देश चौतर्फी सङ्कटबाट घेरिएको छ : प्रदीप ज्ञवाली

98
Shares

काठमाडौं ।

नेकपा एमालेका उपमहासचिव प्रदीप ज्ञवालीले देश अति सङ्कटको मोडबाट गुज्रिएको बताएका छन् ।
शनिबारबाट नेकपा एमाले रामेछाप स्कुल विभागले आयोजना गरेको जिल्ला स्तरीय प्रशिक्षण कार्यक्रम उद्घाटन गर्दै ज्ञवालीले देशका सबै अवयव अहिले संकटमा परेका बताए । ‘देश चौतर्फी सङ्कटबाट घेरिएको छ’, उनले भने ।

अन्तराष्ट्रिय स्तरमा समेत देशका छवि अति कमजोर भएको उनले बताए । विश्व समुदायले विश्वलाई पत्याउनै छाडेको ज्ञवालीको भनाइ छ ।
नेपालको अर्थतन्त्र अहिले अति अप्ठेरोमा रहेको भन्दै उनले चिन्ता व्यक्त गरे । अहिले मुख्य बजार केन्द्रका एक तिहाइ सटर बन्द अवस्थामा रहेका उनको भनाइ छ ।

सरकार स्वयम्ले तस्करी र भ्रष्टाचारको समानान्तर अर्थतन्त्र चलाएकोले देश ठुलो आर्थिक संकटमा परेको उनले टिप्पणी गरे । एयरपोर्टबाट नै निर्लज्जतापूर्वक क्विन्टलका क्विन्टल सुन तस्करी भइरहेको उनले बताए । ‘सेटिङमा समानान्तर अर्थतन्त्र चलाउने काम भएको छ’, उनले भने ।

प्रधानमन्त्री र सरकारका मन्त्रीले नै धार्मिक र सामाजिक सद्भाव भड्काउने प्रयत्न गरी रहेको ज्ञवालीले बताए । प्रधानमन्त्रीले जातीय राज्य दिने र संस्कृति मन्त्रीले हिन्दु र बौद्धिष्टलाई गाली गरेर कुनै एउटा धर्म विशेषलाई भड्काउने काम गर्नु त्यसको उदाहरण भएको उनले बताए ।

सरकारका कामले देशका हरेक क्षेत्रमा निराशा बढ्दै गएको उनले बताए । ‘देश बन्छ भन्ने विश्वास माथि सरकारले बञ्चरो हानिरहेको छ’, उनले भने ।
नेकपा एमालेबाट निर्वाचनमा भाग लिन अब पार्टीको आधारभूत तालिम लिएकै हुनु पर्ने नीति पार्टीले लिएको उनले जानकारी दिए । राजनीतिक रूपमा तालिम प्राप्त पार्टी कार्यकर्ता नहुँदासम्म सुन्निएर मोटाएको जस्तो अवस्था बन्ने ज्ञवालीले प्रष्ट पारे । पार्टीका नेता कार्यकर्तालाई राजनीतिक र वैचारिक रूपमा बलियो बनाउन प्रशिक्षण कार्यक्रम सुरु गरिएको उनले बताए ।

विश्व परिस्थिति र राजनीतिक परिवर्तन थाहा पाउन निरन्तर अपडेट हुनु पर्ने उनले बताए । समयमा अपडेट हुन सकिएन भने असान्दर्भिक हुने उनले बताए । ‘कि अपडेट हुनुपर्छ, कि आउटडेट हुनुपर्छ, तर नेकपा एमालेका नेता कार्यकर्तालाई आउटडेटेड हुने छुट छैन, किन भने नेकपा एमाले भएन भने देश बरबाद हुन्छ, देश अरूले बनाउन सक्दैन’, उनले भने ।

एमाले सत्ताको लागि नभएर समाज परिवर्तन र समृद्धिको लागि जन्मिएको पार्टी भएको ज्ञवालीले दाबी गरे । ‘एमाले सत्ताको निम्ति जन्मिएको पार्टी होइन, एमाले सङ्घर्षको लागि जन्मिएको पार्टी हो, एमाले आवश्यक पर्‍यो भने हजारौँ वर्ष पनि लडिरहन्छ’, ज्ञवालीले भने ।

एमाले कार्यकर्ता जस्तोसुकै आँधी हुरीमा पनि सतिसाल जस्तै उभिने हुन सक्नु पर्ने उनले बताए । त्यसको लागि पार्टीलाई वैचारिक रूपमा बलियो बनाउने, भावनात्मक रूपमा पार्टीलाई एक बनाउने, जनतासँगको सम्बन्ध जोड्ने पार्टी बनाउनु पर्ने उनले बताए । ‘दुःख पर्दा साथमा नभएको पार्टी काम छैन’, उनले भने ।

जनताको आवाजलाई लिएर जनताको बिचमा जान सकिएन भने जनतासँगको सम्बन्ध टुट्ने ज्ञवालीको भनाइ छ । ‘जनताबाट टाढिएर पार्टी बन्न सक्दैन’, उनले भने ।