२०.मेडिकेयर अस्पताल चाबहिल
२१.ओम अस्पताल चाबहिल
२२.त्रिचन्द्र मिलिटरी
२३.भरोसा अस्पताल बानेश्वर
२४.भेनस अस्पताल बानेश्वर

प्रतिक्रिया दिनुहोस्