आफ्नो बच्चा खेर गएपछि अर्कैको शिशु लिएर भागेकी थिइन् मनकुमारी

18.2k
Shares

काठमाडौँ।

शुक्रबार राति काठमाडौँको काँडाघारीबाट शिशुसहित पक्राउ परेकी २४ वर्षीया मनकुमारी सिंह अहिले प्रहरीको हिरासतमा छिन्।

थापाथलीस्थित परोपकार प्रसूति गृह तथा स्त्री रोग अस्पतालदेखि काँडाघारीसम्मका सीसीटीभी क्यामेराको निगरानीपछि प्रहरीले ती महिलालाई पक्राउ गरेको थियो। काठमाडौँ उपत्यका प्रहरी कार्यालयबाट सीसीटीभी निगरानी गर्दै मध्यरातमा मनकुमारीको डेरासम्म प्रहरी पुगेको हो।

प्रहरीले पक्राउ गर्दा ती महिलाको उच्च रक्तस्राव भइरहेको थियो। प्रहरी स्रोतका अनुसार, उनको शुक्रबार नै गर्भ खेर गएको थियो।

आफ्नो गर्भ खेर गएपछि अस्पताल परिसमै भेटिएकी अर्की महिलाको शिशु बोकेर भागेको खुलेको प्रहरी स्रोतले जानकारी दिएको छ। प्रहरीका अनुसार पक्राउ परेकी ती महिलाले आफ्नो बच्चा खेर गएपछि ‘धेरै माया लागेर’ अर्काको बच्चा लगेको स्वीकार गरेकी छिन्

थापाथलीस्थित प्रसूति गृहबाट कपन बस्ने काभ्रेकी सबिना श्रेष्ठको बच्चा हराएको सूचना पाएपछि प्रहरीले अनुसन्धान शुरु गरेको थियो।

प्रहरीले शिशु फेला पर्नासाथ राति नै परिवारको जिम्मा लगाईसकेको छ। । जन्मिएको केही दिनदेखि नै जन्डिस भएकोले शिशुको स्वास्थ्य कमजोर भएको हुँदा शिशुलाई राति नै काठमाडौँ मेडिकल कलेज सिनामंगलमा भर्ना गरिएको छ।

पक्राउ परेकी ती महिलाको पनि अत्यधिक रक्तस्राव भएपछि उनलाई पनि प्रहरीले अस्पताल लगेको थियो। तर, अहिले उनलाई अस्पतालबाट डिस्चार्ज गरेर हिरासतमा राखिएको प्रहरीलेजानकारी दिएको छ।

मनकुमारीसहित प्रहरीले उनका श्रीमान् नरेन्द्र मल्ल र उनकी दिदीलाई पनि नियन्त्रणमा लिएको छ।

दैलेखको नौमुले गाउँपालिका–१, अवततोली घर भएका उनीहरू अहिले काँडाघारीमा डेरा गरी बस्छन्। उनीहरूको बिहे भएको ३ वर्ष भयो।

घटनाबारे प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ।