भौतिक पूर्वाधारमन्त्रीलाई बर्खास्त, स्वास्थ्यमन्त्री बस्नेतको राजीनामा माग

2.4k
Shares

काठमाडौँ ।

 पेशागत महासंघ नेपालले बालकुमारी घटनामा दोषी देखिएका भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालालाई बर्खास्त गर्न माग गरेको छ । महासंघले टेरामक्स प्रकरणमा दोषी देखिएका  स्वास्थ्य मन्त्री मोहनबहादुर बस्नेत र मुख्यसचिव वैकुण्ठ अर्यालको राजीनामा मागेको छ ।

 माघ २८ र २९ गते सम्पन्न  चौथो बैठकको निर्णय सार्वजनिक गर्न बिहीबार राजधानीमा आयोजित पत्रकार सम्मेलनमा अध्यक्ष पुण्यप्रसाद ढकालले टेरामक्स प्रकरणमा स्वास्थ्य मन्त्री बस्नेत र मुख्यसचिव अर्यालको निर्णायक संलग्नता देखिएकाले दुवैले पदबाट तत्काल राजीनामा दिनुपर्ने बताए । साथै  उनले आरोपित द्वयलाई राजीनामा दिई अनुसन्धानलाई सहयोग गर्न समेत आग्रह गरे।

 महासंघको बैठकले टेरामक्स प्रणाली खरिद प्रकरणबारे गहन छलफल गर्दै यस्तो निष्कर्ष निकालेको जानकारी दिए । महासंघले सेवा प्रदायक संस्थाका कर्मचारी र प्रमुखमाथि कालोमोसो दल्नेमाथि कारबाही गर्न माग गरेको छ । मोहन वैद्य निकट विद्यार्थी संगठनले यातायात व्यवस्था विभागमा महानिर्देशक उद्धवप्रसाद रिजाल, दुग्ध विकास संस्थानका महाप्रबन्धक संजिब झा , लम्कीचुहा नगरपालिकाका शिक्षा अधिकृत गौरीकान्त न्यौपाने ,सिटिइभीटीका उपाध्यक्ष खगेन्द्र अधिकारी माथि भएको घटनामा संलग्नमाथि कारबाही गर्न माग गरेको छ ।

 महासंघले वासवारी छालाजुत्ता कारखानाको जग्गा हिनामिना गर्नेमाथि कारबाही गर्नुपर्ने, राष्ट्रसेवक कर्मचारीमाथि कोशीका मुख्यमन्त्री केदार कार्कीले दिएको अभिव्यक्ति फिर्ता लिएर माफी माग्नुपर्ने लगायतका माग राखेको छ ।

 कार्यक्रममा ट्रेड युनियनमाथि हस्तक्षेप गर्न समेत सरकार लागि परेको भन्दै अध्यक्ष ढकालले निजामती कर्मचारीहरुलाई उनीहरुको पेशागत हक अधिकारबाट वञ्चित गराउन नहुने बताए । कर्मचारी वर्गको अहितमा सरकार लागि परेमा महासंघ सहेर नबस्ने पनि उनले बताए ।

 कार्यक्रममा महासंघका महासचिव केदार देवकोटाले  भ्रष्टाचार नेपालमा क्यान्सर जसरी फैलिएको भन्दै त्यसको निमूर्लिकरणका लागि ‘एन्टीकरप्सन मुभमेन्ट एन्ड गुड गर्भर्नेन्स क्याम्पेन’ गर्न लागिएको जानकारी दिए । यसै गरी बालकुमारी हत्याकाण्डका दोषी नेपाल सरकारका भौतिक पूर्वाधार तथा यातायात मन्त्री प्रकाश ज्वालाले नैतिकताका आधारमा तत्काल राजीनामा दिनुपर्ने पनि उनले बताए ।

 त्यस्तै एनसेल प्रकरण, ललिता निवास प्रकरणमा मुछिएकालाई बचाउन सरकार लागि परेको भन्दै उनले कानुन कार्यान्वयन गराउनु पर्ने बताए । नेपाल सरकाले कानुन र अस्थामा प्रहार गदै लुम्बिनीको रामग्रामको जग्गा लिजमा दिएको भन्दै सो कुरा सच्चाउन महासचिव देवकोटाले माग गरे ।