समाज कल्याण परिषद्मा तोक आतंक : पहिला मन्त्रीकी बुहारी, अहिले राष्ट्रपतिका भतिज

3k
Shares

काठमाडौं  ।

महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय मातहत रहेको समाज कल्याण परिषद्को उपाध्यक्ष बन्न फेरि पनि तोक आतंक शुरू भएको छ।

यसअघि तत्कालीन महिला, बालबालिका तथा जेष्ठ नागरिक मन्त्री उमा रेग्मीले आफ्नै तोक आदेशमा बुहारी मोनिका भट्टराईलाई समाज कल्याण परिषद्को उपाध्यक्षमा नियुक्ति दिलाउनुभएको थियो। यसपटक सो पदमा राष्ट्रपति रामचन्द्र पौडेलका भतिज अनिलराज पौडेललाई सीधै जागिर खुवाउन मन्त्री सुरेन्द्रराज आचार्यले तोक लगाउनुभएको छ।

यसअघि तोक आदेशबाट उपाध्यक्ष बनेकी मोनिकाले अमेरिकाको स्थायी बसोबास अनुमति (पीआर) भएको पाइएपछि कारबाहीमा पर्ने डरले राजीनामा दिनुभएको थियो।

अमेरिकाको पीआर भएको थाहा हुँदाहुँदै आफ्नै बुहारीलाई नियमविपरीत नियुक्ति दिने तत्कालीन मन्त्री रेग्मीमाथि कारबाही हुनुपर्नेमा हालसम्म कुनै कारबाही हुन सकेको छैन। रेग्मीकी बुहारी भट्टराईले राजीनामा दिएपछि सो पद रिक्त रहँदै आएको थियो।

हालका महिला, बालबालिका तथा जेष्ठ नागरिक मन्त्री सुरेन्द्रराज आचार्यले योग्यता र प्रतिस्पर्धासम्बन्धी कुनै पनि मापदण्ड नै नअपनाई एकैचोटि नियुक्तिको तोकादेश गरेपछि उहाँ विवादमा तानिनुभएको छ। मन्त्री आचार्यले मन्त्रालयका सचिव सुमन अर्याललाई तोकादेश गर्दै पौडेललाई सामाज कल्याण परिषद्को उपाध्यक्षमा नियुक्ति गर्न दबाब दिनुभएको छ।

राष्ट्रपतिका भतिज पौडेलले गत माघ २६ मा मन्त्री आचार्यसमक्ष परिषद्मा ‘नियुक्ति दिलाई पाऊँ’ भन्दै निवेदन दिनुभएको थियो। त्यसपछि मन्त्री आचार्यले सोही निवेदनमा नै तोकादेश गर्दै ‘श्री सचिवज्यू प्रक्रिया अघि बढाउन’ भन्दै निर्देशन दिनुभएको हो।