प्रहरी कल्याणकोष हिनामिना प्रकरण : पूर्व प्रहरीले गरे आन्दोलनको घोषणा

462
Shares

काठमाडौं ।

नेपाल प्रहरीले सञ्चालनमा ल्याएको प्रहरी कल्याण कोषलाई विगतका नेतृत्व मिलेर हिनामिना गरेको भन्दै नेपाल पूर्व प्रहरी संगठनले आन्दोलनको घोषणा गरेको छ।

नेपाल प्रहरीको पूर्व नेतृत्वले कल्याण कोषको रकम चरम दुरुपयोग गरेको भन्दै संगठनले शनिबार राजधानीमा तीन बुँदे माग राखेर आन्दोलनको घोषणा गरेको हो।

२०४८ सालमा स्थापना भएको कल्याण कोषमा अहिले जम्माजम्मी ४ अर्ब रुपियाँको हाराहारीमा मात्रै रकम भएको भन्दै संगठनका अध्यक्ष वसन्तराज कुँवरले नेपाल समाचारपत्रसँग भन्नुभयो– ‘कोषको रकम हिनामिना गर्ने प्रहरीको पूर्व नेतृत्वमाथि कारबाही हुनुपर्ने माग राख्दै हामीले आन्दोलनको घोषणा गरेका हौं।’

संगठनले कल्याण कोषको आयव्यय नेपाल पूर्व प्रहरी संगठनका पदाधिकारी र स्वतन्त्र चार्टर एकाउन्टेन्ट वा अडिट फर्मसमेत राखी एक समिति गठन गरी २०४९ साल फागुनदेखिको कोषको संरक्षक तत्कालीन आईजीपी मोतिलाल बोहरा र २०६९ भदौसम्मको संरक्षक तत्कालीन आईजीपी रविन्द्रप्रताप शाहको पालासम्मको छानबिन गर्नसमेत माग गरेको छ।

संगठनले कल्याण कोषको रकमबाट कल्याणकारी काममा रकम विनियोजन गर्दा बैंकमा जम्मा गरिएको मूलधनबाट आएको ब्याजका आधारमा ४० प्रतिशत वहालका प्रहरीका लागि, ४० प्रतिशत पूर्व प्रहरीका लागि र २० प्रतिशत आयमूलक काममा खर्च गर्ने नीतिगत निर्णय गरी निर्णय कार्यान्वयन गर्नुका साथै कल्याण कोषमा पूर्व प्रहरी संगठनको तर्फबाट ४० प्रतिशत सहभागिता सुनिश्चित गर्न पनि माग गरेको छ ।

त्यस्तै, प्रहरी संगठनको काम शान्ति सुरक्षा दिने भएकोले कल्याणकारी योजनाअन्तर्गतका व्यापारिक कामहरू पूर्व प्रहरी संगठनलाई हस्तान्तरण गर्न माग गर्दै प्रहरी संगठनले व्यापार होइन, शान्ति सुरक्षा कायम गर्नुपर्नेमा जोड दिएको छ ।

पूर्व प्रहरीहरूको कल्याणमा समन्वय तथा योजना गर्न प्रहरी प्रधान कार्यालयमा २ जना पूर्व प्रहरी पदाधिकारी र हरेक प्रदेशमा १/१ जना पदाधिकारीलाई पूर्वदर्जाअनुसारको सेवा सुविधा दिई उनीहरूलाई सहयोग गर्न वहालवाला प्रहरीहरूसमेत दिएर पूर्व प्रहरी कल्याण समन्वय शाखा स्थापना गर्न पनि माग गरिएको छ ।

संघले माग सम्बोधन नभए ३५ दिनपछि देशव्यापी रूपमा आन्दोलनको घोषणा गर्ने संघका महासचिव रौवर केसीले जानकारी दिनुभयो।

प्रहरी कल्याण कोषको मूलधन नमासी सो कोषको ब्याजबाट मात्रै कल्याणका कामहरू गर्नुपर्नेमा मूलधनबाटै जथाभावी र बद्नियतपूर्वक लगानी गरेका कारण हाल सो कोष ४ अर्ब रुपियाँको हाराहारीमा मात्र खुम्चिएको र कल्याणकारी काममा नगन्य आर्थिक सहयोग वितरण हुन थालेपछि त्यसको मार पूर्व प्रहरी कर्मचारीको स्वास्थ्य सेवामा परेको भन्दै संघले आन्दोलनको घोषणा गरेको हो।

पूर्व प्रहरीहरूले आफ्नै अस्पतालमा पैसा तिरेर स्वास्थ्य उपचार लिनुपर्ने अवस्था आएको र करिब ४५ हजार पेन्सन पाएका र अन्य २० हजार पूर्व प्रहरी कर्मचारीका लागि २ करोड रुपियाँ मात्र स्वास्थ्य उपचारमा अनुदान छुट्याई ठूलो धन राशि अहिले पनि निर्माण कार्य र पेट्रोल पम्पतिर मात्रै लगाइएको भन्दै त्यस्ता अनुचित काम बन्द गर्न पनि संगठनले माग गरेको छ ।

कोषबाट लगानी गरिएका र हाल सञ्चालनमा रहेका पेट्रोल पम्पलगायत अन्य आम्दानीका हिसाबले ३२ वर्षभित्र प्रहरी कल्याण कोषको आम्दानी करिव १७ अर्बभन्दा बढी हुनुपर्ने संगठनको दाबी छ।

संघले उक्त रकममध्ये करिब ५ अर्बको लगानी भएको बताइएको छ । सो हिसाबले कोषमा करिब १२ अर्ब मौज्जाद हुनुपर्नेमा हाल ४ अर्बको हाराहारीमा मात्र रकम रहेको भन्दै संगठनले छानबिन गर्न माग गरेको छ ।

कोषमा पूर्व प्रहरी कर्मचारीको कोषमा ६० प्रतिशतभन्दा बढी योगदान रहेको स्मरण गराउँदा पनि कोष सञ्चालक समितिले न्यायोचित व्यवहार नगरेकाले संगठनले आफ्नो वर्गमाथि अन्याय भएको भन्दै ‘प्रहरी कल्याण कोषको न्यायोचित वितरण गर’ भन्ने नारासहित देशव्यापी आन्दोलन र विरोध कार्यक्रम अघि बढाउने निर्णय गरेको पनि अध्यक्ष वसन्तराज कुँवरले जानकारी दिनुभयो ।