बाबुआमा पनि कस्ता अबुझ ? भर्खर १२ पास गरेका, भात पकाएर खान पनि नजानेका, भावनात्मक र व्यावहारिक हिसाबले परिपक्व नभएका छोराछोरीलाई गहिरिएर बिचारै नगरी विदेश पठाउँछन् अनि एक महिना नपुग्दै दैनिकजसो फोन गरेर सोध्छन्, जागिर पायौ ? अरुको देखासिकी गरी के के न होला भन्ठानेर २०-२५ लाखसम्म खर्च गरी छोराछोरीलाई विदेश पठाउँदाको ऋणले यता बाबुआमालाई भत्भती पोल्न थाल्छ, उता कलेजको एक सेमेस्टरको पैसा तिरेर गएका छोराछोरीले जागिर पाएको हुँदैन, अर्को सेमेस्टरको पैसा तिर्ने बेला भइसकेको हुन्छ । पाइलैपिच्छे नयाँ कुराको सामना गर्नुपरिरहेको हुन्छ ।
घाम नलाग्ने र अँध्यारो धेरै हुने देशमा डिप्रेसनको समस्या बढी हुने गरेको पाइन्छ ।
कतिपयको त डेराको राम्रो व्यवस्था भएको हुँदैन, असाध्य महँगा ठाउँमा दैनिक खर्च धान्न पनि धौधौ परिरहेको हुन्छ । कलेजको पढाइ, खाना बनाउने, सरसफाइ र अरु व्यवस्थापन गर्दा होमवर्क गर्नसमेत भ्याइ–नभ्याइ भइरहेको हुन्छ । जागिर पाएर पनि कतिखेर काम गर्नेजस्तो अनुभव हुन्छ, त्यसमाथि काम नै पाइएको हुँदैन । त्यस्तो अवस्थामा बाबुआमाले फोन गरेर गर्ने प्रश्न पनि मिटरब्याजी साहुको यातनाजस्तो लाग्छ । यस्तै तनाव र निरासाले गर्दा विदेश पढ्न गएका धेरै विद्यार्थी मानसिक रोगको सिकार भइरहेका छन् ।
भैरहवाबाट क्यानडाको टोरोन्टो पढ्न गएका एकजना विद्यार्थी आफूले सोचेजस्तो पढाइ र काम नपाएपछि कोठा भाडासमेत तिर्न नसक्दा डिप्रेसनले ग्रस्त भएका थिए । उनलाई बेवारिसे अवस्थामा क्यानडा प्रहरीले भेट्टाएपछि सिबिक हस्पिटल पु¥याएको थियो । सो थाहा पाएपछि एनआरएन क्यानडाको पहलमा उद्धार गरी गत माघमा नेपाल पठाइएको थियो ।
त्यस्तै गरी क्यानडाकै ओन्टारियो कलेजमा पढ्ने अर्का एक नेपाली विद्यार्थीले केही महिनाअघि विविध समस्याको सामना गर्न नसक्दा मानसिक तनाव बढ्दै गएर आत्महत्याको प्रयास गर्न पुगेका थिए । काम नपाएकाले आम्दानीको स्रोत बन्द भएको थियो भने कलेजको फी र कोठाभाडा तिर्नुपर्ने दबाब बढेको थियो । घरबाट पैसा मगाउन सक्ने सि्थति त छँदै थिएन, उल्टो आफू आउँदा लिएको ऋण दिर्नुपर्ने दबाब घरबाट आइरहेको थियो । यी आदि कारण तनाव बढ्दै गएको र अगाडि बढ्ने कुनै निकासा नदेखेपछि आफू बस्ने कोठाको शौचालयमा गएर हातको नसा काटेका थिए । घाइते अवस्थामा उनलाई साथीहरूले अस्पताल लगेका थिए ।
त्यस्तै गरी क्यानडामा अध्ययन गर्ने, साथै पैसा कमाउने सपना बोकेर गएका अर्का विद्यार्थी लामो समय बेरोजगार बनेर खर्च धान्न नसकेपछि तनावमा पर्दै गई लागू पदार्थको कुलतमा फसेका थिए । रोजगारी नपाएका, बेखर्ची बनेका कतिपय नेपाली विद्यार्थीहरु अपराध कार्यमा पनि लाग्ने गरेको एनआरएन क्यानडाका पदाधिकारीहरुको भनाइ छ ।
हाल क्यानडामा आप्रवास नीतिमा कडाइ र रोजगारीको अभावको कारण कोठाभाडासमेत तिर्न नसकेका कतिपय नेपाली विद्यार्थीलाई सडकबाट नै उद्धार गर्नुपरेका घटना प्रकाशमा आएका छन् । खर्च अभावमा उनीहरु सडकमै बस्ने–खाने गर्न थालेका थिए । यस्ता विद्यार्थीहरु गम्भीर मानसिक रोगको सिकार हुने, दुव्र्यसनमा फस्ने, आत्महत्या गर्ने र अपराध कार्यमा समेत संलग्न हुन पुग्छन् ।घाम नलाग्ने र अँध्यारो धेरै हुने देशमा डिप्रेसनको समस्या बढी हुने गरेको पाइन्छ ।
क्यानडामा मात्र होइन, अहिले यो समस्या विशेष गरी १२ कक्षा पास गरेर बेलायतलगायतका युरोपेली मुलुकहरु, अस्ट्रेलिया, अमेरिका आदि देशमा पढ्ने र कमाउने उद्देश्य लिएर जानेहरुमा पनि धेरै देखिएको छ ।
विदेशमा मानसिक रोग
वरिष्ठ मानसिक रोग विशेषज्ञ प्रा.डा. पुष्पप्रसाद शर्मा भन्नुहुन्छ, ‘विदेशमा काम गर्न जानेबाहेक पढ्नका लागि भनेर अस्ट्रेलिया, अमेरिका, क्यानडा, बेलायतलगायत अन्य युरोपियन मुलुकमा पछिल्लो केही वर्षयता ठूलो संख्यामा किशोरकिशोरी गइरहेको पाइएको छ । उनीहरु प्रायः १२ कक्षा पास गरेर गएको देखिन्छ । उनीहरु पढ्नका लागि भनेर गए पनि कमाउने लक्ष्य पनि रहेको हुन्छ । विदेशमा पढ्ने र कमाउने कार्य सँगसँगै त्यति सहज छैन । साथै अहिले त काम नपाएर पनि धेरैको बिजोग भएका पनि खबरहरु आइरहेका छन् । यो परिसि्थतिमा उनीहरु डिप्रेसनमा गएका र आत्महत्याका प्रयास गरेका घटनाहरु पनि हुने गरेको पाइएको छ ।
विकसित देशहरुमा मानसिक रोगको उपचार सेवा राम्रो छ, तर ज्यादै महँगो छ । सामान्यतया विद्यार्थीले व्यहोर्नै सक्तैनन् । कतिपय विकसित देशमा मानसिक रोगको उपचारका लागि नाम लेखाएर ६ देखि ८ महिनासम्म पर्खिनुपर्ने सि्थति हुन्छ । नेपालमा जस्तो सहज उपचार छैन ।
उपचार महँगो हुनु र उपचारका लागि कुर्नुपर्ने कारणले गर्दा रोग पालेर बस्नुपर्ने हुन्छ । यसले गर्दा रोग निकै गम्भीर अवस्थामा पुग्छ र पछि उपचारका लागि पनि निकै लामो समय र खर्च लाग्छ । मानसिक रोगका कारण किशोरकिशोरीको काम गर्ने, कमाउने, अध्ययन गर्ने क्षमता ह्रास हुन्छ । काम गर्ने ठाउँमा तथा साथीभाइसँग गर्ने अन्तरसम्बन्धमा पनि ह्रास आउने हुन्छ । उनीहरुको पढाइ पनि तहसनहस हुन्छ र उनीहरुको भविष्यमा धेरै नराम्रो असर पर्न जान्छ ।
त्यसैले १२ कक्षा मात्र पढेर जानेहरुलाई घरबाट राम्रो आर्थिक सहयोग गर्ने अवस्था छैन भने मानसिक स्वास्थ्य जोखिममा राखेर विदेशमा गई पढ्ने प्रयास त्यति फलदायी हुन्छ भन्न सकिन्न । किनभने उनीहरु भावनात्मकरुपमा परिपक्व भइसकेका हुँदैनन्, व्यवहार राम्रो बुझेका हुँदैनन्, उनीहरुमा काम गर्ने सीप र क्षमता पनि कमजोर हुन्छ । उनीहरु प्रायः घरमा परनिर्भर भएर हुर्किएका हुन्छन्, आत्मनिर्भर हुने, समस्याहरुको सामना गर्ने क्षमताको विकास भइसकेको हुँदैन । अनि सानोतिनो समस्यामा पनि उनीहरु तनावमा पर्छन् ।
अहिले नेपाली किशोरकिशोरीहरुमा विदेशमा पढ्न जाने लहर बढेको छ भने अर्कोतिर विदेशमा कामका अवसरहरु खुमि्चँदै गएका छन् । अस्ट्रेलिया, क्यानडा, बेलायतजस्ता मुलुकका शहरी क्षेत्रमा त कोठाभाडा पाउनसमेत मुसि्कल भएका खबरहरु आइरहेका छन् । यस्तो अवस्थामा कलेजको फी तिर्ने, कोठा भाडा र आवश्यक दैनिक खर्च व्यवस्था गर्ने र आफू विदेश आउँदा भएको खर्चको भर्पाई छोराछोरीले गरिदिऊन् भन्ने बाबुआमाको अपेक्षा पूरा गर्न उनीहरुले सक्तैनन् अनि तनावमा पर्छन् ।
स्नातक गरेर जानेहरु धेरै बुझ्ने भइसकेका हुन्छन् ।
उनीहरुको शारीरिक, मानसिक विकास पनि राम्रो भइसकेको हुन्छ । शैकि्षक स्तर नै माथिल्लो हुने भएकोले बुझ्ने र कुनै कुरालाई ग्रहण गर्ने क्षमता पनि बढी परिपक्व भइसकेको हुन्छ । उनीहरुले काम पनि छिटो पाउँछन्, काम गर्ने क्षमता पनि बढी हुन्छ र बढी कमाउँछन् पनि । उनीहरुमा त्यहाँको सामाजिक, सांस्कृतिक, भौगोलिक वातावरणलाई बुझ्ने र आत्मसात् गर्ने क्षमता पनि १२ कक्षा पास गरेर गएकाहरुमा भन्दा राम्रो हुन्छ । यसले गर्दा उनीहरुमा मानसिक समस्या तुलनात्मकरुपमा निकै कम हुने गरेको पाइन्छ ।
तर १२ कक्षा मात्र पास गरेर जानेहरुमा त्यो क्षमता हुँदैन, अनि अनेक समस्यामा फस्छन् । त्यसकारणले बाबुआमाले १२ पास गरेपछि विदेश पढ्न पठाउने हो भने स्नातक गरुन्जेलका लागि खर्च घरबाटै पठाउने व्यवस्था गर्नुपर्छ । १२ कक्षा मात्र पढेका किशोरकिशोरीलाई कमाउँदै–पढ्दै गर भनेर पठाउँदा मानसिकलगायत अन्य धेरै समस्या आउने सम्भावना निकै हुन्छ । यो उमेरमा कमाउँदै–पढ्दै गर्ने काम एकदम कमले मात्र गर्न सक्छन् ।
अधिकांशको पढाइको परिणाम पनि अपेक्षाकृत राम्रो हुँदैन । यो कुरालाई बाबुआमाले पनि बुझ्नुपर्छ र आफ्ना छोराछोरीलाई पनि बुझाउनुपर्छ । साथै पहिलेदेखि त्यस्ता मुलुकमा बसेका नेपालीहरुले पनि नराम्रा कुरालाई ढाकछोप गरेर राम्रा कुरा मात्र देखाउने गर्नुहुन्न । यथार्थ कुरा भनिदिएर सतर्क गराउनुपर्छ ।’
केही महिनाअघि गैरआवासीय नेपाली संघको स्वास्थ्य समितिको आयोजनामा आयोजित मानसिक स्वास्थ्यसम्बन्धी एक भर्चुअल जनजागरण कार्यक्रममा बोल्ने चिकित्सकहरुले विदेशमा बस्ने नेपालीहरुको मानसिक स्वास्थ्य समस्या विशेष गरी आत्महत्या र डिप्रेसन बढ्दै गएको र यो चिन्ताजनक भएको बताएका थिए ।
उक्त कार्यक्रममा स्वास्थ्य समितिका संयोजक डा. सञ्जीव सापकोटाले विश्वका विभिन्न मुलकमा बसेका नेपाली समुदायमा डिप्रेसनको समस्या रहेको बताएका थिए । उनका अनुसार साइप्रस, साउदी अरेबिया, इजरायल, युएई, अस्ट्रेलियालगायतका देशमा रहेका नेपाली समुदायमा मानसिक स्वास्थ्य समस्या बढ्दै गएको छ । हालसम्म साइप्रसमा ८ जना, युएईमा ८८ जना र मलेसियामा २ सयजना भन्दा बढी नेपालीले आत्महत्या गरेका छन् । अन्य मुलुकमा पनि मानसिक रोग र आत्महत्याको क्रम बढिरहेको उक्त कार्यक्रममा बताइएको थियो ।
सामाजिक र भौगोलिक कारण
विदेशमा विशेष गरी पढ्न र कमाउनका लागि गएकाहरुमा मानसिक रोगको समस्या हुनुमा आर्थिक र व्यवस्थापकीय कारण त छँदै छन्, यसबाहेक सामाजिक, भौगोलिक, सांस्कृतिक, मनोवैज्ञानिक लगायतका कारणहरु पनि जिम्मेवार छन् । वरिष्ठ मानसिक रोग विशेषज्ञ डा. पुष्पप्रसाद शर्मा भन्नु हुन्छ, ‘नेपालको मानिस क्यानडा, अमेरिका, युरोप वा अस्ट्रेलिया जाँदा त्यहाँको समाज एकदमै भिन्न किसिमको भएको पाउँछन् । अंग्रेजी बोल्न जानेका भरमा सबै कुरा सहज हुने होइन, खानपान, भेषभूषा, संस्कृति, चाडपर्व, नियम कानुन आदि थुप्रै भिन्नताहरु हुन्छन् । आफ्नो भन्दा धेरै फरक खालको भौगोलिक वातावरण एवं प्राकृतिक फरकपन आदिसँग समायोजन भएर बस्नु त्यति सहज कुरा होइन । यी कुरा पनि उनीहरुको मानसिक स्वास्थ्यसँग गाँसिएर आउँछन् ।
जहिले पनि माइग्रेसन वा स्थानान्तरण भएका मानिसहरुमा मानसिक समस्या बढी देखिने गरेको पाइन्छ । चाहे त्यो पढ्न गएको होस्, चाहे काम गर्न वा त्यहीँ स्थायी बसोबास गर्न गएका जनसंख्यामा मानसिक समस्या बढी देखिएको छ । यी विभिन्न प्रयोजनका लागि नेपालबाहिर गएका नेपालीहरुको परिस्थिति पनि त्यही नै हो । यो समूह भनेको मानसिक रोग लाग्ने सम्भावना बढी भएको समूह मानिन्छ ।
मानसिक रोगमा मौसमले पनि ठूलो फरक पार्छ । जस्तो प्रायः घाम लागिरहने हाम्रो मुलुकका मानिस उत्तरी क्यानडालगायतका भूभागमा जाँदा ३-४ महिना त घाम नै लाग्दैन, ४-५ महिनासम्म हिउँ पर्ने र तापक्रम माइनस ३०-४० डिग्रीसम्म पुग्ने हुन्छ । यो सि्थति युरोपका कतिपय देशमा पनि छ । घाम कम लाग्ने सि्थति त युरोप, अमेरिका, क्यानडामा धेरै छ । यस्तै गर्मी महिनामा ४५ डिग्रीको गर्मी हुने र जाडोमा अति जाडो हुने अस्ट्रेलियालगायतका पूर्वी देशहरु, खाडी राष्ट्रहरुमा पनि मानसिक समस्या धेरै हुन्छ ।
सूर्यको किरणबाट हामीले युभी किरण धेरै लिइरहेका हुन्छौँ । आँखाले, छालाले ग्रहण गरिरहेको हुन्छ । नेपालजस्तो घाम लाग्ने मुलुकबाट गएकाहरुमा घामका किरण अनुभव गर्न नपाउँदा मानिसहरु डिप्रेसनमा जान्छन् । रात लामा र दिन छोटा भएका जाडो यामका दिनमा त्यहीँकै मानिसहरुमा पनि यो समस्या गर्मी याममा भन्दा बढी देखिन्छ भने हाम्रा नेपालीहरुमा त यो समस्या हुने सम्भावना अधिक हुन्छ । घाम नलाग्ने र अँध्यारो धेरै हुने देशमा डिप्रेसनको समस्या बढी हुने गरेको पाइन्छ ।
उच्च शिक्षा हासिल गरेर गएका आर्थिक सुरक्षा राम्रो भएकाहरुमा समस्या पर्दा पनि उपचारको सहजता हुन्छ । तर उपचार सेवा नै लिन नसक्नेहरुलाई यो निकै भयावह बन्दछ । त्यसकारणले १२ कक्षा मात्र पास गरेका छोराछोरीलाई सकेसम्म नपठाउनु राम्रो । पठाउनुपर्ने सि्थतिमा धेरै सोचबिचार गरेर त्यहाँ आउन सक्ने समस्याका बारेमा अध्ययन गरेर मात्र पठाउनु उचित हुन्छ । विद्यार्थी आफैँले पनि विदेशमा सामना गर्नुपर्ने रोजगारीलगायतका चुनौतीहरुको बारेमा अध्ययन नगरी जानुहुँदैन ।
१२ कक्षा पास गरेको अवस्था भनेको किशोरावस्था नै हुन्छ र कोही–कोही भर्खरै किशोरावस्था पार गरेका मात्र हुन्छन् ।
किशोरावस्थामा शारीरिक परिवर्तन र हर्मोनहरुको परिवर्तन एकैचोटि आएको हुन्छ । त्यसैले उनीहरुमा म ठूलो भइसकेँ, म धेरै काम गर्न सक्छु भन्ने विश्वास एवं आँट पलाएको हुन्छ । मैले गरेका निर्णयहरु ठीक हुन्छन् भन्ने खालका सोच उनीहरुमा आएको हुन्छ । किशोरकिशोरीको उमेर भनेको यस्तो उमेर हो जुन बेला उनीहरु अगाडि परेका सबै चुनौतीहरुको सामना गर्ने, अनुभव गर्ने कोशिश गर्छन् । यस्तै बेलामा उनीहरु लागू पदार्थको कुलतमा फस्न सक्छन् । यो बेलामा साथीहरुको दबाबको सामना धेरै गर्नुपर्ने हुन्छ । र, यस्तै दबाबले उनीहरु कुलतमा फसेर चुरोट गाँजा खाने र अन्य कडा खालका लागू पदार्थ खाने हदसम्म पुग्न सक्छन् ।
साथीहरुको दबाब, देखासिकी, सामाजिक सञ्जालमा विदेशमा बस्नेहरुले राखेका आकर्षक फोटाहरु र विदेशमा गएपछि सबै सहज हुन्छ, सुविधा नै सुविधा हुन्छ भन्ने गलत मनोविज्ञानका कारण विद्यार्थीहरु विदेशिन लालायित हुन्छन् र घर–परिवारलाई दबाब दिन्छन् । कतिपयको चाहिँ बाबुआमा नै छोराछोरीलाई विदेशमा पढ्न पठाउनुलाई इज्जतको विषय ठान्छन् र राम्ररी नबुझी आफ्ना छोराछोरी र आफ्नो क्षमताभन्दा बाहिरको काम गर्न तमि्सन्छन् ।
अहिले विदेशमा पढ्न जानुमा धेरैले ग्लामर देखेका छन् तर यो ग्लामर होइन, संघर्ष गर्न जाने, अनेक चुनौतीहरुको सामना गर्न जाने हो । त्यहाँ एकदमै रातारात मालामाल भइन्छ, सफलता मिल्छ, कार चढेर घुम्न पाइन्छ भन्ने सोच गलत हो । वास्तविकता यस्तो हुँदैन । एकदमै परिश्रम गर्नुपर्ने, समस्याहरु धेरै हुने र तनाव पनि धेरै हुने हुन्छ । त्यसैले विदेश जाने सोच बनाउँदा आफ्नो अवस्था, परिवारको अवस्था र त्यहाँ सामना गर्नुपर्ने चुनौतीहरुका बारेमा राम्ररी बुझेर मात्र जानुपर्छ ।’
वैदेशिक रोजगारीमा जानेहरुमा समस्या
शिक्षा आर्जनका लागि मात्र होइन, वैदेशिक रोजगारीका लागि जानेहरुमा पनि डिप्रेसन, एन्जाइटीलगायतका विभिन्न मानसिक रोग र आत्महत्याका समस्या प्रशस्तै देखिने गरेको छ । श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले सन् २०२२ मा तयार गरेको नेपाल लेबर माइग्रेसन रिपोर्ट अनुसार आर्थिक वर्ष २००८-२००९ देखि आर्थिक वर्ष २०२१-२२ सम्ममा १० हजार ६ सय ६६ जना श्रमिकले वैदेशिक रोजगारीका क्रममा ज्यान गुमाएका थिए । ती मध्ये १ हजार १ सय ८७ जना नेपाली श्रमिकको मृत्युको कारण आत्महत्या रहेको थियो ।
उक्त प्रतिवेदनमा चिन्ता, निरासा, क्षयरोग, दुर्घटना, चोटपटक, टाउको दुख्नु अनि आत्महत्याको प्रयासलाई खाडी मुलुकहरुमा काम गर्नेहरूको प्रमुख स्वास्थ्य जोखिमका रूपमा उल्लेख गरिएको छ । उक्त प्रतिवेदनमा आर्थिक वर्ष २०१९-२० देखि आर्थिक वर्ष २०२१-२२ सम्मको तीन वर्षको अवधिमा सबैभन्दा बढी ८० जना श्रमिकले मलेसियामा आत्महत्या गरेको उल्लेख छ । यस्तै गरी साउदी अरेबियामा ७८ जना, कतारमा ५० जना र युएईमा ५८ जना नेपाली श्रमिकले आत्महत्या गरेको उल्लेख गरिएको छ ।
मानसिक रोग विशेषत्र डा. पुष्पप्रसाद शर्मा भन्नुहुन्छ, ‘वैदेशिक रोजगारीमा जाने अधिकांश युवाहरु बाध्यात्मक कारणले गइरहेका छन् । हाल एयरपोर्टमा विदेश जाने युवाहरुको निकै भीडभाड देखिन्छ । त्यहाँ उनीहरु र उनीहरुको परिवारको पीडा प्रस्टैसँग छचलि्कएको हुन्छ । घरका २०÷२२ वर्षका युवा घर छोडेर जाँदा परिवारमा पक्कै पनि पीडा हुन्छ । भर्खर विवाह भएका युवाका पति वा पत्नी, बाबुआमा र सन्तान भएको अवस्थामा उनीहरुलाई ठूलो मानसिक तनाव हुन्छ ।
बच्चाहरुलाई त यसको असर पछिसम्म परिरहेको हुन्छ । वर्तमान अवस्थामा रेमिट्यान्सलाई हेरेर युवाहरुलाई विदेश जान प्रोत्साहित गरिएको छ । यसको नकारात्मक असर बिस्तारै पछि देखा पर्छ, दशकौंसम्म यसको सामाजिक र मानसिक असर समाजले भोग्नुपर्ने हुन्छ । वैदेशिक रोजगारीका लागि गएकाहरुमा घर छोड्नुपर्दाको निरासा, एक्लोपन, कमाउनका लागि कडा संघर्ष गर्नुपर्ने, विदेश आउँदा लिएको ऋण तिर्नुपर्ने चिन्ता, फरक हावापानी, फरक सामाजिक वातावरण, फरक संस्कृति, फरक भाषा आदि भिन्न किसिमको परिवेशमा बस्नुपर्ने बाध्यता अनि घर परिवारको चिन्ताले गर्दा उनीहरुमा विशेष गरी डिप्रेसन, एन्जाइटीजस्ता मानसिक समस्याहरु र आत्महत्याका समस्या देखिने गरेका छन् ।
त्यहाँ यस्ता समस्याको राम्रो उपचार नपाउने, राम्रो परामर्श नपाउने डाक्टरसम्म उनीहरुको पहुँच नै नहुने कारणले औषधि नै पाउँदैनन् । यी लगायतका कारणले गर्दा रोग बढ्दै गई कतिपयले गम्भीर खालको मानसिक रोगको सामना गर्न पुग्छन् । यसमध्ये कतिपयलाई साथीहरु वा नेपाली सामाजिक संस्थाहरुले उद्धार गरेर नेपाल पठाउँछन् । कतिपयलाई परिवारले एयरपोर्टबाट सिधै अस्पताल ल्याउने गर्छन् । मकहाँ मात्र होइन, अरु मानसिक रोग विशेषज्ञहरुकहाँ समेत यस्ता धेरै बिरामीहरु पुग्ने गरेका होलान् । नेपालमा उपचारका लागि आउँदा धेरैको मानसिक अवस्था निकै नै बिग्रिसकेको हुन्छ । यस्ता बिरामीलाई उपचार गर्न पनि लामो समय लाग्ने हुन्छ ।
युवा अवस्थामा यौनचाहना पनि उत्कर्षमा हुन्छ । विवाह नै नगरी विदेशमा काम गरेर बस्नुपर्ने वा विवाह गरेर पनि छुटि्टएर बस्नुपर्ने बाध्यताले अवैध यौन एवं विवाहइतर सम्बन्ध राख्ने सि्थति सिर्जना हुन्छ । यौनसम्बन्ध राख्न नपाउँदा पनि तनावको सिर्जना हुन्छ भने विवाहइतर सम्बन्ध राख्दा पनि त्यसले अनेक किसिमका समस्या उत्पन्न गरी तनाव सिर्जना गरिदिन्छ । जसको परिणामस्वरुप पुरुष तथा महिला ठूलो तनावमा परी मानसिक रोगग्रस्त हुन्छन् । यसले घरपरिवारको मानसिक स्वास्थ्यमा समेत असर गरेको हुन्छ ।
युवा अवस्थाका छोराछोरी विदेशमा गएकाले यहाँ रहेका बाबुआमा र पति वा पत्नी र सन्तानमा पनि मानसिक समस्या परिरहेको हुन्छ । उपचारका लागि अस्पताल आउने बिरामीहरुको बारेमा गहिरिएर सोधपुछ गर्न थाल्दा त्यसको लहरो विदेश गएका छोराछोरीसम्म पुग्छ । मानसिक समस्या १२ वर्षदेखि ३० वर्षको उमेर समूहमा र ६० वर्षपछिको उमेरमा बढी देखिने गर्छ । किशोरकिशोरी पढ्नका लागि र २०-२२ वर्षका युवाहरु वैदेशिक रोजगारीमा जाने कारणले उनीहरुमा मात्र होइन स्वदेशमा रहेका बाबुआमाले समेत मानसिक रोगको सामना बढी गर्नुपरेको हुन्छ । विदेशमा छोराछोरी भएका धेरै बाबुआामालाई मानसिक स्वास्थ्यसम्बन्धी परामर्शको आवश्यकता भएको पाइन्छ ।
आफू सानो हुँदै बाबु वा आमा वा दुवै विदेशमा जाँदा बच्चाहरुमा असुरक्षाको महसुस हुन्छ । बालबालिकाले जुन किसिमको वातावरण पाउनुपर्ने हो, त्यो वातावरण उनीहरुले पाएका हुँदैनन् । बालबालिका आफ्ना बाबुआमासँग शारीरिक मात्र होइन, भावनात्मकरुपमा पनि गाँसिएका हुन्छन् ।
अचानक बाबु वा आमासँग विछोड हुनुपर्दा त्यसको गहिरो असर उनीहरुमा परेको हुन्छ । यो मानसिक तनाव उनीहरुले बोलेर व्यक्त गर्न सक्तैनन् तर व्यवहारमा बिस्तारै देखिन थाल्छ । यसले दीर्घकालसम्म असर गर्न सक्छ । ग्रामीण भेगमा यो समस्या तीव्र वृदि्धको क्रममा छ । तर समाज र राज्यले यसलाई प्राथमिकतामा राख्न सकेको छैन । यो समस्यालाई सम्बोधन गर्न राज्यको तत्परताको आवश्यकता छ । मानसिक रोगको उपचार मानव अधिकारको कुरा पनि भएकाले सरकारले यसलाई प्राथमिकतामा राख्नुपर्छ । जनचेतनालगायतका कार्यमा सरकारले जोड दिनुपर्छ’, डा. शर्माले जोड दिनुभयो ।
प्रतिक्रिया