राष्ट्रिय लोक सांस्कृतिक मेला हुने

70
Shares

काठमाडौं ।

पर्यटक कलाकारको स्वागत सत्कार, नेपाली लोक संस्कृतिको आधार भन्ने नाराका साथ १२औं राष्ट्रिय लोक सांस्कृतिक मेला २०८० हुने भएको छ।

आयोजक एभरेष्ट नेपाल कल्चरल ग्रुपले बिहीबार राजधानीमा एक पत्रकार भेटघाट कार्यक्रम गर्दै मेलाबारे जानकारी गराएको हो। आगामी फागुन १८ देखि २७ गतेसम्म चल्ने मेला काठमाडौं, दाङ, पोखरा र ललितपुरमा आयोजना हुने आयोजक संस्था एभरेष्ट नेपाल कल्चरल ग्रुपका अध्यक्ष आरसी कोइरालाले बताए।

‘ऐतिहासिक तथा विश्वसम्पदा सूचीमा आबद्ध पाटन दरबार र हनुमानढोका दरबारजस्ता क्षेत्रमा यस्ता कार्यक्रम आयोजना गर्नाले हाम्रो ऐतिहासिक धरोहरको संरक्षण र सम्बर्धनमा प्रत्यक्ष वा अप्रत्यक्ष टेवा पुग्ने विश्वास लिएका छौं,’ कोइरालाले भने, ‘यसबाट देशको विविध सँंस्कृतिक, पुरातात्विक र अन्य पर्यटकीयस्थलको मात्र नभई नेपालकै विश्वसामु प्रचार–प्रसार हुने आशा गरेका छौं।’

मेलामा अस्ट्रिया, बेल्जियम, बोस्टवाना, इस्टोनिया, जर्मनी, भारत, इन्डोनेसिया, मलेसिया, पोल्यान्ड, साउथ अफ्रिका, नेपाललगायत राष्ट्रका विभिन्न सांस्कृतिक समूहका तीन सय ५० भन्दा बढी कलाकार सहभागी हुनेछन्।

पाश्चात्य संस्कृतिमा रमाउन थालेको युवा पिढीलाई पनि यसतर्फ आकर्षित गर्न यस्तो मेला महत्वपूर्ण हुने आयोजकको भनाइ छ। मेला २०५८ सालदेखि प्रत्येक दुई वर्षमा नियमितरूपमा आयोजना हुँदै आएको छ।

सुरुआतदेखि एघारौं संस्करणसम्म मेलामा करिब ८५ भन्दा बढी देशका आठ हजार पाँच सयभन्दा बढी कलाकारले घर आ“गनमा आ–आफनो देशको मौलिकता झल्कने झा“कीसहित विविध लोकसांस्कृतिक कार्यक्रम प्रस्तुत गरिसकेको आयोजकले जानकारी गराए।

‘यसपटकको महोत्सव अवधिभर कलाकारले आ–आफ्नो देशको संस्कृति झल्कने भेषभूषा पहिरन सांस्कृतिक झाँकी र आफ्नो लोकगीत, संगीत र लोक नृत्य प्रस्तुत गर्नेछन्,’ आयोजक कोइरालाले भने। मेला फागुन १९ गते शनिबार नेपाल प्रज्ञा प्रतिष्ठान कमलादीबाट शुभारम्भ हुनेछ।