पाठ्यक्रम परिमार्जन अनिवार्य : उपकुलपति बराल



काठमाडौं ।

त्रिभुवन विश्वविद्यालयका उपकुलपति प्राडा केशरजंग बरालले शैक्षिक पात्रो तयार गरी लागु गर्ने, समयानुकूल पाठ्यक्रम परिमार्जन र तोकिएकै समयमा परीक्षाफल प्रकाशन गर्ने मुख्य तीन प्रतिबद्धता रहेको बताउनुभएको छ।

शुक्रबार उपकुलपतिको कार्यभार सम्हालेलगत्तै उहाँले त्रिवि सुधार्ने मुख्य तीन प्रतिबद्धता सुनाउनुभएको हो। चरम राजनीतिले गाँजेको त्रिविमा व्यापक सुधार गर्ने योजना लिएर आफूले उपकुलपतिको बागडोर सम्हालेको बताउने प्राडा बरालले तीन प्रतिबद्धतामध्ये पहिलो प्राथमिकता शैक्षिक क्यालेन्डर तयार गरी लागु गर्ने रहेको बताउनुभयो।

नेपाल समाचारपत्रसँग कुरा गर्दै उहाँले क्यालेन्डरअनुसार पढाइ नहुँदा अभिभावक र विद्यार्थीको लागत बढेर बीचैमा क्याम्पस छाड्नुपर्ने बाध्यता रहेको बताउनुभयो। बरालको दोस्रो प्राथमिकतामा समयमै परीक्षाफल प्रकाशित गर्ने रहेको छ।

उहाँले पहिलो वर्षको परीक्षा सकेर दोस्रो वर्षको परीक्षा दिँदासमेत पहिलो वर्षको परीक्षाफल प्रकाशित हुन नसकेको विडम्बनालाई अन्त्य गरी समयमै परीक्षाफल प्रकाशित गर्ने योजना अघि सारिने रहेको बताउनुभयो । उहाँले परीक्षाफललाई प्रविधिमैत्री बनाउने योजना सुनाउँदै भन्नुभयो– ‘त्यसका लागि आन्तरिक व्यवस्थापन र सूचना प्रविधिलाई सक्दो प्रयोग गर्नेछौं ।’

तेस्रो तथा अन्तिम प्रतिबद्धता सुनाउँदै उहाँले पाठ्यक्रमलाई समयअनुकूल परिमार्जन गरी विश्वपरिवेश सुहाउँदो बनाउने बताउँदै उहाँले भन्नुभयो– ‘हाम्रो पाठ्यक्रम परिमार्जन हुन नसक्दा बजारको मागअनुसार जनशक्ति उत्पादन हुन सकेन, बजारको मागअनुसार जनशक्ति तयार गर्न पाठ्यक्रम परिमार्जन अनिवार्य छ ।’

खाली भएको झन्डै चार महिनापछि त्रिभुवन विश्वविद्यालयको २०औं उपकुलपति भएका प्रा.डा. केशरजंग बरालले दोहोरो सुविधा नलिने बताउनुभएको छ । उहाँले हाजिर भएको दिनदेखि अर्थात् फागुन १० गतेबाट आफूले पेन्सन नलिएर त्रिविले उपलब्ध गराएको तलब मात्र लिने बताउनुभयो।

नेपाल समाचारपत्रसँग कुराकानी गर्दै उहाँले भन्नुभयो– ‘किन चाहियो दोहोरो सुविधा ? तलब लिन्छु बस्छु, अवकाश भएपछि पेन्सन आइहाल्छ नि।’

उहाँले आफ्नो कार्यकालयमा त्रिविलाई सेन्टर अफ एक्सिलेन्स बनाउने, मानविकी तथा शिक्षाशास्त्र संकायलाई पुनर्जीवित गर्ने, स्थानीय ज्ञान र सीपलाई प्रवद्र्धन गर्ने बताउनुभयो ।

पदभार ग्रहण गर्ने क्रममा पहिलो नम्बरका चित्रबहादुर बुढाथोकीलगायत केही डीन, कर्मचारी र विभागीय प्रमुखसँग आाफ्नो अनुभव साट्दै भन्नुभयो– ‘तपाईंहरूको साथ र सहयोगले मात्र त्रिवि बनाउन सक्छौं, तपाईं सबैको सहयोगको अपेक्षा गरेको छु ।’

उहाँले रेक्टर र रजिस्टारमा राजनीतिक हस्ताक्षेप सहन्न र हाम्रोलाई भन्दा पनि राम्रोलाई पदाधिकारीमा नियुक्ति गर्न पहल गर्नेछु भन्नुभयो ।

२०६३ सालदेखि भागबण्डामा चलेको त्रिविमा उपकुलपति प्राडा बरालले कसरी राजनीतिबाट बाहिर रहेकालाई पदाधिकारी नियुक्ति गर्नुहुनेछ त्यो भने हेर्न बाँकी नै छ । उहाँले पदभार ग्रहण गर्ने क्रममा दुई पदाधिकारी नियुक्ति गर्न आफूलाई स्वतन्त्रता दिनुपर्ने बताउनुभएको थियो । सोही क्रममा उहाँले त्रिविभित्र राजनीतिक संयोजन र सन्तुलन मिलाउने बताउनुभयो ।

धर्मकान्त बाँस्कोटाको कार्यकाल सकिएसँगै त्रिभुवन विश्वविद्यालयमा कात्तिक १७ गतेदेखि उपकुलपति पद खाली थियो। नयाँ नियुक्ति नभएसम्मका लागि शिक्षाध्यक्ष प्रा.डा. शिवलाल भुसाललाई उपकुलपतिको जिम्मेवारी तोकिएको थियो।

पहिलोपटक तीन महिनाका लागि तोकिएको समयमा पनि नयाँ उपकुलपति नियुक्ति नभएपछि दोस्रोपटक पुनः थप गरिएको थियो । नवनियुक्त उपकुलपति प्राडा बराललाई काम चलाउ उपकुलपतिको कार्यभार हस्तान्तरण गरेलगत्तै प्राडा भुसालले पदाधिकारी पद छाडेर शुक्रबारबाटै अर्थशास्त्र केन्द्रीय विभागमा हाजिर भइसक्नुभएको छ।

उपकुलपति प्राडा बराललाई त्रिविमा समयसापेक्ष शुल्क समायोजन गर्ने, सम्पत्तिको यकिन तथ्यांक निकालेर त्यसको संरक्षण गर्ने, कक्षाकोठा र पुस्तकालय व्यवस्थापन, एकद्वार खाता प्रणालीको सुरुआत, आर्थिक पारदर्शिता, भद्दा संरचनालाई व्यवस्थापन गर्नु, त्रिवि सेवा आयोगलाई पूर्णता दिनु, बेरुजु घटाउनु, पदमा बस्ने र काम नगर्ने प्रवृत्तिको अन्त्य गर्नु लगायतका मुख्य चुनौती छन्।

प्रतिक्रिया दिनुहोस्