रारामा हिउँ खेल्ने र फोटो खिच्ने पर्यटक बढे 

280
Shares

मुगु।

नेपालकै ठुलो र गहिरो ताल रारामा तालको सुन्दरतासँगै हिउँमा रमाउने पर्यटकहरू बढेका छन् । लामो समयपछि फागुनको  पहिलो सातातिर भएको हिमपातपछि मौसममा सुधार आए लगतै रारामा हिउँ खेल्ने र रमाउने आन्तरिक पर्यटकहरूको सङ्ख्या बढेको हो ।

हिउँद ऋतुमा सुनसान जस्तै बन्ने रारामा यस पटक भने रारामा चहलपहल भएको देखिन्छ । विगतका वर्षहरूमा हिउँद अत्यधिक चिसोको कारण पर्यटक आवागमन घट्ने गरेको थियो भने यसपटक अघिल्ला वर्षको तुलनामा निकै चहलपहल बढेको रारा राष्ट्रिय निकुञ्ज कार्यालयले जनाएको छ ।
हिमपात कम हुँदा पर्यटकलाई आउजाउमा धेरै गाह्रो नहुनु र यस वर्षको हिउँदमा कम वर्षा हुँदा जाडो खासै नभएकाले पर्यटकहरूलाई रारा घुम्न धेरै सहज भएको राराका पर्यटन व्यवसायी देवीकृष्ण रोकायाको भनाई छ ।

हिउँमा रमाउनका लागि मुगुकै विभिन्न स्थानबाट पनि युवाहरू पुगिरहेका छन् । सदरमुकाम गमगढी बजार, मुर्मा, तुम, झ्यारी, टोप्ला, पिना, सोरु, खत्याडमा रहेका दर्जनौँ बस्तीबाट युवायुवती रारा जाने गरेका छन् । छिमेकी जिल्ला जुम्लाबाट पनि आन्तरिक पर्यटक दैनिक ५०/६० जना आउने गरेका छन् । हिउँ परेको दिन हिउँ खेल्न रारा आउने गरेका छन् । यस वर्ष जाडो कम भएर होला रारा घुम्ने र हिउँ खेल्नको लागी आन्तरिक पर्यटकहरूको बाक्लो उपस्थिति हुने गरेको रारा राष्ट्रिय निकुञ्ज कार्यालयका निमित्त वरिष्ठ संरक्षण अधिकृत राजु घिमिरेले बताए ।बिचमा आकाश झैँ निलो वरिपरि हिउँले सेताम्मे जैविक विविधताले यतिबेला उत्कृष्ट देखिने  रारामा फोटो खिच्ने र हिउँ खेल्नेको लर्को लाग्ने गर्दछ।