खानेपानी संस्थान कर्मचारी सङ्गठनको सक्रियता

व्यवस्थापनलाई गम्भीर र जिम्मेवार बनाउन  नौ बुँदे माग 

3.8k
Shares

काठमाडौं

नेपाल खानेपानी संस्थान कर्मचारी संगठनले संस्थान व्यवस्थापन गैर जिम्मेवार किसिमले अघि बढ्दा संस्थानमा विभिन्न खाले जटिलताहरु उत्पन्न हुँदै गएको भन्दै गम्भीर र जिम्मेवार हुन व्यवस्थापन पक्षसँग जोडदार माग गरेको छ ।

 संगठनले खानेपानी संस्थानका महाप्रबन्धकलाई ९ बुँदे माग पत्र बुझाउँदै कर्मचारी सेवा सर्त सम्बन्धी विनियमावली यथाशीघ्र मन्त्रीपरिषद्बाट स्वीकृत गराउन र विनियम प्राप्त नहुँदासम्म हालै भएको करार सेवाको विज्ञापन प्रक्रिया कुनै हालतमा पनि अघि नबढाउन चेतावनी दिएको छ । संगठनको फागुन ५ र ६ गते  बसेको केन्द्रीय समिति बैठकले व्यवस्थापनपक्ष गैर जिम्मेवार हुँदै गएकाले जिम्मेवार बनाउन ध्यानाकर्षण र मागपत्र बुझाउने निर्णय गरेको थियो ।
त्यसलगत्तै  संगठनका केन्द्रीय अध्यक्ष समीर पण्डितको नेतृत्वमा गएको समूहले महाप्रबन्धक डा ईश्वर प्रसादलाई  ९ बुँदे माग पत्र बुझाउँदै   कर्मचारी सेवा सर्त सम्बन्धी विनियमावली ल्याउन पटक पटक ध्यानाकृष्ट गराउँदा पनि व्यवस्थापनले बेवास्ता गरेको भन्दै असन्तुष्टि र विरोध जनाएको थियो ।

 नेपाल खानेपानी संस्थानसम्वद्ध विभिन्न ट्रेड युनियनको संयुक्त सङ्घर्ष समितिले पनि व्यवस्थापनसँग यस अघि कर्मचारी सेवा सर्त सम्बन्धी विनियमावली तत्काल ल्याउन र अन्य सुधार प्रक्रिया थाल्न  माग गरेको थियो।  तर, व्यवस्थापनले ती मागहरु बेवास्ता गर्दै आएपछि संस्थानका कर्मचारीहरु आक्रोशित हुँदै आएका छन्।

कर्मचारी संगठनले माग पत्र मार्फत संस्थान विघटन र खारेजीको कुरा व्यापक रुपमा आइरहेको र यसले आम कर्मचारीमा अन्यौलता र निराशा पैदा गरिरहेकाले  यस सम्बन्धमा व्यवस्थापन र सञ्चालक समितिको धारणा प्रष्ट हुनुपर्ने माग गरेको छ । यसैगरि संगठनले  करार सेवामा कार्यरत सम्पूर्ण कर्मचारीको सेवा सुरक्षाको ग्यारेन्टी गर्नुपर्ने, चौथो तहमा कार्यरत कर्मचारीलाई विनियमावली स्वीकृत हुनु पूर्व एक तह तल झारेर भएपनि समायोजन गरी सेवा सुरक्षित रहने ग्यारेन्टी गर्नुपर्ने, सम्पूर्ण कार्यरत स्थायी तथा करार कर्मचारीको दुर्घटना बिमाको व्यवस्था तथा सामाजिक सुरक्षाकोष कट्टी गर्ने व्यवस्था मिलाउन माग गरेको छ ।

यसैगरी  कर्मचारीहरु कामको सिलसिलामा चोटपटक लागेमा उपचार खर्च दिन तथा विरामी परि उपचारको क्रममा मृत्यु भएमा क्षतिपुर्ति वापत १० लाख उपलब्ध गराउने गरी आवश्यक व्यवस्थापन मिलाउन समेत संगठनले जोडदार माग गरेको छ । यस्तै  संस्थानको बृहत्तर हित र स्थायित्वको लागि यसको पुनः संरचना गर्दै दण्ड  र पुरस्कार तथा कार्यसम्पादन करार गर्ने प्रावधान गर्न, अनावश्यक खर्च कटौती गर्न तथा लामो समय देखि महसुल वृद्धि नभएकाले महसुल वृद्धि गरी बक्यौता रहेको रकम असुल गर्न प्रभावकारी नीति बनाउनुपर्ने लगायतका मागहरु व्यवस्थापन समक्ष राखिएको नेपाल खानेपानी संस्थान कर्मचारी संगठनका अध्यक्ष समीर पण्डितले जानकारी दिए ।अध्यक्ष पण्डितले खानेपानी संस्थानको सुधार र आम कर्मचारीको बृहत्तर हितका लागि आफूहरूले व्यवस्थापन समक्ष विगत देखि नै विभिन्न मागहरु राख्दै आएपनि व्यवस्थान पक्षवाट बेवास्ता हुनु दुखद भएको बताए । उनले आगामी दिनमा आफूहरूको मागप्रति व्यवस्थापन पक्ष जिम्मेवार भएर प्रस्तुत हुने विश्वास व्यक्त गरे ।

केन्द्रीय समितिमा पाँच सदस्य मनोनयन

नेपाल खानेपानी संस्थान कर्मचारी संगठनको  गत फागुन ५ गते बसेको  दोस्रो पूर्णबैठकबाट पाँचजनालाई सर्वसम्मत रुपमा केन्द्रीय समितिमा मनोनयन गर्ने निर्णय गरिएको छ । जस अनुसार केन्द्रीय सदस्यमा मनोनयन हुनेमा बनेपा शाखाका प्रह्लाद न्यौपाने, विराटनगर शाखाका कमल थापा , भैरहवा शाखाका सुवास खनाल, बुटवल शाखाका धृतनाथ ज्ञवाली र धनगढी शाखाका राजु मिश्र रहेका छन् ।