काठमाडौं महानगरपालिकाले अस्पतालको फोहोर व्यवस्थापनमा निगरानी बढायो

168
Shares

काठमाडौँ  । 

काठमाडौँ महानगरपालिकाले अस्पताल जन्य फोहोर व्यवस्थापनका लागि छुट्टा छुट्टै रंगका बाल्टिनको व्यवस्था गरे पनि तोकिएको बाल्टिनमा फोहोर नफाली सबैमा सबै खाले फोहोर फालेकाले फोहोर व्यवस्थापनमा समस्या आएको जनाएको छ ।

काठमाडौँ महानगरपालिकाले मंगलबार गरेको अनुगमनमा हिमाल अस्पतालको फोहोर व्यवस्थापन प्रणाली कमजोर भेटिएको जनाएको छ । काठमाडौँ महानगरपालिकाकी इन्जिनियर निशा कोइरालाका अनुसार सबै खालका बाल्टिनमा सबै खालका फोहोर राखेकाे पाइएकाे छ ।  महानगरपालिकाले निर्दिष्ट गरे अनुरूपको ‘वर्गीकृत फोहोरको ढुवानी गर्ने ट्रली राखिएको पाइएन । यसका साथै फोहोर ढुवानी गरेर भण्डारण गर्ने ठाउँमा लैजाने बाटो साँघुरो छ । यस कारण बोकेको फोहोरले अक्सिजन सिलिन्डरलगायत अन्य सामान छुने जोखिम छ,’ कोइरालाले भनिन्,  ’अटोक्लेभ मेसिन चलाउने गरिएको छ तर प्रेसर र तापक्रम मापन गरिएको छैन ।’

अटोक्लेभ मेसिन चलाउने कर्मचारीले  एक घण्टा उमाल्ने गरेको बताए । उनलाई प्रश्न सोध्दै जनस्वास्थ्य निरीक्षक धनेन्द्र श्रेष्ठले भने, ‘यो मेसिन त बिग्रिएको जस्तो छ । प्रेसर कसरी थाहा पाउनु हुन्छ ?’ उनको उत्तर थियो, ‘पानी त उम्लिहाल्छ नि ।’ अस्पतालका कर्मचारीले अटोक्लेभमा सबै खालको फोहोर मिसाएर पठाएको र अस्पतालका कर्मचारीलाई त्यसबारे कुनै तालिम नदिइएको श्रेष्ठले बताएका छन् । ’मेसिनको पूर्ण कार्य प्रक्रिया थाहा छैन । उनी भन्छन् भाँडोमा फोहोर हाल्ने, प्लगमा जोडेर पानी तताउने मात्र थाहा छ । यसबाट संक्रमित फोहोर कसरी सङ्क्रमणमुक्त भयो भन्ने कसैले भन्न सक्ने देखिएन ।’

फोहोर व्यवस्थापनको प्रक्रियाका लागि जिम्मेवार कोही पदाधिकारी तोकिएको पनि नपाइएको काठमाडौँ महानगरले जनाएको छ । ’ माथिल्लो तलामा अस्पतालमा प्रयोग भएका कपडा धुने ठाउँ छ । ती कपडा कसरी सङ्क्रमणमुक्त हुन्छन् । धुनेलाई थाहा छैन । अस्पतालले चलाएको औषधि पसलमा एक्स्पायरी जोन छैन,’ महानगरले भनेको छ ।  अस्पतालले ब्लड बैङ्कमा भने फोहोर वर्गीकरणको राम्रो व्यवस्था गरेको पाइएको बताएको छ ।

चाबहिलमा भएको हेल्पिङ् ह्याण्डस सामुदायिक अस्पतालले स्रोतमा फोहोर वर्गीकरण तोकिएकै अनुसार फोहोर राखेको पाइएको छ । तर आकस्मिक कक्षको एउटा नीलो बाल्टिनमा संक्रमण भएको फोहोर मिसिएको देखिएको छ ।  स्रोतमा वर्गीकरण व्यवस्था राम्रो भएपनि अस्पतालले ढुवानी गर्ने प्रबन्ध भने राम्रो गर्न नसकेको कोइरालाले बताइन । सफाइ कर्मचारीले प्लास्टिकमा हालेर बोकेर प्रशोधन गर्ने ठाउँमा लैजाने गरेको पाइएको छ ।  ३० किलो क्षमताको अटोक्लेभ छ  तर त्यसलाई व्यवस्थित रूपमा नराखिएकाले सुधार गर्न अस्पताललाई सुझाव दिइएको छ ।

त्यसैगरी माइतीघर मण्डला नजिकै रहेको अन्नपूर्ण न्युरो अस्पताल र बल्खुमा रहेको बयोधामा पनि फोहोर व्यवस्थापनमा समान खालका त्रुटि पाइएको महानगरले जनाएको छ । ’प्रकृतिअनुसारको फोहोर राख्ने बाल्टिनको रङ्ग फरक हुनु नै पहिलो त्रुटि हो । स्रोतमा वर्गीकरण भए पनि फोहोर ढुवानी गर्ने कर्मचारीहरूलाई तालिम नभएका कारण सामान्य फोहोर र सङ्क्रमणयुक्त फोहोर मिसिन सक्ने जोखिम छ,’ महानगरले अनुगमनपछि भनेको छ ।

वयोधा अस्पतालमा फोहोर राख्ने क्रममा त्यहाँ खटिएका कर्मचारी आफैँ झुक्किएको पाइएको छ । अनुगमन टोलीकै अगाडि संक्रमित फोहोर हरियो बाल्टिनमा राखेको देखिएको बताएको छ ।  ’यस्तै सङ्क्रमणयुक्त फोहोर अटोक्लेभ गर्नु अघि खन्याएर वर्गीकरण गर्ने गरिरहेका थिए । यस्तो फोहोर अटोक्लेभ गरेर सङ्क्रमणमुक्त बनाएपछि मात्र वर्गीकरण गर्न सकिन्छ । अटोक्लेभ गरिएको फोहोर चिन्नका लागि संकेत चिन्हको प्रयोग गर्नुपर्ने अनुगमनकर्ताको भनाई छ ।

अन्नपूर्ण न्युरोमा पनि अटोक्लेभ मेसिन छ, मेसिन राख्ने ठाउँ अव्यवस्थित छ । फोहोर वर्गीकरण र भण्डारण कक्ष व्यवस्थित नदेखिएको महानगरले जनाएको छ । महानगरको  वातावरण व्यवस्थापन विभागका उपनिर्देशक सानु मैयाँ महर्जनका अनुसार  ’अस्पतालहरूको फार्मेसीबाट म्याद सकिएका औषधि कसरी व्यवस्थापन हुन्छ, शल्यक्रियाबाट उत्पादन भएको मानव अङ्गको व्यवस्थापन कसरी हुन्छ, प्रयोगशाला, शल्यक्रिया कक्षबाट उत्पादन भएको तरल फोहोरको व्यवस्थापन कसरी गरिन्छ जस्ता प्रश्नको उत्तर कमजोर आयो ।’

फोहोर व्यवस्थापनका लागि अस्पतालहरूमा संयन्त्र  निर्माण हुनुलाई सकारात्मक रूपमा लिइएको छ । प्रक्रिया तथा व्यवस्थालाई संस्थागत गर्दै व्यवस्थित बनाउन सकिने देखीको छ ।  यसका लागि क्षमता विकास र सुधारका लागि प्रतिबद्धता र निगरानीको खाँचो रहेको अनुगमनकर्ताले बताएका छन् ।