मन्त्री ज्वालालाई बर्खास्त गर्न प्रधानमन्त्रीलाई दबाब

126
Shares

काठमाडौं ।

गत पुस १३ गते ललितपुरको बालकुमारीमा भएको घटनालाई लिएर प्रमुख प्रतिपक्ष दल र अन्य दलहरूको आक्रामक प्रस्तुतिले सरकारमाथि दबाब बढ्दै गएको छ।

बालकुमारीमा भएको प्रदर्शनका क्रममा प्रहरीको गोली र लाठी चार्जले दुईजना युवाको ज्यान गएको विषयमा छानबिन गर्न बनेको आयोगले प्रतिवेदन बुझाएसँगै प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले) र रास्वपाले सरकारमाथि दबाब बढाउँदै लगेका हुन्।

उनीहरूले आयोगको प्रतिवेदन सार्वजनिक गर्दै भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालालाई बर्खास्त गर्न माग गर्दै आएका छन् भने सरकारले प्रतिवेदन अध्ययन गरी आवश्यक कदम चाल्ने बताउँदै आएको छ।

उच्च अदालतका पूर्वन्यायाधीश शेखरप्रसाद पौडेलको अध्यक्षतामा गठित ‘बालकुमारी घटना जाँचबुझ आयोग’ले प्रदर्शन र हुलहुज्जत भइरहेको गलत ठाउँमा सुरक्षा व्यवस्थाको यकिन नगरी भौतिक पूर्वाधार तथा यातायातमन्त्री ज्वाला पुग्नु नै मुख्य कमजोरी रहेको औंल्याएको थियो।

मन्त्री ज्वालाले खेलाँची गरेर गलत दिशामा गएको प्रतिवेदनमा भनिएको छ । यसले गर्दा मन्त्री ज्वालालाई कारबाही किन नगरेको भनी सडक, सदनमा सरकारमाथि प्रश्न उठाइएको हो।

प्रतिवेदनमा मन्त्री ज्वालाको गल्ती भनिए पनि उहाँलाई कारबाही नगरिएको भन्दै संसद्मा प्रतिपक्षी दलहरूले लगातार विरोध जनाउँदै आइरहेका छन् । उनीहरूले मन्त्री ज्वालासँगै गृहमन्त्री नारायणकाजी श्रेष्ठले पनि नैतिक जिम्मेवारी लिएर पदबाट राजीनामा दिनुपर्ने माग गरेका छन् ।

शुक्रबार प्रतिनिधि सभा बैठकमा आकस्मिक समयमा बोल्दै नेकपा (एमाले) का सांसद योगेशकुमार भट्टराईले बालकुमारी घटनामा छानबिन आयोगले दिएको प्रतिवेदन सार्वजनिक गर्न सरकारसमक्ष माग गर्नुभएको थियो।

उहाँले छानबिन आयोगले दिएको प्रतिवेदनले भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालालाई दोषी देखाएको भन्दै मन्त्री ज्वाला नैतिक रूपमा पदमा बस्न नमिल्ने बताउनुभयो । यस विषयमा रास्वपाले संसद्मा लगातार यो विषय उठाउँदै सरकारको विरोध गर्दै आएको छ ।

शनिबार बिहान सिंहदरबारमा बसेको माओवादी केन्द्रको संसदीय दलको बैठकमा पनि सो विषयमा सांसदहरूले कुरा उठाएका थिए । जवाफमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बालकुमारी घटनाको प्रतिवेदन आफूले प्राप्त गरेको र अध्ययनकै क्रममा रहेको बताउँदै अध्ययनपछि निर्णयमा पुग्ने जानकारी दिनुभयो।

अध्ययनपछि त्यसबारेमा निर्णय गरिने बताउँदै प्रधानमन्त्री प्रचण्डले संसद्मा प्रतिपक्षी दलले राजनीतिक संस्कार देखाउनुपर्ने बताउनुभयो। ‘आयोग बनाएर छानबिन गर्ने निर्णय सरकारकै हो । प्रतिवेदन अध्ययनको प्रक्रियामा छ । अध्ययनपश्चात् आवश्यक निष्कर्षमा पुग्छौं । यो सरकारको क्षेत्राधिकार हो । प्रतिपक्षले राजनीतिक संस्कार देखाउनुपर्छ’ –उहाँले भन्नुभयो ।

ललितपुरको बालकुमारीस्थित इपीएस कोरिया शाखा कार्यालयमा परीक्षा फारम भर्ने विषयलाई लिएर भएको प्रदर्शनमा चौरपाटी अछामका वीरेन्द्र शाह र दैलेखका सुजन रावतको मृत्यु भएको थियो।

कोरियन भाषाको परीक्षाको विषयलाई लिएर भाषा परीक्षा अनुत्तीर्ण भएका युवाहरूले सडक प्रदर्शन गरिरहेका बेला भौतिक योजनामन्त्री ज्वाला चढेको बा २ झ ५८६१ नम्बरको गाडी प्रदर्शनी भइरहेको ठाउँबाट जाने क्रममा प्रदर्शनकारीले गाडी रोकेर आगो लगाइदिएका थिए। आक्रमण हुने देखेपछि मन्त्री ज्वाला र उहाँको पीएसओ तथा चालक भने गाडीबाट निस्किएका थिए।

सो घटनाको जाँचबुझ गरी एक महिनाभित्र राय, सुझाव र सिफारिससहितको प्रतिवेदन पेस गर्ने गरी मन्त्रिपरिषद्को बैठकले पुस १६ मा जाँचबुझ आयोग बनाएको थियो। आयोगले ४४ दिन छानबिन गरी प्रतिवेदन बुझाएको थियो ।

आयोगको प्रतिवेदन सार्वजनिक गरिएपछि नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी) को सचिवालय बैठकले भौतिक योजना तथा निर्माणमन्त्री प्रकाश ज्वालालाई वा पार्टीलाई नै सरकारबाट फिर्ता बोलाउने विषयमा पार्टीले निर्णय लिने समझदारी भएको केन्द्रीय प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाले जानकारी दिनुभयो।