बन्चरेडाँडामा फोहोरबाट मल बनाउँदै कामपा

2.8k
Shares

काठमाडौं ।

काठमाडौं महानगरपालिकाले महानगर क्षेत्रमा मल बनाउने खुला क्षेत्र नपाएपछि बन्चरेडाँडा ल्यान्डफिल साइटमा मल बनाउने भएको छ।

महानगर क्षेत्रमा संकलन हुने कुहिने फोहोर छुट्टै स्थानमा व्यवस्थापन गरी मल बनाउन लागेको हो। यसअघि कामपाले ३२ वटै वडामा मल बनाउन खुला क्षेत्रको खोजी गरेको थियो।

घरेलु फोहोरको दिगो व्यवस्थापन गर्न र फोहोरबाट मल बनाउन कामपाले महानगर क्षेत्रबाट जम्मा भएको फोहोरमध्ये जैविक फोहोरलाई छुट्टयाएर मल बनाउन लागेको हो।

बन्चरेडाँडा ल्यान्डफिल साइटमा मल बनाउने स्थान खोज्न वातावरण व्यवपस्थापन विभागको टोली बन्चरेडाँडा पुगेको थियो। वडा नं. २७ बाट संकलन गरिएको करिब १४ टन जैविक फोहोर टेकु ट्रान्सफर स्टेसनमा कम्पोस्टिङ गरेर मल बनाएपछि उत्साहित भएको विभागले ल्यान्डफिल साइटमै मल बनाउन लागेको हो । वातावरण व्यवस्थापन विभागकी उपनिर्देशक सानुमैयाँ महर्जनले २७ वडाबाट संकलन भएको फोहोरबाट मल तयार गरेको बताउनुभयो ।

स्रोतका अनुसार यसअघि कामपाले ७, ८, १४, १६ र ६ वडामा पहिचान भएको खुला क्षेत्रमा फोहोरबाट मल बनाउने तयारी थालेको थियो । हाल सम्भव नभएपछि बञ्चरेडाँडा ल्यान्डफिल साइटमा फोहोरबाट मल बनाउन लागेको हो।

यद्यपि, कामपा वातावरण व्यवस्थापन विभाग प्रमुख रविनमान श्रेष्ठले बन्चरेमा नभई महानगरभित्रको वडा कार्यालयको संयोजनमा खुला स्थानमा फोहोर बनाउन लागेको दाबी गर्दै भन्नुभयो– ‘वडा अध्यक्षसँग सल्लाह गरेर स्थान खोजी भइरहेको छ, प्राप्त हुनासाथ काम थालनी गर्नेछौं।’

मल बनाउनको लागि वडाबाट संकलन गर्ने फोहोरलाई घरबाटै वर्गीकरण गरिन्छ । स्रोतमा वर्गीकरण गर्न थालेपछि जम्मा भएको फोहोरलाई छुट्टै संकलन तथा छुट्टै ढुवानी गरी व्यवस्थापन पनि छुट्टाछुट्टै गरिने बताइएको छ।

घरेलु फोहोरको दिगो व्यवस्थापनका लागि स्रोतमा वर्गीकरण गर्ने कामको थालनी २७ वडाबाट गर्न लागिएको हो। यसअघि करिब ५ हजार जनसंख्या रहेको यस वडामा १ हजार ४ सय घरधुरीबाट संकलन भएको फोहोरलाई टेकु ट्रान्सफर स्टेसनमा मल बनाइएको थियो। २७ वडाले उत्पादन गर्ने जैविक फोहोरको मात्रा दैनिक औसत ५ सय किलोग्राम छ।

माघ २१ गतेबाट संकलन भएको फोहोर वर्गीकरण गरी ट्रान्सफर स्टेसन ल्याइएको थियो। कामपाले फोहोर वर्गीकरण गरी मल बनाउन र बेच्न थालेपछि फोहोरको मात्रामा कमी आउन थालेको छ।

वातावरण विभागका इन्जिनियर सरकारदीप श्रेष्ठले कुहिने फोहोरलाई उत्पादक आफैँले मल बनाउन थालेको र नकुहिने फोहोर बेच्न र पुनः प्रयोग गर्न थालिएको जानकारी दिँदै भन्नुभयो– ‘फोहोर एकै ठाउँमा हुँदा मल बनाउन र बिक्री गर्न झनझट भएको थियो । जनचेतनासहित फोहोरको मूल्य तोकेपछि मल बनाउन र बिक्री गर्न पनि मिल्छ ।’

कामपाभित्र हाल दैनिक करिब १ हजार फोहोर संकलन हुने गरेको छ। महानगरले हाल एउटै गाडीको हरियो रङ भएको कोठामा कुहिने र नीलो रङ भएको कोठामा नकुहिने फोहोर संकलन गर्ने व्यवस्था गरेको छ।

संकलित फोहोरलाई छुट्टाछुट्टै ठाउँमा खन्याएर प्रशोधन गर्ने गरिएको छ। अब ल्यान्डफिल साइटमा कुहिने फोहोर छुट्टै व्यवस्थापन गरी मल तयार गरिनेछ।