धर्म र अधिकारमा प्रेम र घृणाको सम्बन्ध



काठमाडौं ।

विश्वव्यापी मानवअधिकारको घोषणापत्र विभिन्न धार्मिक ग्रन्थमा व्यक्त मानवीय हितका प्रावधानहरुका आधारमा तयार भएको हो। तर कतिपय क्षेत्रमा धर्म र अधिकारबीच हिरण्यकश्यपु र प्रह्लादबीचको सम्बन्ध छ– नातामा बाबु–छोरा, कर्ममा भिन्न ध्रुव।

यसका उदाहरण धेरै छन् । धर्म–संस्कृतिले भन्छ, मासिक श्रावका बेला महिलालाई पर राख, मानवअधिकारले भन्छ, त्यसो गर्नु विभेद हो । धर्मग्रन्थले भन्छ, पुरुषले बहुविवाह गरे हुन्छ, तर महिलाले हुँदैन । मानवअधिकारले पुरुष वा महिला भएकै कारण भिन्न नियम लगाउन पाइन्न भन्छ भने धर्मग्रन्थले महिला र पुरुषलाई कामको जिम्मेवारी र अधिकारमा कित्ताकाट गरेको छ, तर मानवअधिकारको विश्वव्यापी घोषणापत्र पढ्दा लिङ्ग, जाति, धर्म, रंग, सम्प्रदाय, क्षेत्र, वर्ण आदि कुनै पनि आधारमा यस्तो विभेद गर्न पाइन्न ।

भर्खरै फाल्गुण ७ गते प्रजातन्त्र दिवस मनाइयो, सात साललाई स्मरण गरियो, जहानिया राणाशासन ढलेको इतिहास याद गरियो । शहीदको शालिकमा माल्यार्पण गरियो । तर माला लगाउने कुनै शालिक ब्राह्मणको थिएन, न त महिलाको नै थियो । किनभने राणाकालमा ब्राह्मणलाई मृत्युदण्ड दिइन्नथ्यो। महिलालाई पनि त्यस प्रकारको सजाय हुन्नथ्यो । उनीहरु मृत्युदण्डबाट मुक्त थिए । धर्मले जात र लिङ्गका आधारमा विभेद गरेको थियो । तर, आधुनिक कानुनमा सामान्यतः यस प्रकारको विभेद छैन । यद्यपि मुस्लिम समुदायमा बुर्का लगाउने धार्मिक अधिकारको विषय हो कि लगाउनै पर्ने बाध्यताले मानवअधिकारको हनन गरेको हो, विवाद कायम छ । यस्ता उदाहरण प्रायः सबै धर्ममा देखिन्छन् ।

सनातन हिन्दु धर्म, बौद्ध धर्म, इसाई र इस्लाम धर्मका मूलग्रन्थहरु क्रमशः गीता, त्रिपिटक, बाइबल र कुरानमा महिलाको स्थान देखाउँदै यस पंक्तिकारले एक दर्जन जति भिडियो सार्वजनिक गरेपछि प्रस्तोतालाई शुभचिन्तकहरुले भन्नुभयो– धर्मग्रन्थहरुले महिलालाई पक्षपात गरेको, पुरुषलाई बढी महत्व र अधिकार दिएको तर महिलालाई तुलनात्मकरुपमा निकै कम महत्व दिएको र पुरुषको अधिनस्थ हुने गरी सीमित अधिकार दिएको प्रमाणित भयो।

यसरी त श्रोता–दर्शकहरुमा हाम्रा धर्म, मान्यता, परम्परा र सभ्यताप्रति नै विश्वास घटेर जाने भयो, धर्मग्रन्थहरुमा राम्रा कुराहरु पनि त होलान्, त्यसलाई पनि बाहिर ल्याउनुस् ! यद्यपि हरेक भिडियोमा प्रस्तोताले धर्मग्रन्थभित्र रहेको लैङ्गिकता मात्र हेरेको हो, ती ग्रन्थभित्र जीवन दर्शनहरु छन्, सुख, शान्ति र मोक्षका मार्गहरुको चित्रण छ । त्यो गम्भीर सागरलाई चलाउने धृष्टता प्रस्तोताको होइन भन्दै पनि आएको छ, र महिलालाई जहाँ–जहाँ शास्त्रले छुटाएको छ, त्यहाँ हामी सचेत पाठकले परिपूरक प्रार्थना गर्नु आवश्यक छ भन्ने यस प्रस्तोताको आग्रह थियो ।

जस्तो, सप्तशति चण्डी अथवा स्वस्थानी व्रतकथामा देवीसँग छोरा मात्र मागिएको छ, छोरी मागिएको छैन, तर छोरी चाहिँदैन पनि भनिएको छैन, हामीले दुर्गा र स्वस्थानी माताको प्रार्थना गर्दा छोराका साथ छोरी पनि थपेर मागौं, देवी स्वयं महिला, उनी पनि प्रसन्न नै होलिन् । पुत्र देऊ, धन देऊ, यश देऊ, विजय देऊ, राम्री श्रीमती देऊ भनेर भगवतीसँग मागिएको ठाउँमा राम्री छोरी पनि देऊ भनी थपेर मागौं भन्ने मात्र प्रस्तोताको अनुरोध हो ।

मनुस्मृति होस् वा विदुर, चाणक्य र यस्तै अनेक धार्मिक नीतिहरु, त्रिपिटक, बाइबल, कुरान यी सबै पाँच हजारदेखि १५ सय वर्षअघिसम्मका विधानहरु हुन्, आजको नेपालको संविधान, २०७२ जस्तै । त्यस बेलाका कानुन हुन् । समय बदलियो, कानुन पनि बदलियो।

समाजलाई समसामयिक र बढी न्यायिक बनाउन नयाँ–नयाँ कानुन आए, समयको माग चिनेर मुलुक संघीय लोकतान्त्रिक गणतन्त्रमा आएको छ। तर आजको संविधान र मानवअधिकारको विश्वव्यापी घोषणापत्रको जगलाई बिर्सन हुन्न । जग फेरि पनि गीता, त्रिपिटक, बाइबल र कुरानहरु नै हुन् । यत्ति हो, त्यसभित्रका राम्रा पक्षहरु सर्दै आए, संस्कार सर्दै आउनु आवश्यक पनि छ । तर, एकथरी मान्छे हुन्छन्, परिवर्तनको कुरा त गर्छन्, तर परिवर्तन पचाउन्नन् ।

मातृजातिको मासिक श्राव छिःछिः र दुर्दर्को विषय होइन भन्दा स्वीकार गर्छन् तर सामाजिक र घरव्यवहारका अनेक गतिविधिबाट महिनाका चार दिन पर हट्छन्, हटाइन्छन् । हुन त सय वर्षअघि सतीप्रथा हटाउनुहुन्न भन्नेहरु पनि यस्तै अलमलमा थिए, दासप्रथा हटाउँदा होस् वा जार काट्दै हिँड्ने जंगली चलन निर्मूल गर्दा होस्, आज बालविवाह हटाउनुपर्छ भन्दा होस्, परिवर्तन पचाउन नसक्ने जमात यस्तै द्विविधामै रहन्छ । तर ढिलोचाँडो सतीप्रथा क्रूर र अमानवीय थियो भनेर आफैँ स्वीकार गर्छन् ।

त्यसो त धेरैै ठाउँमा महिला जगत्लाई धर्मशास्त्रले विभेद गर्दागर्दै पनि सम्मान गरेका स्थानहरु पनि नभएका होइनन् । हो, धर्मशास्त्रले महिलालाई सम्मान पनि गरेको छ। मनुस्मृतिको दोस्रो अध्यायको १४५औं श्लोकमा भनिएको छः ‘उपाध्यायान् दशाचार्य आचार्यानां शतं पिता, सहश्रं तु पितृन् माता गौरवेणातिरिच्यते।’ अर्थात्, पुरोहितभन्दा दश गुणा श्रेष्ठ शिक्षक हुन्, शिक्षकभन्दा १०० गुणा श्रेष्ठ पिता र पिताभन्दा १००० गुणा श्रेष्ठ माता हुन् । यो त्यही मनुस्मृति हो, जसले स्त्री जातिलाई कहिल्यै स्वतन्त्र छोड्नुहुन्न, सानामा बाबु, जवानीमा श्रीमान् र वृद्धामा छोराको नियन्त्रणमा राख्न आदेश गर्दछ । तर माताका रुपमा महिलालाई सम्मान र मान्यता पनि उत्तिकै प्रदान गर्दछ । स्वामी रामसुखदास ‘मातृशक्तिको घोर अपमान’ कितावमा लेख्छन्, स्त्रीका दुई रुप छन्ः कामिनी रुप र मातृ रुप । विभिन्न धर्ममा जहाँ–जहाँ स्त्रीको निन्दा गरिएको छ, त्यो कामिनी अर्थात् भोग्या रुपकै निन्दा हो, मातृ रुपको होइन । मातृ रुपले त स्त्रीलाई पुरुषलाई भन्दा हजार गुणा श्रेष्ठ ठानेको छ ।

यसै गरी ईश्वरकोटीका पञ्चदेवमा महिलालाई पनि स्थान दिइएको छ । विष्णु, शंकर, गणेश र सूर्यका साथमा भगवतीको पनि नाम आउँछ । हिन्दु धर्ममा मात्र होइन, अन्य धर्मले पनि मातृ जातिको उच्च सम्मान गरेको छ । कुरानमा बाबुआमाको सेवा गर्न सन्तानलाई परवरदिगार अर्थात् ईश्वरको आदेश छ भनिएको छ । आमाले सन्तानलाई दुःखका साथ पेटमा राखेर हुर्काएकी र जन्माउँदा पनि दुःख पाएकी कारण उनको उच्च सम्मान गर्न अल्लाहले आदेश दिएको जनाइएको छ । यसै गरी बाइबलको निर्गमन २०–१२ मा आफ्ना पिता र माताको आदर गर्न भनिएको छ । त्यस्तै, माता र पिताको डर मान्न, वृद्ध अवस्थामा हेला नगर्न आदेश गरिएको छ । आमा–बाबुको आदेश र उपदेश मान्न सुझाव दिइएको छ ।

यद्यपि यही बाइबलले नयाँ नियम दुई १२–१५ मा महिलालाई पुरुषमाथि उपदेश र आदेश नगर्न निर्देश गरेको छ । स्वामी राम सुखदासको निष्कर्ष छ, धर्मशास्त्रले आमालाई देवता मानेको छ, मातृदेवो भव भनेको छ, तर भोग्या रुपको भने निन्दा गरेको छ । आधुनिक कालमा महिलालाई सर्वत्र भोग्याका रुपमा मात्र चित्रण गरिएका कारण धर्मशास्त्रले महिलालाई पक्षपात गरेको देखिएको हो भन्ने उनको धारणा छ ।

स्कन्दपुराणले आमालाई सबै गुरुहरुमध्ये परम गुरु मानेको छ । ‘गुरुणां चैव सर्वेषां माता परमो गुरु’, पतीत गुरुलाई त्याग गर, तर आमा कुनै पनि प्रकारले त्याज्य छैनन् भनिएको छ । यद्यपि निर्णयसिन्धुले दोस्रो विवाह गरेकी आमाको पहिलो श्रीमान्बाट जन्मेका छोराले अन्तिम क्रियाकर्म पनि गर्नुपर्दैन भन्छ, विवाहसँगै महिलाको गोत्र परिवर्तन हुने भएकाले पहिलो श्रीमान्का सन्तानले १३ दिने क्रियाकर्म गर्नु नपर्ने, सामान्य आशोच बारे पुग्ने तर्क दिन्छ।

आमाप्रति सम्मान गर्ने–गराउने कुरामा यदाकदा धर्मशास्त्र चुके पनि अधिकांशतः मातृशक्तिको आराधना नै छ । सबैतिर पुरुष प्रधानता देखाउने दुर्गा सप्तशतीमा पनि भनिएको छ, ‘विद्याः समस्तास्तव देवी भेदाः, स्त्रियः समस्ता सकला जगत्सु ।’ हे देवी, समस्त विद्या तिम्रै भिन्नभिन्न स्वरुप हुन्, संसारमा भएका सम्पूर्ण स्त्रीहरु तिम्रै मूर्ति हुन् । तिम्रो स्तुति गाएर सकिन्न, तिमी स्तुतिका वचनदेखि माथि छ्यौ ।

स्वामी रामसुखदासको निष्कर्ष छ, धर्मशास्त्रले महिलाको विवाह माता बन्नका लागि गर्नुपर्छ भनेको छ, तर आधुनिक युगले विवाह भोग्या बन्नका लागि गराउन थालेका कारण महिलालाई सर्वत्र लाञ्छना लाग्ने गरेको हो । महिलालाई असल आमा बन्न सिकाउने भन्दा शारीरिक रुपले सुन्दरी बन्न, कामुक देखिन र जसरी भए पनि पुरुषको मन लोभ्याउन सिकाउने परिवेश बनाइएका कारण मातृजातिको घोर अपमान भएको रामसुखदासको निष्कर्ष छ । आधुनिक युग स्त्री भ्रूणहत्याको युग बनेको छ, महिलालाई जन्मनुअघि नै हत्या गर्ने संस्कार धर्मले सिकाएको छैन । पराशरस्मृतिमा भनिएको छ, ‘यत्पापं ब्रह्महत्याया द्विगुणे गर्भपातने’ अर्थात् जुन पाप ब्रह्महत्या गर्दा लाग्छ, त्यसको दुई गुणा पाप गर्भपतन गर्दा लाग्दछ । गर्भपातरुपी पापको कुनै प्रायश्चित पनि छैन ।

धार्मिक नीतिका आधुनिक व्याख्याताहरुका अनुसार महिलालाई सानामा बाबु, जवानीमा श्रीमान् र वृद्धामा छोराले हेर्छ भनेर महिलाको स्वतन्त्रता कुण्ठित पार्न खोजिएको होइन, पुरुषलाई महिलामाथिको जिम्मवारी सम्झाउनका लागि मात्र भनिएको हो । त्यस्तै, ‘ढोल गवाँर शूद्र पशु नारी, सकल ताडना के अधिकारी’ भनेको पनि महिलालाई पिट्नुपर्छ भनिएको होइन, ताडन गर्नु भनेको शिक्षा दिनु हो, धर्मशास्त्रले महिलालाई अपमानित गरेको छैन, बरु समताको दृष्टिले हेरेको छ भन्ने उनीहरुको पछिल्लो तर्क छ ।

निष्कर्षमा नीति व्याख्याताका दृष्टिकोणहरु पनि फेरिँदै छन् । सतीप्रथाजस्तै अविवेकी र असमान प्रथाहरु त्यागिने क्रममा छन् । धर्मका सुन्दर पक्षलाई स्वीकार गर्ने र आपत्तिजनक प्रावधानमा निरन्तर प्रश्न उठाउने हो भने ‘ताडन भनेको पिटाइ होइन, प्रशिक्षण हो’ भन्ने व्याख्याहरु यत्रतत्र भेटिनेछन् । हिरण्यकश्यपु र प्रह्लादबीच निकटता बढ्न सक्छ । दुवै पक्षबाट एक–आपसको भावनालाई सम्मान गर्ने मानसिकताको विकासका लागि निरन्तर प्रयास हुनु भने आवश्यक हुन्छ ।

सामाजिक सद्भाव र स्थायी शान्तिका लागि धर्म र अधिकारबाट धर्माधिकार हुनु आवश्यक छ। धर्मलाई कर्तव्यको फराकिलो दायरामा राखेर हेर्दा अधिकार र कर्तव्यबीच खासै भिन्नता पनि त देखिन्न !

प्रतिक्रिया दिनुहोस्