संघीय संसद्का दुवै सदनको बैठक बस्दै, यस्तो छ सम्भावित कार्यसूची

56
Shares

काठमाडौं ।

सङ्घीय संसद्का दुवै सदनको बैठक आज बस्दै छ। प्रतिनिधिसभाको बैठक सङ्घीय संसद् भवन नयाँ बानेश्वरमा बिहान ११ बजे बोलाइएको छ। यसै गरी राष्ट्रिय सभाको बैठक पनि आज बिहान ११ बजेदेखि नै सुरु हुँदै छ।

आजको प्रतिनिधिसभाको बैठकमा सभामुख देवराज घिमिरेले प्रधानमन्त्री तथा मन्त्री परिषद् कार्यालयबाट प्राप्त कार्यभार तोकिएको सम्बन्धी पत्रको ब्यहोरा पढेर सुनाउने सङ्घीय संसद् सचिवालयले जनाएको छ।

राष्ट्रियसभामा उत्पत्ति भएको विधायन सम्बन्धी विधेयक २०८० का सबन्धमा राष्ट्रियसभाबाट प्राप्त सन्देश सहितको विधेयक टेबुल गरिनेछ। साथै, उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयको कार्यभार सम्हालेका स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री मोहनबहादुर बस्नेतले राष्ट्रियसभामा उत्पत्ति भएको विद्युत व्यापार विधेयक २०८०’ माथि बिचार गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्नेछन्।

अर्थ मन्त्री प्रकाशशरण महतले आव २०८१/८२ का लागि विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकता सबन्धमा (कर प्रस्तावबाहेक) माथि छलफल गरियोस् भनी प्रस्ताव पेस गर्ने कार्यसूची रहेको महासचिव पदमप्रसाद पाण्डेयद्दारा जारी गरिएको सम्भावित कार्यसूचीमा उल्लेख गरिएको छ।

राष्ट्रियसभा बैठकमा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट प्राप्त मन्त्रिपरिषद् सदस्यको कार्यभार तोकिएको सम्बन्धी पत्रको ब्यहोरा जानकारी गराउने, विधायन व्यवस्थापन समिति  सभापति जयन्ती देवी राईले विधायन व्यवस्थापन समितिको वार्षिक प्रतिवेदन, २०७९/८० सभा समक्ष पेस गर्ने सम्भावित कार्यसूची छ।

राष्ट्रिय सरोकार तथा समन्वय समितिका सभापति दिलकुमार रावल (पार्वती) ले ‘राष्ट्रिय निकुञ्ज, वन्यजन्तु आरक्ष र मध्यवर्ती क्षेत्रमा मानव र वन्यजन्तु बिचको द्वन्दको अवस्था प्रतिवेदन, २०८०’ सभा समक्ष पेस गर्ने छिन् ।

उपप्रधान तथा गृह मन्त्री नारायणकाजी श्रेष्ठले ‘अध्यागमन विधेयक २०७६ फिर्ता गरियोस्’ भन्ने प्रस्ताव सभा समक्ष प्रस्तुत गर्ने कार्यसूचीमा उल्लेख गरिएको छ।

अर्थ मन्त्री प्रकाशशरण महतले आव २०८१/८२ का लागि विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकता सबन्धमा (कर प्रस्तावबाहेक) माथि छलफल गरियोस् भनी प्रस्ताव पेस गर्ने कार्यसूची रहेको संसद् सचिवालयले जनाएको छ।