काठमाडौं ।
संविधान धारा १ मा संविधान नेपालको मूल कानुन हो भनेर लेखिएको छ । यस्तै यसमा यस संविंधानसँग बाझिने कानुन बाझिएको हदसम्म अमान्य हुनेछ भनिएको छ। यस संविधानको पालना गर्नु प्रत्येक व्यक्तिको कर्तव्य हुनेछ भनेर लेखिएको छ।
विधिशास्त्री रस्को पाउन्डले विधिशास्त्रको बारेमा भनेका छन्, ‘विधिशास्त्र विधिको विज्ञान हो । विधिको तात्पर्य यहाँ न्यायिक अर्थमा लिएको छ, अर्थात् विधिशास्त्र न्याय प्रशासनका लागि सार्वजनिक एवं नियमित अदालतहरूद्वारा मान्यता वा लागू गरिने सिद्धान्तहरूको समूह हो। साथै विधिशास्त्रलाई सामाजिक इन्जिनियरिङ (यन्त्रशास्त्र) पनि भनिन्छ।’
विज्ञान क्रमबद्धताको ज्ञान हो । ०, १, २, ३, ४ आदिको रूपमा भएको लहरलाई क्रमबद्धता भनिन्छ । ० अंक बीउको संकेत हो र १, २, ३, ४ आदि विभिन्न जरो, फेद, हाँगो, पात, फल आदिको क्रमबद्धताको बोध हो । जब सुख्खा बीउले वातावरण (माटो, हावापानी आदि) को संसर्गमा संघर्षको जन्म दिन्छ । ती संघर्षको कारण मायावी बोक्रालाई तोडी एकातर्फ क्रिया (एक्सन) रूपी विभिन्न जडोको जन्म दिन्छन् भने अर्कोतर्फ प्रतिक्रिया (रिएक्सन) रूपी फेद, हाँगो, पात, फल आदिको जन्म हुँदै जान्छ ।
हामी सास लिन्छौं र फेरि फाल्छौं । यो सबै क्रिया (एक्सन) र प्रतिक्रिया (रिएक्सन) को नै फल हो । याने क्रिया (एक्सन), प्रतिक्रिया (रिएक्सन) विना कुनै कार्य हुन सक्दैन । अर्को अर्थमा जब क्रिया (एक्सन) शून्य छ भने प्रतिक्रिया (रिएक्सन) पनि शून्य हुन जान्छ । र, शून्य अवस्थामा यो जीवन–जगत्को निर्माण हुन सक्दैन । तसर्थ क्रिया (एक्सन), प्रतिक्रिया (रिएक्सन) एउटा स्थायी तत्व हो । यो क्रिया (एक्सन) र प्रतिक्रिया (रिएक्सन) को सिद्धान्त आदिकालदेखि चल्दै आएको र मध्यकालमा ऐरिस्टोले रेसिफोक्रल एक्सन, साइकोलिजिस्टहरूले मुचुअल एक्सनको रूपमा प्रयोग गरे । यता बुद्धकालमा सम्यक मार्ग तथा चार आर्य सत्यको रूपमा प्रयोग गरी कुशल कानुनहरूको निर्माण गरेर कुशल समाजका निर्माण हुन्थ्यो अनि व्यक्ति निर्वाणसमेत पाउँथे ।
आधुनिक कालमा वैज्ञानिक न्युटनले आफ्नो तेस्रो गति सिद्धान्तको रूपमा ‘प्रत्येक क्रियाको बराबर र उल्टो प्रतिक्रिया हुन्छ’ को रूपमा प्रस्तुत गरेका छन्। त्यसको व्यवहारको रूपमा कानुन क्षेत्रमा राजनीतिज्ञहरूले बढी प्रयोग गरेको पाइन्छ।
सन् २००२ मा भारत देशको गुजरात राज्यको गोधरा भन्ने ठाउँमा रेलगाडीको आगलागीमा आगो लाग्नुको कारण अयोध्याबाट फर्किरहेका यात्रुहरू जसमा बच्चा र महिला बढी भएकोमा करिब ८९ जनालाई जिउँदै जलेर मर्नुपरेको र भनिन्छ– सो आगलागीको कारण मूलतः मुसलमानहरूले जानी–जानी पेट्रोल छर्केर आगो लगाएका थिए।
भोलिपल्ट हिन्दुहरूले करिब १२०० मुसलमानलाई मारिदिएका थिए। पछि विशेष अदालतबाट ११ जनालाई फाँसीको सजाय सुनाइयो भने २० जनालाई जन्मकैदको सजाय दिइएको थियो। यस सन्दर्भमा केही व्यक्तिको भनाइ यस्तो थियो– भारतका वर्तमान प्रधानमन्त्री तथा तत्कालीन गुजरात राज्यको मुख्यमन्त्री पी.एन. मोदी भन्नुहुन्छ, ‘प्रत्येक क्रियाको बराबर र उल्टो प्रतिक्रिया हुन्छ ।’
आर.एस.एस.का उपमहासचिव मदनदास देवी भन्नुहुन्छ, ‘कुनै पनि हत्या अनुचित छ तर कुनै पनि कार्यको प्रतिक्रिया हुनेछ ।’ पत्रकार सिद्धार्थ भन्नुहुन्छ, ‘मोदीका समर्थकहरूले यो स्वीकार गर्न चाहेनन् कि रेलगाडी (गोधरा) मा आगलागीबाट मरेका मानिस प्रतिक्रिया (एक्सन) हो तर भोलिपल्ट मुस्लिमहरू मारिएका प्रतिक्रिया (रिएक्सन) हो ।’
आधुनिक जमानामा चिकित्सकले दबाई लेख्नुभन्दा वा अपरेसन गर्नुभन्दा पहिले विभिन्न किसिमका जाँचहरू (दिसा, पिसाब, रगत, एक्सरे आदि) गरेर रोगको जड पत्ता लगाउँछन् र त्यसपछि मात्र सही दबाई लेख्छन्, अपरेसन गर्छन्, नकि अन्दाजीको भरमा स्वस्थ ठाउँमा गलत चिरफार गर्छन् र समय बिताई मृत्युुशैयामा लग्छन् ।
हाम्रो संविधानको धाराले प्रस्ट भनिरहेको छ । यो मूल, जरो कानुन हो । यससँग फेद, हाँगो, पात, फल आदिरूपी कानुनको जन्म क्रमशः हुँदै जान्छ। कानुन (विधि) विज्ञान हो । विज्ञान क्रमबद्धताको ज्ञान हो। ०, १, २, ३, ४ आदिको रूपमा भएको लहरलाई क्रमबद्धता भनिन्छ । र जरो, फेद, हाँगो, पात, फल आदि हुनको लागि क्रिया (एक्सन) र प्रतिक्रिया (रिएक्सन) स्थायी तत्व हुुनै पर्छ, जसको बारेमा प्रस्ट गरिसकेको छु। जरोको कति महत्व हुन्छ ? चिकित्सकको उपमाबाट प्रस्ट गरिसकेको छु। हाम्रो संविधानको धारा १ ले भनेको कानुनसँग क्रमबद्धता हुन्छ, क्रिया (एक्सन), प्रतिक्रिया (रिएक्सन) एउटा स्थायी तत्व हुन्छ। यसको ठीक प्रयोग गर्न भारत, नेपालमा मात्र हैन विश्वका सम्पूर्ण देशका न्यायकर्ता र कानुनसँग सम्बन्ध राख्नेले खुला दिलले जानेको हुनुपर्छ। जब मैले देखेँ कि एकातर्फ न्यायमा ढिलो हुनु, विनातर्कगत प्रशासन झन्झट दिनु, विधिवत् आदेश नहुनु, विधिवत् जवाफ नआउनु, विधिवत् फाइल नआउनु आदिको कारण जित्ने मानिसको सम्पत्तिको विनाश भई अधुरो जीतले आर्थिक र सामाजिक समस्या आएको महसुस भएको र हार्नेले गलत ठाउँको इलाजले इन्साफप्रति बेइमानी भयो र प्राकृतिक न्यायालयतर्फ जान मजबुर भएको देखियो ।
अब गणतन्त्र आयो, विधिशास्त्र र विधिशास्त्रीहरुको प्रयोग हुन्छ, धारा १ (जरो) को प्रयोग हुन्छ भन्ने हेतु मैले ‘नेपाली कानुनमा विधिशास्त्रीय न्याय एक प्रयास’ नामक शोध रिपोर्ट प्रस्तुत गरेँ । सो रिपोर्ट कानुनका पाँचवटा क्याम्पस तथा कानुनका करिब २०० जना विद्वान्हरूको सहयोगमा एउटा नमुना मुद्दा गणतन्त्रमा होमाइएका विद्यार्थी मुकेशकुमार चौधरीको आधारमा थियो।
सो रिपोर्टलाई प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको निर्देशनमा महान्यायाधिवक्ताको कार्यालयबाट गठित डा. टेकबहादुर घिमिरेको संयोजकतत्वमा बनेको तीन सदस्यीय समितिले सिफारिससाथ गृह मंत्रालयमा पठाइसकेको छ र सर्वोच्च अदालतले मुकेश चौधरीको मुद्दाबारेमा निजको रिट निवेदनमा निजले उठाएका विषयवस्तुहरुलाई गम्भीरतापूर्वक ध्यान दिनु भन्नेसमेतको आदेश भए पनि हालसम्म कार्यान्वयन हुन सकिरहेको छैन ।
यो एउटा पढिरहेको विद्यार्थीलाई कसरी पढाइबाट वञ्चित गराई गणतन्त्रमा होमाइयो ? तर पुनः क्याम्पसमा फर्काउनुपर्नेमा भूमिगत हुन बाध्य पारे । झुटो वार्ता भयो र विभिन्न नेताहरूले क्याम्पसमा फर्काउँछु भने पनि व्यथाको कारण केही मुद्दाहरू थपिँदै गए । एउटा निर्दाेष विद्यार्थी, जो पराकम्पन (प्रतिक्रिया) थियो, उसलाई जेलमा बस्न बाध्य पारे । जो भूकम्प (मूल क्रिया) थिए, राज्यको प्रधानमन्त्री, मन्त्री हुन पुगे ।
अब अन्त्यमा भारतको गुजरातको गोधरा रेलगाडी हत्याकाण्डतर्फ विचार गर्न चाहन्छु । क्रिया (एक्सन) र प्रतिक्रिया (रिएक्सन) एउटा स्थायी तत्व हो। हाल आधुनिकरूपमा वैज्ञानिक न्युटनको तेस्रो सिद्धान्तको रूपमा छ, त्यसलाई ०, १, २, ३, ४ आदिको रूपमा भएको सम्यक लहरलाई क्रमबद्धताको रूपमा क्रियाहरूलाई संकलन गरेको भए मूल क्रिया र प्रतिक्रिया थाहा हुने थियो। मूल क्रियाको इलाज गरेको भए सबै प्रतिक्रियाहरु नष्ट हुने थिए। न हिन्दु मर्ने थिए, न मुस्लिम। मानवताको रक्षा हुने थियो।
अब नमुना मुद्दा गणतन्त्रमा होमाइएका विद्यार्थी मुकेशकुमार चौधरीको लिऊँ : प्राक्टिसको अभावका कारण यस रिपोर्टको खुला प्रयोग गर्ने आँट आएको छैन । तसर्थ अब मुद्दा गणतन्त्रमा होमाइएका विद्यार्थी मुकेशकुमार चौधरीको होस् वा भारतका हुन् वा अन्य देशका सबैले नेपालको संंविधानको धारा नं. १ को कानुन जो विज्ञानको प्रतीक हो, ०, १, २, ३, ४ आदिको रूपमा भएको लहरको क्रमबद्धताको ज्ञान तथा क्रिया (एक्सन), प्रतिक्रिया (रिएक्सन) को स्थायी तत्वलाई एउटा कुशल कानुनको जरो, फेद, हाँगो, पात, फल आदिले सुसज्जित बोटको रूपमा प्रयोग गरौँ ।
अब हार्नेको जीवन इन्साफरूपी कुशल गतिशीलको जीवन बनोस् । क्रमबद्धता नभएको र क्रिया प्रतिक्रियाको ज्ञानको अभावले समस्याको जरोमा जान नसक्ने अवस्थामा रहेको धारा १ सँग बाझिएको कानुन प्रयोग नगरी क्रमबद्धताको लहर भएको र क्रिया प्रतिक्रियाको ज्ञानले समस्याको ठीक जरोमा पुगेपछि मात्र अगाडिका सजायरूपी दबाई, अपरेसन आदिको प्रयोग गरी धारा नं. १ लाई सम्यक मार्गको रुपमा इज्जत गरियोस् ।
(लेखक चौधरी इन्जिनियर/अधिवक्ता हुनुहुन्छ ।)
प्रतिक्रिया