सरकारको असफलताले अर्थतन्त्रमा समस्या देखियो : डा. पुष्पराज कँडेल

126
Shares

काठमाडौं ।

नेकपा एमाले लेखा आयोगका अध्यक्ष डा. पुष्पराज कँडेलले नेपालको अर्थतन्त्रमा समस्या आउनु आर्थिक मन्दीको कारण नभएको बताएका छन्।

आइतबार नेकपा एमाले रामेछाप पार्टी स्कुल विभागले आयोजना गरेको जिल्ला स्तरीय प्रशिक्षक प्रशिक्षण कार्यक्रममा बोल्दै कँडेलले गठबन्धन सरकारमा कार्यक्षमताको अभावको कारण नेपालको अर्थतन्त्रमा समस्या आएको बताए। ‘यो सरकारको असफलताको कारण आएको मन्दी हो’, उनले भने ।

उनले दक्षिण एसियामा कुनै आर्थिक मन्दी नभएको स्पष्ट पारे। ‘साउथ एसियन मुलुकमा मन्दी छैन, मन्दीमा गएको श्रीलङ्का पुरानो अवस्था भन्दा पनि माथि गइसक्यो, भारत मन्दीमा गएको छैन, बङ्गलादेश भुटान कुनै पनि मन्दीमा गएका छैनन्, चीनमा केही मन्दी आएको भनिन्छ, त्यो पनि सङ्कटको अवस्थामा छैन’, उनले भने।

नेपालमा कोभिड पछि अर्थतन्त्र माथि उठ्नु पर्नेमा झन् कमजोर भएको कँडेलले बताए। तत्कालीन अर्थमन्त्री जनार्दन शर्माले सेटिङका कारण ओरालो लागेको नेपालको अर्थतन्त्र माथि उठ्न नसकेको उनले बताए।

अहिले देशमा लगानीको वातावरण नै नभएको उनले बताए। बैठकमा पैसा थुप्रिएर बसेको छ तर लगानी गर्न कोही तयार छैनन्, लगानी नभएपछि रोजगारी, उत्पादन सबै घट्ने नै भयो’, उनले भने। सरकारले राजश्व उठाउन नै नसकेको कँडेलले टिप्पणी गरे।

‘सरकारले यो वर्ष उठाउने भनेको राजश्वमा १५ प्रतिशत संशोधन गरिसक्यो, यो पनि कार्यान्वयन हुनेवाला छैन, सरकारले अझै अर्को १० प्रतिशत कटौती गर्नेवाला छ, बजेटमा राखेको भन्दा २५ कम आम्दानी हुनेवाल छ’, उनले भने।

राम्रो राजश्व उठेको बेलमा पनि जेनतेन चालु खर्च धान्ने अवस्था भएको नेपालमा अहिले कर्मचारीलाई तलब खुवाउन समेत ऋण उठाउनु पर्ने अवस्था रहेको कँडेलले बताए। सोहि कारण विकासका काम ठप्प भएको उनको भनाइ छ।

अर्थतन्त्र समाजको मनोविज्ञानसँग जोडिने विषय भएकोले समाजको मनोविज्ञान उच्च हुँदा अर्थतन्त्र माथि उठ्ने उनले बताए। ३२ सिटले सरकार चलाएको अवस्था केही हुँदैन भन्ने मनोविज्ञानको कारण नयाँ लगानीको अवस्था नरहेको उनले प्रष्ट पारे।